
हेटौँडा, २४ चैत – उद्योगमन्त्री कर्णबहादुर थापाले मुलुकमा सञ्चालित लामो समयदेखि उद्योग सञ्चालन नगरी जग्गा मात्र ओगटिरहने उद्योगलाई सरकारले छुट दिन नसक्ने बताएका छन् ।
मन्त्री थापाले हेटौँडा औद्योगिक क्षेत्र तथा हेटौँडा उद्योग संघद्वारा सोमबार हेटौँडामा आयोजित उद्योगपतिको भेलालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न भनी अनुमति लिने तर उद्योग सञ्चालन नगरी बस्ने उद्योग व्यवस्थापनलाई मन्त्रालयले तत्काल अनुगमन गरेर त्यस्ता उद्योगको दर्ता खारेज गरिनेतर्फ कदम चाल्ने चेतावनी दिए ।
सो अवसरमा हेटौँडा उद्योग संघका प्रथम उपाध्यक्ष माधव अधिकारी र हेटौँडा औद्योगिक क्षेत्रका व्यवस्थापक दिलीपकुमार श्रेष्ठले औद्योगिक क्षेत्रमा सञ्चालन भएका उद्योग एवम् बन्द उद्योगबारे प्रतिवेदन प्रस्तुत गर्दै औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न थप जग्गाको आवश्यकता रहेको बताएका थिए ।