विद्यालय तोडफोडपछि कक्षा ८ को परीक्षा स्थगित

काठमाण्डु टुडे २०७० चैत २४ गते ८:२४ मा प्रकाशित

सिरहा, २४ चैत – विवादित ऐतिहासिक पोखरीमा माछा मार्ने विषयमा विवाद हुँदा लक्ष्मीपुर पतारी गाविसस्थित जनता माध्यमिक विद्यालयमा तोडफोड भएपछि सो विद्यालयले लिने कक्षा ८ को परीक्षा स्थगन भएको छ ।

पोखरी विवादमा परेकाले लक्ष्मीपुरका जनताले माछा मार्न नदिएपछि महेशपुरवासीले विद्यालयमा आक्रमण गरेर डेस्क, बेन्च, कुर्सी, झ्याल, ढोका र कम्प्युटरलगायत समान तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक विनोद सिंहले जानकारी दिए । तोडफोडबाट विद्यालयमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

विद्यालयमा तोडफोड भएपछि ११ बजे हुने परीक्षाका लागि विद्यार्थी उपस्थित नभएका कारण परीक्षा नै स्थगन गरिएको छ ।

ऐतिहासिक ‘पतारी पोखरी’ लक्ष्मीपुर गाविसमा रहे पनि महेशपुरवासीले आफ्नो गाविसमा पोखरी रहेको दाबी गरेपछि विवादले उग्र रुप लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us