
काठमाण्डु, २४ चैत – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघले स्वरोजगार व्यवसायीलाई छुट्टै कानुनको व्यवस्था तथा व्यावसायिक परिचयपत्र लागू गर्नुपर्ने माग गर्दै काठमाण्डु महानगरपालिकामा धर्ना दिएको छ ।
उनीहरुले व्यवसायीलाई सुरक्षित र दीर्घकालीन वैकल्पिक ठाउँको व्यवस्था गरिनुपर्ने भन्दै गत एक महिनादेखि शान्ति पूर्ण आन्दोलन गर्दै आएका छन् । सरकारले गत फागुन १४ देखि सडकमा व्यवसाय गर्दा पैदल यात्रुलाई हिँडडुल गर्न समस्या आएको भन्दै सो व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।
राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्गठन नेपाल आबद्ध श्रमिकले पनि सो आन्दोलनमा सहयोग गरेका छन् । जिफन्टका सचिव नरनाथ लुइँटेलले सरकारले व्यवसायमा एकैचोटि प्रतिबन्ध लगाउँदा हजाराँै व्यावसायिक श्रमिक रोजीरोटीबाट विस्थापित हुने हुँदा त्यसको विकल्प दिएर व्यवसायलाई व्यवस्थित गर्न आग्रह गरे ।
स्वरोजगार व्यापार श्रमिक सङ्घका महासचिव माया गुरुङले सडक व्यवसायीसम्बन्धी कार्यदलमा आन्दोलनरत व्यवसायीका प्रतिनिधिलाई समावेश गर्न माग गर्दै सडकपेटीमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई वैकल्पिक व्यवस्था गरी हटाउनुपर्ने बताए ।