
काठमाण्डु, २४ चैत – प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका–संसद् सचिवालयका कर्मचारीले तेहोरो कामको जिम्मेवारी लिनुपरेको जनाउँदै भत्तालगायत सुविधा वृद्धि गर्नुपर्ने माग राखी गर्दै आएको आन्दोलन र धर्नाप्रति चासो राखेका छन् ।
संविधानसभा मातहत रहेको सवैधानिक– राजनीतिक संवाद तथा सहमति समितिको पहिलो बैठकमा भाग लिन सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय पुगेका प्रधानमन्त्री कोइरालाले बैठकस्थल नजिक कालोपट्टी बाँधेर धर्नामा बसेका कर्मचारीको हुलतर्फ औंला देखाउँदै सचिवालयका प्रवक्तासँग सोधे– त्यहाँ के हो ?
सचिवालयका प्रवक्ता मुकुन्द शर्माले तत्कालै जवाफ दिए, ‘तेहोरो काम गर्नुपरेकाले पैसा बढाउनुपर्ने माग छ उहाँहरुको ।’ व्यवस्थापिका–संसद् सेवाका कर्मचारी संविधानसभा, व्यवस्थापिका– संसद् र समितिसमेतको गरी तीन भिन्न भिन्न जिम्मेवारी बहन गर्नुपरेकाले सुविधा पाउनुपर्ने माग गर्दै १५ दिनदेखि चरणबद्ध आन्दोलनमा छन् ।
आन्दोलनका क्रममा उनीहरुले संसद् सचिवालयका महासचिवको कार्यकक्ष रहेको भवनको प्रमुख प्रवेशद्धारमा बिहान १० देखि ११ बजेसम्म एक घन्टा धर्ना दिएका थिए ।