
काठमाण्डु, २४ चैत– एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनमा विद्यार्थी नेताले आफ्ना छोराछोरी निजी विद्यालय र क्याम्पसमा पढाएको भन्दै प्रतिनिधिले चर्को विरोध गरेका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक र सांगठिनक तथा महासचिव बिन्दमान विष्टको विधान संशोधन प्रस्तावमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा अधिकांश टोली प्रमुखले संगठनका नेताले निजी विद्यालयमा छोराछोरी पठाएको भन्दै आपत्ति जनाएका हुन् ।
निजी शिक्षण संस्थाविरोधी छवि बनाएको संगठनका नेताहरुले नै आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनु गलत भएको भनाइ उनीहरुको थियो । उनीहरुले माउ पार्टीका नेताका छोराछोरीलाई निजी शिक्षण संस्थाबाट निकालेर सार्वजनिक शिक्षण संस्थामा पठाउने नीति बोक्ने संगठनका नेताले आफ्ना छोराछोरी निजीमा पढाएको भन्दै आपत्ति जनाए ।
‘हिजो हामी निजीकरणविरुद्ध सडक बाघ थियौं, आज सडकको स्यालजस्तो भएका छौं’, नेवा: राज्य समितिका तर्फबाट रिपोर्टिङ गरेको सचिवालय सदस्य सुरेन्द्र बस्नेतको भनाइ उद्धृत गर्दै एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘पार्टी नेताका छोराछोरी निजी स्कुल र क्याम्पसबाट निकाल्ने भन्ने अनि विद्यार्थी नेताकै छोराछोरी निजीमा पढाउन मिल्छ ?’ ताम्शालीङ राज्यका तर्फबाट रिपोर्टिङ गरेका काभ्रेका अध्यक्ष मानबहादुर तामाङले संगठनका नेताहरु आफ्ना छोराछोरी पठाउन निजी शिक्षालय सञ्चालकका अगाडि झुकेको बताए ।
उनले महंगा बोर्डिङ स्कुलमा पढिरहेका आफ्ना छोराछोरी सार्वजनिक विद्यालयमा सार्न नेताहरुलाई आग्रह गरे । अन्यथा आफूहरुले थुतेर निकाल्ने चेतावनी उनको थियो । बन्द शत्रले सोमबार अध्यक्ष र महासचिवको प्रतिवेदन पारित गरेको छ ।
यसैबीच पार्टी शीर्ष तहबाट गरिएको सहमति प्रयास विफल भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सोमबारबाट निर्वाचन प्रक्रिया सुरु हुने सचिवालय सदस्य दीपक देवकोटाले काठमाण्डु टुडेलाई जानकारी दिए ।
क्रान्तिकारीको अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय रमेश मल्ल र जागृत रायमाझी तथा महासचिव बिन्दमान विष्टको दाबी छ । यस्तै सचिवहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ महासचिवको दौडमा छन् ।
तीन जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, राजु आले, मदन चुडाल, रमेश धामी, तिलक भण्डारीलगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् । सम्मेलनको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उदघाटन गरेका थिए ।