विधिसम्मत रुपमा विधेयक ल्याउनुपर्ने निष्कर्ष

काठमाण्डु टुडे २०७० चैत २४ गते ८:३४ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २४ चैत – नेपाली काँग्रेसले सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयक हालसम्म भएका सहमति र विधिसम्मत रुपमा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको काँग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

दुवै विधेयक विगतको बाह्रबुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र विधेयक निर्माणका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनबमोजिम ल्याउनुपर्ने विषयमा नेताहरुबीच एकमत रहेको काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।

दशवर्षे सशस्त्र द्वन्द्वका विषयलाई मेलमिलापमा परिणत गर्ने र गम्भीर प्रकृतिको अपराधमा मुछिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउने बारेमा छलफल भएको उनले जानकारी दिए ।

विधेयकका सम्बन्धमा प्रमुख तीन दलबीच सहमति भइसकेको र आज साँझ बस्ने तीन दलको बैठकले टुङ्गो लगाउने जानकारी दिँदै सहमहामन्त्री खड्काले भने, ‘यसबाहेक राष्ट्रिय योजना आयोगमा पदपूर्ति र सरकारलाई पूूर्णता दिन आज राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले)बाट सरकारमा सहभागी हुने मन्त्रीलाई सपथ खुवाउने विषयमा समेत छलफल भयो ।’

यसअघि सरकारले बनाएको विधेयक मस्यौदा समितिप्रति एकीकृत नेकपा(माओवादी)ले असहमति जनाएपछि विधेयकमा सहमति गर्न राजनीतिक दलका प्रतिनिधि रहने गरी कार्यदल बनाउनेबारे तीन दलबीच सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us