युवा संघको बैठकमा पर्शुरामले गोली चलाए

काठमाण्डु टुडे २०७० चैत २४ गते १३:११ मा प्रकाशित

Parshuram Basnetकाभ्रे २४ चैत – काभ्रेको धुलिखेलमा बसेको एमाले भातृ संगठन युवा संघ नेपालको त्रेश्रो पूर्ण कमिटिको बैठकमा गोली चलेको छ ।
बैठकमा संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरबीच कुटाकुट भएलगत्तै गोली चलेको हो ।

ओली पक्षधर अध्यक्ष महेश बस्नेतले नेपाल पक्षका एक दर्जन केन्द्रीय सदस्यलाई कारबाही गरेपछि सुरु भएको विवाद चर्किएसँगै दुई पक्षबीच झडप भएको हो ।

ओली पक्षले संगठनका सचिवालय सदस्य शेरबहादुर तामाङ, अर्जुन गुरुङ र हिमाल लिम्बुसहित १२ जनालाई निलम्बन गरेपछि विरोधमा उत्रिएको सो पक्षमाथि आक्रमण भएको हो ।

उनीहरुमाथि आचरण राम्रो नभएको, संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन अन्य पार्टीलाई सहयोग गरेका र निस्क्रिय रहेको आरोप लगाइएको छ ।

संघका सचिवालय सदस्यसमेत रहेका पूर्वी ब्युरो  इञ्चार्ज पर्शुराम बस्नेतले दुईवटा पेस्तोल निकालेर झ्यालबाट बाहिर फायर गरेको तामाङले बताए । उनले आफूहरुलाई माधव नेपाल पक्षमा लागेको आरोपमा कारबाही गरिएको दाबी रगे ।

‘हामीलाई माधव नेपाल पक्षमा लागेको भनेर कारबाही गरियो, काठमाण्डु टुडेसँग तामाङले भने, ‘हामीले के गल्ती गरेका छौं, समिति बनाएर छानविन गर्नुपर्छ भन्ने कुरा उठाउँदा हामीमाथि कुटपिट भयो ।’ पर्शुराम बस्नेत नेतृत्वमा रहेको करिव २ सय जनाको समूहले बैठकस्थलमै हवाई फायर गर्नुका साथै पेस्तोल प्रदर्शन गरेको आरोप उनको छ ।
‘पर्शुरामले दुई वटा पेस्तोल झिकेर झ्यालबाहिर हवाई फायर गरे,’ तामाङले भने, ‘बैठक हलमै ३० वटाभन्दा बढी पेस्तोल देखाएर तर्साउन खोजियो ।’
निरु पाल लगायतलाई निर्वाचनमा असहयोग गरेकामा जिल्ला र अञ्चलबाट कारबाही सिफारिस भए पनि कारबाही नगरेको तर आफूलाई फरक विचार राखेकै अभियोगमा कारबाही गरिएको उनको गुनासो छ ।

साथै तामाङले करिब दुई वर्षअघि पार्टी उपाध्याक्ष बामदेव गौतमको हत्या गर्न संगठनका अध्यक्ष महेश बस्नेतले प्रस्ताव गरेको खुलासासमेत गरेका छन् ।
‘त्यतिबेला महेशले बानेश्वरको ग्रिन क्याफेमा बसेर बामदेवको हत्या गर्नुपर्‍यो, त्यसका लागि मदन भण्डारी फाउण्डेसनबाट १ करोड बजेट निकासा गराउँछु भनेका थिए,’ तामाङले भने, ‘तर, हामीले पार्टी उपाध्यक्षजस्तो व्यक्तिको हत्या गर्ने कुरा स्विकार्य हुन्न, बरु पार्टी नै छाड्न तयार छौं भनेका हौं, सोही बेलादेखि हामीमाथि अन्याय हुँदै आएको छ ।’

पार्टी केपी ओली र महेश बस्नेतको मात्रै नभएको भन्दै उनले आफूहरुको गल्ती देखाउन चुनौती समेत दिएका छन् ।  यता, संस्थापन पक्षले भने कुटाकुट र हवाई फायर नभएको दाबी गरेको छ ।

झपड रावल नेतृत्वको आयोगले समेत कारबाहीका लागि सिफारिस गरेको र पटकपटक सम्झाउँदा पनि नसच्चिएकाले कारबाही गरेको भन्दै उपाध्यक्ष रमेश पौडेलले कुटपिट गरिएको भन्ने हल्लामा सत्यता नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us