
बनेपा, २४ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वमा आफ्नो दाबी रहेको घोषणा गरेका छन् ।
नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको विषयमा विवाद भइरहेको बेला सोमबार धुलिखेलमा नेपाल युवा संघको तेस्रो बैठक समापन गर्दै नेपालले आफू नेतृत्वका लागि चुनावी मैदानमा उत्रिन तयार रहेको बताए ।
‘म पदको आकांक्षी होइन, नेपालले भने, ‘तर पार्टी बचाउन तयार छु ।’
उनले केपी ओली र बामदेव गौतमलाई लक्षित गर्दै हिम्मत भए चुनावी मैदानमा उत्रिन चुनौती दिएका छन् । कसैको टक्करबाट आफू नडराउने भन्दै नेपालले ओली र गौतमले एमालेलाई नेतृत्व गर्न नसक्ने दावी गरे ।
‘जहाज ठोक्नेहरुलाई जहाजको जिम्मा दिनु हुँदैन्,’ उनले भने, ‘जहाज कुशलताका साथ उडाउने र अवतरण गर्न सक्नेलाई नेतृत्व दिनुपर्दछ ।’
‘ज्ञानेन्द्रसँग टक्कर लिएर आएको मान्छे माधवकुमार नेपाल हो’, उनले भने, ‘मैदानमा उत्रिन तयार छु । डराउनु पर्ने काम गरेको छैन् ।’
उनले वर्तमान सरकारको मूल्याङ्कन गर्ने बेला नभएको बताउँदै सरकारप्रति जनताको गुनासो बढ्दै गएको विचार व्यक्त गरे ।
कार्यक्रममा एमालेका सचिव शंकर पोखरेलले आगामी नेतृत्व सर्वसम्मत बनाउनका लागि आफू पद त्याग गर्न तयार रहेको बताए । अब एमालेको नेतृत्व सर्वसम्मत हुने उनको दावी छ ।