सत्य निरुपण र बेपत्ता आयोगमा सहमति

काठमाण्डु टुडे २०७० चैत २४ गते १४:४० मा प्रकाशित

काठमाण्डु, २४ चैत– प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको मस्यौदामा सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको तीन दल शीर्ष नेताको बैठकले आयोग मस्यौदामा सहमति गरेको हो ।

बैठकले सर्वोच्च अदालतको आदेश, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार विधेयक तयार पारेको बैठकपछि माओवादी नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई बताए ।

सहमतिको भाषा मिलाउन बाँकी रहेकाले मंगलबार तीन दलीय कार्यदलको बैठक बसेर मस्यौदालाई अन्तिम रुप दिइने जानकारी उनले दिए ।

‘आयोगको मस्यौदामा मोटामोटी सहमति भएको छ’, बोगटीले भने, तीन दलको कार्यदलले भोलिसम्मा भाषा मिलाएर सहमतिको ड्राफ्ट तयार पार्ने कुरा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us