वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा (एमाले) को मार्गदिशा

काठमाण्डु टुडे २०७० चैत २४ गते ४:१३ मा प्रकाशित

bamdev
– वामदेव गौतम

(१) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा
वर्तमान राष्ट्रिय परिस्थितिको मुख्य विशेषता राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा हो । वर्तमान राष्ट्रिय परिस्थिति २०६५ जेष्ठ १५ बाट शुरु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा राज्यसत्ता र सामजिक आर्थिक ढाँचाको संरचनागत रुपान्तरणको शुरुवात हो । यसबाट नेपाली समाजको युगान्तकारी परिवर्तन भएको छ । २०६२÷६३ को जनआन्दोलन २००७ सालदेखि शुरुभएको पूँजीवादी क्रान्तिको निरन्तरताको मूर्तरुप थियो । यसले दुई हजार वर्षदेखि कायम सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई शान्तिपूर्ण र वैधानिक तरिकाले अन्त्य गरेर पूँजीवादी व्यवस्था कायम ग¥यो । यसबाट नेपालमा दुई हजार वर्ष पहिलेदेखि कायम सामन्तियुगको अन्त्य भएको छ र पूँजीवादी युग शुरु भएकोे छ । यो घटनासंँगै नेपालमा पूँजीवादी जनवादी क्रान्ति शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ र संसारकै निम्ति अनुकरणीय बनेको छ । अब नेपाली समाज नयाँ विशेषताले युक्त समाजवाद उन्मुख भएको छ ।

नेपाली भूभागमा पाँच हजार वर्षदेखि मानव जातिको स्थायी बसोवास भएको मानिन्छ । यहाँ ३५००÷४००० वर्ष पहिले राज्यको उत्पत्ति भएको हो । २००० वर्ष पहिलेसम्म नेपालमा दासमुलक व्यवस्था थियो । त्यसपछि यहाँ सामन्ती व्यवस्था शुरु भयो । राणा शासनको अन्त्य तिर नेपाली समाजमा पूँजीवादी उत्पादन पद्दतिको आरम्भ भयो । २००७ को क्रान्ति पछि राज्यसत्तामा समेत पुँजिपति वर्गको प्रतिनिधित्व भयो र नेपाली समाज क्रमशः अर्धसामन्ती बन्यो । २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिले राजतन्त्रसंगै सामन्तवादलाई आधारभूत रुपमा समाप्त गरेको छ । अहिले नेपाली समाजको कतिपय साँस्कृतिक क्षेत्रमा सामन्तवादका अवशेषहरु छन् । तर समाजमा पूँजीवादीकरण भइसकेको छ । साम्राज्यवाद र वैदेशिक एकाधिकार पूँजीवादी प्रभावबाट नेपालमा दलाल र नोकरशाही पूँजीवादको प्रभूत्व छ । यही कारण कहिलेकाँही विदेशी हस्तक्षेप पनि हुने गरेको छ । दलाल नोकरशाही पुँजीवाद नेपाली राष्ट्रिय उत्पादनलाई धरासायी बनाएको छ र अर्थतन्त्र तहसनहस भएको छ र नेपाल मानव श्रम शक्ति निर्यातक देश बनेको छ ।

५८ वर्षको संघर्षको परिणामस्वरुप आम निर्वाचनबाट संविधानसभा बन्यो र त्यसले दुई हजार वर्षदेखि कायम राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा पनि ग¥यो । तर, त्यस संविधानसभाले संविधान दिन सकेन र असफल भयो । नेपालमा सम्पन्न शान्तिपूर्ण जनक्रान्तिले एकै चोटी १० वर्षदेखि जारी नेकपा(माओवादी) को हिंसात्मक संघर्षलाई शान्तिमा रुपान्तरण गर्ने तथा निरंकुश राजतन्त्रको राज्यलाई गणतन्त्रमा रुपान्तरण गर्ने काम ग¥यो । तर संविधानसभाको ऐतिहासिक उपलब्धिका रुपमा रहेको त्यो घटना संविधान जारी गर्न नसक्दा आझेलमा पर्न गयो । नेपाली जनताको ५८ वर्षको संघर्षलाई उच्च मूल्यांकन गर्दै नेपालका प्रमुख राजनीतिक पार्टीहरुले पुनः दोस्रो संविधानसभाको निर्वाचन गर्न तयार भए । निर्वाचनमा ७३% भन्दा बढी खसेको मतले देखायो की दोस्रो संविधानसभाको निर्वाचन जनअपेक्षित थियो । दोस्रो संविधानसभा निर्वाचनले नेकपा(एमाले) र नेपाली काँग्रेस लगायत अन्य राजनीतिक पार्टीहरुलाई दुई तिहाई भन्दा धेरै सीट प्रदान ग¥यो । यसले के देखायो भने नेपाली जनता जातीय संघीयताका पक्षमा होइन संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन् । त्यो परिणामले के देखायो भने जुनसुकै पार्टीका पक्षमा रहेको भए पनि नेपाली जनताको वहुुसंख्या संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्ति मिलेरै राज्य सञ्चालन र संविधान निर्माणको काममा लाग्नुपर्छ ।
नेपाल राष्ट्रको वर्तमान अवस्थाले नेकपा(एमाले) का अगाडि निम्न ऐतिहासिक कार्यभार प्रस्तुत गरेको छ ः
क) नेकपा(एमाले) दोस्रो ठुलो दल भए पनि संविधानसभाबाट संविधान निर्माण नगर्दासम्म संविधानसभामा नेकपा(एमाले) भन्दा केही सीट बढी प्राप्त गरी सबभन्दा ठूलो पार्टी भएको नेपाली काँग्रेससँग एकता गर्दै अगाडि बढ्नु पर्छ । यसबाट के स्पष्ट हुन्छ भने नेकपा(एमाले) को नेपाली काँग्रेससँगको सम्वन्ध, सहकार्य र संघर्षको अवस्थामा रहेको छ । नेपाली काँग्रेससँगको यो सम्वन्धलाई नेकपा(एमाले) ले स्पष्ट सन्तुलनमा राख्न सक्नुपर्छ ।
(ख) ५८ वर्षको नेपाली जनताको संघर्षको महाउपलब्धिका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तोसुकै मूल्य चुकाएर भए पनि संरक्षण गर्ने कार्यभार नेकपा(एमाले) को काँधमा आएको छ । यो ऐतिहासिक कार्यभार पुरा गर्न सम्भव भएसम्मका राजनीतिक पार्टीहरुसँग मिल्न सक्नुपर्छ ।
(ग) आगामी एक वर्षभित्र नयाँ संविधान जारी गरी समाजवाद उन्मुख सामाजिक, आर्थिक रुपान्तरणलाई सम्पन्न गर्न सक्नुपर्छ । जनक्रान्तिका उपलब्धिहरुलाई आम जनतासम्म पु¥याउन, विकास र निर्माणलाई जनताको घर दैलोमै पु¥याउन छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।
(घ) पुँजीवादी क्रान्ति सम्पन्न भएको र वर्ग संघर्षको मुख्य रुप वहुदलीय र जनताको जीवनस्तर उन्नत गर्न सामाजिक–आर्थिक रुपान्तरणको काम सम्पन्न गर्नु रहेको छ । यो रुपान्तरणको गति समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण वन्न पुगेको छ ।
(ङ) अब नेकपा(एमाले) ले साँस्कृतिक क्षेत्रमा रहेका अवशेष, दलाल पुँजीवाद र नोकरशाही पुँजीवादहरुलाई समाप्त गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणलाई तिब्र गति प्रदान गर्दै अगाडि बढ्नुपर्छ ।
अहिले नेपालको राजनीतिक अवस्था जटिल संक्रमणबाट निस्कन खोजिरहेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा जातीय संघीयता, छुट्टिन पाउने आत्मनिर्णयको अधिकार र संघीयता विरोधी विचारका पक्षधरहरु तुलनात्मक रुपमा धेरै क्षेत्रमा पराजित भएका छन् । यस पटक यो संविधानसभामा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुको दुई तिहाई भन्दा धेरै संख्याको उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीहुने सुनिश्चित देखिन्छ । यस पटकको निर्वाचनमा एमाले र काँग्रेसकै बीचमा मूख्य प्रतिद्वन्दिता देखियो । यो भावी दिनहरुमा पनि जारी रहने त्यत्तिकै सम्भावना छ । भावी दिनमा पनि नेपाली श्रमजीवीवर्गको वास्तविक प्रतिनिधि नेकपा एमाले र नेपाली पूँजीपतिवर्गको प्रतिनिधि नेपाली काँग्रेस नै हुनेछन् । एनेकपा माओवादी र हत्याहिंसा र अराजकताको राजनीतिक आधारमा टिक्नखोज्नेहरुको अस्तित्व समाप्त हुनेछ । त्यसमध्ये आफुलाई आजको विशेषता अनुरुप सुधार गरेर आउन सक्योभने कम्युनिष्ट पार्टीहरु बीच एकता पनि हुनसक्नेछ । संघीय संरचनामा जाने हुनाले क्षेत्रीयतावादी पार्टीहरु केहि कालसम्म अस्तित्वमा रहन सक्नेछन् । प्रतिक्रियावादी विचार बोकेर होइन राष्ट्रवादी विचार बोकेर चल्नेहरुले आफुलाई केहि समय टिकाउन सक्नेछन् । तर समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणले गतिलियो भने श्रमजीवी वर्ग र पूँजीपतिवर्गकै प्रतिनिधि संस्था मात्र लामो समयसम्म प्रतिस्पर्धात्मक अवस्थामा रहनेछन् । यस्मा नेकपा एमाले र नेपाली काँग्रेस नै लामो समयसम्म राजनीतिक संघर्षका मूख्य प्रतिद्वन्दी रहनेछन् । नेपाली काँग्रेस नेपालमा नवउदारवादको प्रतिनिधि पनि हो र वैदेशिक एकाधिकार पूँजीवादका अगाडी अनेक पटक आत्मसमर्पण गर्ने शक्ति पनि हो । त्यसैले उसितको सम्बन्ध सँधैभरी एकता र संघर्षको रहने कुरा निश्चित छ । त्यसैगरी एमाओवादीसित पनि एकता र संघर्ष कै सम्बन्ध रहने कुरा पक्का छ । प्रतिगमन, जातीय साम्प्रदायीकता भडकाउने र देश टुक्राउने नीति बोकेकाहरुसंग भने संघर्षपूर्ण सम्बन्ध मात्र रहने छ ।

२. नेपाली समाज पूर्ण रुपमा विकसित राष्ट्र हो
नेपाली समाज विकासको विशिष्ट अवस्थालाई आत्मसाथ गर्न नसकेका उग्रवामपन्थी अराजकतावादीहरुले संरचनागत पक्ष मात्र भएको संघीयतालाई सामाजिक क्रान्तिको रुपमा प्रस्तुत गरेर जातीय संघीयता र आत्मनिर्णयका नाममा देश टुक्राउने खतरा उत्पन्न गराएका छन् । कतिपय बुद्धिजीवीहरुले नेपाललाई राष्ट्र बन्दै गरेको राज्य, राष्ट्रियताहरुको राज्य अथवा बहुराष्ट्रिय राज्य भनेर खुलेआम देश विखण्डनको वकालत गरिरहेका छन् । कुनै एउटै नश्ल र वंश बसोबास गरेको देश यो संसारमा कहि पनि छैन । जहाँ अहिले एउटा मात्र जाती जस्तो देखिने गरेको छ, त्यो भाषा र सांस्कृतिक समानताको परिचायक मात्र हो । एउटै नश्लको वंश भन्ने कुरा गलत हो । मानव जाती गोत्रको अवस्थामा आईपुग्दा असङ्ख्य पटक जातीय अन्तरघुलन भइसकेको थियो । त्यो जनजातीमा पुग्दा अनेकौं गोत्रहरुको अन्तरघुलनबाट विकास भएको थियो । जाती (राष्ट्रियता)मा पुग्दा त्यस्ता अनेक जनजातीको अन्तरघुलन भएको थियो । कुनै पनि देशका जनसमुदाय राष्ट्रमा पुग्दा अनेक जातहरुको अन्तरघुलन भएको हुन्छ । प्रकृतिबाट फुत्त निस्केको कुनै प्राणी र त्यसको वंश यता उता केहि नभै राष्ट्रसम्म विकसित भएको मान्यता भ्रामक, अवैज्ञानिक र अप्राकृतिक छ । संसारका सवै राष्ट्रहरुको जन्म, विकास निरंकुश राजाहरुको अत्याचारी शासन अन्तरगत मात्र भएको छ । कहि पनि अलग अलग अस्तित्वमा रहेका जनसमुदाय सल्लाह गरेर र मेलमिलाप गरेर राष्ट्रमा विकसित भएका होइनन् । नेपालमा मल्ल राजाहरुको अत्याचारी र निरंकुश शासन अन्तर्गत नेवार जातीको उदय र विकास भएको उदाहरण काफि छ । जर्मन, फ्रान्स, बृटेन, जापान, भारत र चीन जस्ता देशका सबै राष्ट्रहरुको उदय र विकास त्यहि निरंकुश र अत्याचारी राजाहरुको शासन अन्तर्गत भएका हुन् । नेपाल राष्ट्र भनेको यहाँ बसोबास गर्ने जनसमुदाय नै हुन् । नेपाल राष्ट्रिय राज्यका रुपमा आउनु भन्दा अगाडि यहाँ ससाना तर धेरै राज्य समुहहरु थिए । ती राज्य समुहलाई समाप्त गरेर एउटा राष्ट्रिय राज्य नबनाई एउटा राष्ट्रको विकास हुनसक्ने अवस्था नै थिएन । पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्मका राजाहरुले संसारका अरु राष्ट्रहरु जस्तै नेपाल राष्ट्रलाई जन्माएका छन् । पहिले पृथ्वीनारायण शाहले राष्ट्रिय राज्यको जग बसाले त्यहि जगमा अरु राजा र राणाहरुले राष्ट्रिय राज्यलाई बलियो बनाउने काम गरे ।

२००७ सालदेखि शुरुभएको पूँजीवादी क्रान्ति र त्यसका सहउत्पादनका रुपमा भएका सुधारहरुले नेपाली जनतालाई एउटा राष्ट्रका रुपमा विकास गरे । कहिल्यै कसैको उपनिवेश र अर्ध उपनिवेश नबनेको नेपाल आज सबै मापदण्डलाई पूरा गरेर एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्रका रुपमा विकसित भएको छ । यस रुपमा संयुक्त राष्ट्र संघ र संसारका सबै अरु राष्ट्रहरुले मान्यता दिएका छन् । नेपाल एउटा राष्ट्र हो । । यहाँ बसोबास गर्ने सबै मानव समुदाय र भाषाभाषी रहेका जनता सबै नेपाली जातीमा रुपान्तरित भएका छन् । यसलाई अपमान गर्ने र होच्याउने काम गर्नुहुन्न । अब नेपाल विखण्डन हुन, टुक्रिन र ध्वस्त हुन सक्दैसक्दैन । जसले यसो गराउन खोज्नेछ ऊ आफै ध्वस्त हुनेछ । नेपालमा संघीयता प्रादेशिक राज्यहरुको संयोजन, संरक्षण र विकासका रुपमा मात्र हुनसक्नेछ ।

१. २. नेपाली समाजको उत्पादन पद्धतिः
आज नेपाली समाजको सामाजिक आर्थिक संरचनामा पूँजीवादी उत्पादन पद्दति हावी भएको छ । आजको राज्यसत्ताले आम रुपमा पूँजीवादी उत्पादन पद्दतिलाई संरक्षण र विकास गर्ने काम गरिरहेको छ । जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरु पनि पूँजीवादी नै छन् । समाजमा रहेका सबै जाति, भाषा, धर्म, संस्कृति र यस क्षेत्रका बीच रहेका विभेद कानुनतः समाप्त भएका छन् । शिक्षा, स्वास्थ, मनोरन्जन र रोजगारीका अधिकारहरु सबै पूँजीवादी छन् । पूँजीवाद सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा हिमाल, पहाड, तराईका सबै गाउँ ठाउँ कुना काप्चामा पुगेको छ । नेपालमा पूँजीवाद नपुगेको र पूँजीवादीकरण नभएको कहि छैन ।

अहिले कतैकतै पाइने सामुदायिक उत्पादनहरु पूर्व सामन्ती उत्पादन प्रणालीका अवशेष मात्र हुन् । भूदासहरुको श्रममा आधारित कृषि व्यवस्था समाप्त भएको छ र त्यो व्यवसायिकरण हुँदैछ । अवैतनिक श्रमको ठाउँ ज्यालादारी श्रमले लिईरहेको छ ।  पूँजीवाद भनेको पैसाले खरिद गरिएको श्रमशक्तिलाई प्रयोग गरी अतिरिक्त मूल्य उत्पादन गर्ने प्रणाली हो । अहिले स्वतन्त्र किसान, स्वतन्त्र कारिगर तथा व्यवसायी कसैले पनि गरेको उत्पादनले अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य गरेको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रकम पनि पूँजीवादी उत्पादन अन्तर्गत प्राप्त हुन्छ । मानसिक श्रम गर्नेहरुले त सबभन्दा धेरै अतिरिक्त मूल्य उत्पादन गर्दछन् र सानो हिस्सा मात्र पारिश्रमिकका रुपमा प्राप्त गर्दछन् । ज्यालामा काम गर्ने, आफ्नै स्वतन्त्र व्यवसाय गर्ने तथा मानसिक श्रमशक्ति मालका रुपमा विक्रि गरेर बाँच्न पर्नेहरुको संख्या देशमा करिब ८० प्रतिशत छ । सामन्ती उत्पादन पद्दति कायम नरहेपछि सामन्तवर्ग पनि अस्तित्वमा रहेको छैन । तर भूतपूर्व सामन्तका रुपमा कतिपय व्यक्तिहरु देखिन सक्छन् ।

अहिले नेपाली समाजको वर्गीय संरचना र बर्ग बनौटमा समेत परिवर्तन भएको छ । यहाँ अहिले पूँजीपतिवर्ग र श्रमजीवी वर्गमात्र छन् । पूँजीपतिवर्गमा दलाल, नोकरशाही र राष्ट्रिय पूँजीपति गरी तीन प्रकारका रहेका छन् । पूँजीपतिवर्गको त्यो हिस्सा जसले कानुन र प्रक्रियाहरुलाई दुरुपयोग गर्दै राष्ट्रिय लगानीलाई अनुत्पादक क्षेत्रमा प्रवाहित गर्दछ र कमिशनका रुपमा आम्दानी प्राप्त गर्दछ, त्यो दलाल पूँजीपतिवर्गमा पर्दछ । पूँजीपतिवर्गको त्यो हिस्सा जस्ले तस्करी, कमिशनखोरी, कालोबजारी, कर छली आदिबाट पूँजी आर्जन गर्दछ त्यो वर्ग नोकरशाही पूँजीपतिवर्गमा पर्दछ । राष्ट्रिय पूँजीपतिवर्ग मात्र राष्ट्रवादी चरित्रको पूँजीपतिवर्ग हो । यसले प्रत्यक्ष उत्पादन र पुनरुत्पादनको क्षेत्रमा लगानी गर्छ, कानुनको पालना गर्दछ, राष्ट्रिय हितलाई ध्यानमा राख्दछ र विदेशी पूँजी लगानी भित्राउँदा पनि राष्ट्रिय हितको पक्षमा खडा हुन्छ । नेपाली श्रमजीवी वर्ग पनि तीन प्रकारमा विभाजित छ । एउटा शारिरिक श्रम गर्ने शक्ति, जसले आफ्नो श्रमशक्तिको प्रयोग ज्याला वापत पूँजीपतिका निम्ति अतिरिक्त मूल्य उत्पादन गर्न बाध्य छ । दोस्रो, मानसिक श्रम गर्ने शक्ति, जसले आफ्नो वौद्धिक क्षमता विभिन्न संस्थाहरुलाई विक्रि गर्छ र संस्थापनको निम्ति अतिरिक्त मूल्य उत्पादन गर्छ । तेस्रो, त्यस्तो श्रमशक्ति, जुन स्वतन्त्र किसान, स्वतन्त्र कारिगर, लघु उद्यमी तथा व्यवसायिहरु हुन् जसले आफ्नो कारोबार आफै संचालन गरेका हुन्छन् । उत्पादक सहकारीहरु पनि त्यस्तै श्रमजीवीमा नै पर्दछन् । यिनिहरु सबैले बजारसम्म आफ्नो कमाइलाई कमिशनका रुपमा विभिन्न ठाउँमा छाड्दै जानुपर्छ । समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट दलाल र नोहरशाही पूँजीवाद समाप्त हुनेछ र त्यसपछि राष्ट्रिय पूँजीवाद मात्र देशमा कायम रहनेछ । त्यस्तो अवस्थामा राष्ट्रिय पूँजीवाद नयाँ र नमुना समाजवादको सहयोगी शक्तिका रुपमा नै कायम गर्नेछ ।

१.३. नेपाली समाजको चरित्रमा आएको परिवर्तनको केहि सूचकाङ्कहरुः
नेपाल सामाजिक र आर्थिक रुपले विकसित देशहरुको तुलनामा धेरै पछाडि परेको छ । अहिले नेपाल अतिकम विकसित देशहरुमा पर्दछ । नेपाल यतिधेरै पछाडि पर्नुको मूख्य कारण लामो समयसम्म कायम रहेको सामन्ती शासन व्यवस्था, नेपाली पूँजीपतिवर्गको सामन्तवर्गसंग रहेको गठबन्धन तथा वैदेशिक एकाधिकारवादी पूँजीवादी सरकारहरुले नेपालको आन्तरिक मामलामा गरेको हस्तक्षेप, युवाहरुको विदेश पलायन, लामो समयसम्म जारी पूँजीवादी क्रान्ति तथा माओवादी जनयुद्धको अराजक र ध्वंसात्मक क्रियाकलापहरु रहेका छन् । त्यसो भएता पनि नेपाली समाज पुँजीवादी सुधारतर्फ २००७ सालभन्दा पहिलेदेखि नै अग्रसर हुन थाल्यो र आज समाजको हर क्षेत्र पुँजीवादमा पदार्पण गरिरहेको छ । नेपाली समाज पुँजीवादी कारणमा अहिले पूर्ण रुपले सामेल भएको छ । नेपाली समाजको चरित्र तथा सामाजिक आर्थिक स्थितिमा आएको परिवर्तनहरुलाई निम्न परिसूचकहरुले देखाउँछन्ः

अहिले नेपालको कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ । (क्यगचअभस् एयउगबितष्यल ७ ज्यगकष्लन ऋभलकगक, ऋद्यक्, द्दण्ज्ञद्द) २०६८ सालको जनगणनाले करिव १ करोड १७ लाख ज्यालादारी श्रममा सामेल भएको देखाएको छ । निजामति कर्मचारी, शिक्षक, प्राध्यापक, सेना र प्रहरी आदि रोजगारीमा रहेकाहरुको संख्या करिब ६ लाख, संगठित नीजी क्षेत्रमा करिव १४ लाख र करिव ३० लाख वैदेशिक रोजगारमा रेहेको छ । हालै नेपाल राष्ट्र वैंकले ५७.६ प्रतिशत परिवारका सदस्य वैदेशिक रोजगारमा संलग्न भएको तथ्याङ्क प्रकाशित गरेको छ । यसको साथै भारतको विभिन्न भागमा आफ्नो श्रमशक्ति बेचेर जीवन निर्वाह गर्ने नेपालीहरुको संख्या करिव ४० लाख रहेको अनुमान गरिएको छ । यसलाई हेर्दा ज्यालादारी श्रम (शारिरिक तथा मानसिक)मा आधारित भै जीवन निर्वाह गर्नेहरुको संख्या करिव ८० प्रतिशत रहेको छ । कृषिमा आश्रित हुनेहरुको संख्या कुल जनसंख्याको २२ प्रतिशतभन्दा बढिरहेको देखिन्न । यसले के जाहेरगर्दछ भने नेपाली समाज सामन्ती तथा अर्धसामन्ती उत्पादन पद्दतिमा होइन पूँजीवादी उत्पादन पद्दतिमा र सामन्ती उत्पादन सम्बन्धमा होइन पूँजीवादी उत्पादन सम्बन्धमा बाँधिएको छ र नेपाली समाज पूँजीवादी समाजमा विकसित भैरहेको छ ।

अहिले नेपालको कुल राष्ट्रिय आय (न्ल्क्ष्) आ.व. २०६८÷२०६९ को प्रचलित मूल्यमा करिब १५७३ अरब रहेको छ । कुल गार्हस्थ उत्पादनमा आधारभूत मूल्यमा कृषिको २२८.१ अरब, उद्योगको ९२.७ अरब र सेवा क्षेत्रको ३१९.१ अरब रहेको छ । वैदेशिक रोजगारीबाट मात्र आ.व. ०६८÷०६९ को अन्तसम्ममा ३ खरब ६० अरब रिमिट्यान्स भित्रिएको छ । यो कुल गार्हस्थ उत्पादनको करिव २३ प्रतिशत हुन आउँछ । नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार घाटाको अंश बढ्दै गएको छ । व्यापार घाटाको अंश गत वर्ष (आ.व.२०६८÷०६९) मा २३.९ प्रतिशतबाट घटेर २२.८ प्रतिशत पुगेपनि यो अंश उच्च नै रहेको देखिन्छ । तुलनामा नेपालको निर्यात व्यापारले नेपालको आर्थिक परनिर्भरता बढ्दै गएको पुष्टि छ । राष्ट्रिय बजेटको सबभन्दा ठूलो हिस्सा भन्सार राजस्व छ । यसले नेपालको आफ्नो राष्ट्रिय उत्पादन नगण्य रहेको देखाउँछ । सार्वजनिक स्वामित्वमा रहेका संस्थाहरु टाट पल्टिरहेका छन् । उत्पादक सहकारीहरु भए पनि नगण्य नै रहेका छन् । भूमिहिन किसानहरु आफ्नो श्रम विक्रि गरी जीवनधान्न बाध्य छन् र ज्यालादारी श्रमिकको संख्या बढ्दै गैरहेको छ । भूदास श्रममा आधारित सामन्तवादी अर्थतन्त्र समाप्त भई त्यसको ठाउँ ज्यालादारी श्रममा आधारित अतिरिक्त मूल्य उत्पादन गर्ने पूँजीवादी अर्थतन्त्रले लिएको छ ।

राजस्व संकलनको स्रोत र स्थितिलाई हेर्दा आ.व. २०६७÷०६८को कर राजस्व १७,२७७.७६ करोड र गैर कर राजस्व २७०४.११ करोड समेत जम्मा राजस्व संकलन १९,९८१.८७ करोड देखिन्छ । यसमा मालपोत तथा रजिष्टेशन ३५७.२५ करोड मात्र रहेको छ । २००७ को परिवर्तन पछि २००८ सलामा पहिलो बजेटको घोषणामा कुल आय २,९०,८१,००० मध्ये हाउजीङ वापत मालपोतबाट १,१९,१६,००० उठेको थियो । यसका अतिरिक्त विभिन्न माल अड्डामा मालपोत उठेको रकम ६२,२८,००० जगेडा रहेको थियो । त्यतिवेला सामन्ती अर्थव्यवस्थामा आधारित रहेको मालपोतबाट मात्रै देशको कुल राजस्वको ६२ प्रतिशतभन्दा बढि आम्दानी रहेको देखिन्छ । तर अहिले आ.व. २०६७÷०६८ सम्म आईपुग्दा राजस्वमा मालपोतको कुनै खास योगदान देखिन्न । मालपोत राजस्वको योगदान केवल १.७८७ प्रतिशत मात्र रहेको देखिन्छ । यसबाट पनि भूमिमा आधारित सामन्ती अर्थव्यवस्था समाप्त भएको र पूँजीवादी अर्थतन्त्र स्थापित भएको स्पष्ट हुन्छ ।

देशको आर्थिक विकासको एउटा महत्वपूर्ण पूर्वाधार क्षेत्र यातायात सेवाको विस्तार हो । यसको विकासक्रममा आ.व. २०६७÷०६८ सम्म कालोपत्रे सडक ९९१७ कि.मि., खण्डस्मित सडक ५७१५ कि.मि. र कच्ची सडक ७८२२ समेत २३४५४ कि.मि. सडक निर्माण भएको छ । ७५ जिल्लाहरु मध्ये २ जिल्ला (हुम्ला र डोल्पा) बाहेक सबै सदरमुकामहरु मोटर सडकले जोडिएको छ । यातायात क्षेत्रको विकासको यस स्थितिले हाम्रो देशले विकसित देशको मापदण्ड पुरा गरेको छ । उक्त सडकमा गुड्ने सवारी साधनहरु बस, मिनी बस, कार, जीप, भ्यान, ट्याक्टर, मोटर साईकल, टेम्पो, माईक्रो, डोजर, क्रेन , पिकअप, ट्रक, टिपर र अन्य गरी १२,८०,६९० पुगेको छ । यातायात क्षेत्रको विकासको यस अवस्थाले नेपाली समाजको सामाजिक आर्थिक विकासमा व्यवसायिक उत्पादन र राष्ट्रिय बजारलाई चौतर्फि रुपमा जोड्ने ऐतिहासिक काम सम्पन्न गरेको छ । हवाई यातायतले पनि अन्तर्राष्ट्रिय रुपमा र मुलुकको सिंगो भागमा सेवा पुराउने कामले पूँजीवादको विकासलाई दु्रत गति दिने काम गरेको छ ।

मुलुकको विकासको अर्को महत्वपूर्ण सूचकांक भनेको सूचना, संचार तथा प्रविधिको विकास हो । यसले कुन देश कुन अवस्थामा छ भन्ने कुरालाई देखाउँछ । यस क्षेत्रको विकासक्रममा अहिले मुलुकमा रेडियो नेपालका अतिरिक्त नीजी क्षेत्रबाट संचालित एफ.एम. रेडियोको संख्या ४०० पुगेको छ । यस मध्ये ३४१ प्रसारणरत छन् । सरकारी र नीजी क्षेत्र गरी ४७ टेलिभिजन च्यानलले अनुमति प्राप्त गरी १५ वटा टि.भि. च्यानल प्रसारणरत छन् । दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक, पाक्षीक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक गरी विभिन्न १७ भाषामा ६१७१ पत्रत्रिकाहरु प्रकासित भैरहेका छन् । विभिन्न प्रकारका टेलिफोन उपभोग गर्ने उपभोक्ताको संख्या १,५६,१७,७०४ पुगेको छ । यी सबै सूचना, संचार तथा प्रविधिको क्षेत्रको विकासले सिंगो मुलुक र नेपाली जनताको चेतनाको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

कुनै पनि मुलुकको विकासको परिसूचक भनेको शैक्षिक क्षेत्रको विकासको अवस्था पनि हो । शैक्षिक सत्र २०६८ मा ममुलुकभर परंपरागत आश्रम÷गुरुकुल, गुम्बा, विहार र मदरसातर्फका प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका कुल १,६१४ विद्यालयहरु संचालनमा रहेका छन् । शैक्षिक सत्र २०६८ मा शिक्षा मन्त्रालय अन्तर्गत प्राथमिक विद्यालय ३३,८८१, निम्न माध्यमिक विद्यालय १३,७९१ र माध्यमिक विद्यालय ८,२३३ संचालनमा रहेका छन् । त्यसमा प्राथमिक तर्फ ४७,८२,८८५, नि.मा.वि. तर्फ १८,१२,६८० र मा.वि. तर्फ ८,४८,५६९ समेत जम्मा ७४,४४,१३४ विद्यार्थीहरु पठन पाठन गरिरहेका छन् । यसमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु क्रमशः १,७३,७१४, ४८,८४८ र ३५,६७५ समेत २,५८,२३७ रहेका छन् । आ.व. २०६७÷६८ सम्म मुलुकभरी सञ्चालनमा रहेका ८ वटा विश्वविद्यालयहरु अन्तर्गतका क्याम्पसहरु आंगिक ८९ सम्बन्धन प्राप्त ९८८ र त्यसमा अध्ययन गरिरहेका विद्यार्थीहरुको संख्या जम्मा ४,३५,३३४ छन् । (श्रोतः आर्थिक सर्वेक्षण आ.व. २०६८÷६९, नेपाल सरकार, अर्थमन्त्रालय, सिंहदरबार, पृ. २११, २१५ र २२०) यसले मुलुकको शैक्षिक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ र कुल जनसंख्याको साक्षरको संख्या ८२.२० देखि ५७.४० र औसत ६५.९० प्रतिशत पुगेको छ । यसले सामन्तवादको जरा समाप्त गर्न र नेपाली समाजको विकासक्रमलाई अग्रगति प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

मुलुकको विकासको अर्को परिसूचक भनेको स्थास्थ सेवा र सुविधामा विस्तार हो । अहिले स्वास्थ सेवाको क्षेत्रमा अस्पताल १०५, स्वास्थ केन्द्र २०५, स्वास्थ चौकी २१७५, आर्युवेदिक औषधालय २९३, उपस्वास्थ चौकी २५९२ समेत जम्मा ४,३९३ स्वास्थ संस्था रहेका छन् । अस्पताल सैया ७५०१, जम्मा जनशक्ति ९२,१५०, डाक्टर १६५४, परिचारिका ११,७५६, कविराज ३९४, वैद्य ३६०, स्वास्थ सहायक ८०१३, स्वास्थ कार्यकर्ता ३१९०, स्थानीय स्वास्थ कार्यकर्ता २९८५ र अन्य स्वास्थ कार्यकर्ताहरु ६३,३२६ रहेको छ । (श्रोतः आर्थिक सर्वेक्षण आ.व. २०६८÷६९, नेपाल सरकार, अर्थमन्त्रालय, सिंहदरबार, तालिका पृ. १०६) स्वास्थ सेवा र सुविधाको क्षेत्रमा भएको विस्तारले नेपाली समाजको विकासको क्रमलाई गति प्रदान गरेको छ ।

देशभरी वैंक तथा वित्तीय संस्थाहरुको संख्या बढेर गएका छन् । अहिले वाणिज्य बैंक ३२, विकास वैंक ८८, वित्त कम्पनी ७७, लघु वित्त कारोवार गर्ने संस्थाह २३, नेपाल राष्ट्र वैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरु (सीमित वैंकिङ कारोबार गर्ने) १६, नेपाल राष्ट्र वैंकबाट इजाजत प्राप्त गर्ने गैर सरकारी संस्थाहरु (लघु वित्त कारोवार गर्ने) ३७, बीमा कम्पनीहरु २५, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हुलका बचत वैंक समेत ११७ संस्थाहरु छन् । देशभरीमा वैंक तथा वित्तीय संस्थाका २२६५ शाखाहरु छन् । उपरोक्त वैंक तथा वित्तीय संस्थाहरुको कुल सम्पत्ति ११५८.३२ अर्ब, निक्षेप ८७१.९१ अर्ब, कुल कर्जा सापट ७१३.०९ अर्ब रहेको छ । (श्रोतः आर्थिक सर्वेक्षण आ.व. २०६८÷६९, नेपाल सरकार, अर्थमन्त्रालय, सिंहदरबार, पृ. ५३, ५४) यसका साथै देशभरी करिव २७००० सहकारी संस्थाहरु छन् । त्यसमा करिव ४० लाख सदस्यहरु आवद्ध छन् । यसले करिव एक लाख कर्मचारीहरु परिचालन गरी २०० अरब बचत परिचालन गरिरहेका छन् । यसरी ठूलो संख्यामा मुलुकमा संचालनमा रहेको वैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले देशव्यापी रुपमा गरिरहेको वित्तिय कारोबार, निक्षेप संकलन तथा कर्जा प्रवाहको विस्तारले सामन्ती आर्थिक कारोवारलाई समाप्त गरेर पूँजीवादको विकासलाई गति प्रदान गरिरहेको छ ।

आ.व. २०६८÷०६९ सम्म घरेलु तथा साना उद्योगहरु मध्ये प्राईभेट फार्म २,०२,९८३, साझेदारी फार्म १२,७५० र प्राईभेट लिमिटेड १३,०२० दर्ता भएका छन् । यसबाट संचालित उद्योगहरुमा १४ अर्ब ७५ करोड पूँजी लगानी भएको छ । यसका साथै वैदेशिक लगानीका लागि ७० वटा मुलुकबाट २१०८ उद्योगले स्विकृति पाएकाछन् । यसमा ६८०४.९९ करोड रुपैयाँ विदेशी लगानी भएको छ । यसबाट १,५५,४३२ जनाले रोजगारी पाएका छन् । आ.व. २०६७÷६८ को अन्त्यसम्म विभिन्न प्रकृतिका ४५५२ उद्योगहरु संचालनमा छन् । यसको लागत ४ खर्ब १५ अर्व १९ करोड १७ लाख रहेको छ । यसले ४,१२,८१३ रोजागारी सिर्जना गरेको छ । यसरी मुलुक औद्योगिकरणको दिशामा अघिबढिरहेको छ र औद्योगिक मजदुरको संख्या बृद्धि हुँदै गैरहेको छ । यसले मुलुकको वर्ग बनौट तथा वर्गीय संरचनामा मात्रात्मक परिवर्तन गर्दै पूँजीवादी समाज निर्माणको कामलाई अघिबढाईरहेको छ ।

माथि उल्लेखित तथ्यहरुले नेपाली समाज पूँजीवादीकरण भएको पुष्टि गरे पनि त्यसमा दलाल तथा नोकरशाही पूँजीवादको वोलावाल रहेको देखिन्छ । मुलुकमा ठुलो संख्यामा खुलेका वाणिज्य वैंक, वित्तीय संस्था तथा बचत तथा ऋण सहकारीहरुले अनुत्पादक क्षेत्रमा गरेको लगानीले दलाल पूँजीवाद फस्टाएको छ । अनुत्पादक क्षेत्रमा नीजी क्षेत्रको पनि ठुलो लगानी छ । रियलस्टेट, घर जग्गा खरिद विक्रि र उद्योगको नाममा खोलिएका एसम्बलीङ्ग उद्योगहरुबाट ठुलोमात्रामा कमिशन कुम्लाउने काम मात्र भएका छन् । अदक्ष श्रमशक्तिका रुपमा प्रत्येक दिन हजारौंको संख्यामा नेपाली युवाहरु विदेशीएका छन् । वैदेशिक रोजगार कम्पनीले त्यसबाट ठूलो मात्रामा कमिशन पाउँछन् । तस्करी, कमिशनखोरी, कालोबजारी र घुसखोरी सर्वत्र व्याप्त छ । शिक्षा र स्वास्थमा ठुलो मात्रामा नीजी लगानी प्रवाहित छ र ठुलो मात्रामा लगानीकर्ताले कमिशन प्राप्त गरिरहेकाछन् । कृषि, पर्यटन र साना उद्योगहरुले मात्र राष्ट्रिय उत्पादनलाई अगाडि बढाएका छन् । राष्ट्रको सम्पूर्ण खर्चको मूख्य श्रोत वैदेशिक रोजगारीबाट प्राप्त रकम भएको छ । यी सबै आर्थिक सुचकांकहरुले के देखाउँछ भने नेपालमा दलाल र नोकरशाही पूँजीवादको बोलावाल छ । यसलाई नेपालमा प्रवेश गरेको नवउदारवादले प्रोत्साहन गरिरहेको छ र नेपालको राष्ट्रिय अर्थतन्त्र ध्वस्त भइरहेको छ ।

१. ४. नेपाली समाजको परिवर्तनको दिशाः
विकासको कुन नमुना नेपाली समाजको समृद्धिका लागि उपयोगी हुन सक्ला ? अव नेपाली समाजले पक्रने दिशा पूँजीवाद हो कि समाजवाद ? यी अहिलेका मूख्य प्रश्न बनेका छन् । करिब ८० प्रतिशत जनसंख्या श्रमजीवी वर्ग भएको र लगभग ८० वर्ष पहिलेदेखि पूँजीवादी उत्पादन पद्धति आरंभ भएको नेपाल राष्ट्रले अव पूँजीवाद होइन नेपाली विशेषताको समाजवादको नमुना नै अवलम्बन गर्नुपर्दछ । यस अन्तरगत सार्वजनिक, सामुहिक, सहकारी, नीजी र सार्वजनिक नीजी साझोदारी अर्थतन्त्रलाई दृढतापूर्वक अवलम्बन गर्नुपर्दछ । बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली भएको राज्यव्यवस्था अवलम्बन गर्नुपर्दछ । दलाल र नोकरशाही पूँजीवादलाई उन्मुलन गर्दै राष्ट्रिय पूँजीवादलाई व्यापक रुपमा बढावा दिनुपर्दछ । नेपालको आफ्नो राष्ट्रिय हितलाई प्रोत्साहन हुने गरी विदेशी लगानीलाई भित्राउनु पर्दछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी छिमेकी चीन र विश्वको दसौे ठुलो अर्थतन्त्र भएको दक्षिणको छिमेकी भारतका बजारमा पहुँच स्थापित गरी अगाडि बढ्ने कामलाई प्राथमिकतामा राख्नु पर्दछ । तर दलाल पूँजीवादको बोलावाल कायम रहि रहने अवस्थामा भने यी दुई अर्थतन्त्रले नेपाललाई नै समाप्त गर्नसक्ने कुरालाई विर्सन हुन्न । हामीले नेपाली समाजको सामाजिक आर्थिक अवस्था एसियाका विकसित देशको दाँजोमा पुर्याउने उद्देश्य राख्नु पर्दछ । यसका लागि सामाजिक रुपले उच्च सांस्कृति र बहुलतालेयुक्त, आर्थिक रुपले समृद्ध र राजनीतिक रुपले स्वस्थ बहुदलीय प्रतिस्पर्धालेयुक्त समाजको निर्माण नै नेपाली नमुनाको समाजवाद सबभन्दा उपयुक्त हुनेछ ।

नेपालको राष्ट्रिहितको पक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध नै नेपालको विदेश नीतिको आधार हुनुपर्दछ । नेपालको अहिलेको भूराजनीतिक अवस्थाका सकारात्मक र नकारात्मक पक्षहरु छन् । एसियाका दुई महाशक्ति सित सन्तुलित र असल छिमेकीको सम्बन्ध नेपालको राष्ट्रिय हित अनुकुल हुनेछ । एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र पारस्परिक हित कायम, अनाक्रमण र शान्तिपूर्ण सहअस्तित्व सम्बन्धि पंचशीलका आधारमा संसारभरिका राष्ट्रहरुसित विदेश सम्बन्ध कायम गर्नुपर्दछ । २००७ साल पछि विकसित अन्तर्राष्ट्रिय परिस्थितिमा यो पञ्चशीलको विदेश नीति सबभन्दा सही छ ।

नेपालसित सन् १८१६, १८६०, १९४७, १९५० र १९६५ मा विदेशी राज्यहरुले गरेका कतिपय सन्धि संझौताहरु असमान र अपमानजनक छन् । अव पुनरावलोकन गर्न सकिने जति सबै संन्धि सझौताहरुलाई नेपालको हित हुने गरी पंचशीलका आधारमा नयाँ सन्धि संझौता गर्न हिचहिचाउनु हुन्न । छिमेकी वा अरु कुनै देशसित गरिएका सन्धि संझौताहरु आजको युग सुहाउँदा छैनन् भने शान्तिवार्ताद्वारा तिनलाई नयाँ सन्धिबाट प्रतिस्थापन गर्नुपर्दछ । नेपालमा आन्तरिक स्थिति कमजोर भएका वखत विदेशीहरुले हस्तक्षेप गर्ने गरेका छन् । अहिले पनि त्यस्ता समस्याबाट नेपाल पिडित छ । नेपालका शासकहरु र राजनीतिक पार्टीहरुले विदेशीहरु प्रति भक्तिभाव प्रकट गर्नाले पनि विदेशीको हस्तक्षेपलाई निम्त्याउने गरेको छ । यस्तो अवस्थामा देशभक्त, स्वाभिमानयुक्त राष्ट्रवादी सरकार बनाएर मात्र सहि विदेश नीति अवलम्बन गर्न सकिनेछ । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालका सवै राजनीतिक पार्टीहरुका बीच साझा सहमति गर्न सक्दा राष्ट्रिय हितको सम्बद्र्धनमा सहयोग पुग्नेछ ।
नेपालले संयुक्त राष्ट्र संघ, दक्षिण एसियाली सहयोग संगठन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु प्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्नुपर्दछ । संयुक्त राष्ट्र संघलाई आफ्नो राष्ट्रियहितका पक्षमा उपयोगगर्न संधै तत्पर रहनु पर्दछ । विश्व वैंक, एसियाली विकास वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता मुनाफा जन्य वित्तिय संस्थासितको सम्बन्ध पनि आलोचनात्मक हुनुपर्दछ । यीनलाई राष्ट्रको अहित हुनेगरी चलखेल गर्ननसक्ने अवस्था सृजना गर्नुपर्दछ । संसारका अरु पनि धेरै धनी राष्ट्रहरुले यस किसिमका वित्तिय संस्थाहरु संचालन गरेका छन् । यीनीहरुसितको सम्बन्ध पनि राष्ट्रियहितको पक्षमा आधारित गराउनुपर्दछ । मुलुकको अर्थतन्त्रको विकास र समृद्धिका लागि विदेशी लगानी ल्याउनै पर्छ तर त्यसलाई पनि राष्ट्रिय हित अन्तरगत नै संचालन गर्न लगाउनु पर्दछ ।

अहिले पनि साम्राज्यवाद आक्रामक अवस्थामा छ र पूँजीवाद विश्व व्यवस्थाको रुपमा रहेको छ । क्षेत्रीय महाशक्ति राष्ट्रहरुले आफ्ना छिमेकीहरु प्रति प्रभुत्ववादी नीति अवलम्बन गरिरहेका छन् । विज्ञान प्रविधिको विकास तथा अभुतपूर्व समृद्धिका कारण विश्वव्यापीकरण भैरहेको छ । मानिस अन्तर्राष्ट्रिय जाती बनिसकेको छ । यस्तो अवस्थामा विश्व युद्ध, आणविक युद्ध, क्षेत्रीय युद्ध र हतियारको प्रभुत्वबाट संसारमा उपनिवेश अर्धउपनिवेश र नवउपनिवेश सम्भव छैन । यस्तो अवस्थामा संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरुले जनताको बहुदलीय जनवादका सिद्धान्तमा नयाँ विशेषताहरु समावेश गर्दै समृद्ध गरेर अगाडि बढ्नसके यही शताब्दीमा विश्वव्यापी रुपमा नयाँ समाजवाद स्थापना हुनसक्ने देखिन्छ । यस्तो अवस्थामा लोकतन्त्र शान्ति, समाजवाद, समृद्धि र राष्ट्रिय हितको नारा बुलन्द गर्दै नेकपा एमाले अगाडि बढ्नु पर्दछ ।

२०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद पारित गरियो । त्यो कार्यक्रम नेपालमा सम्पन्न हुन बाँकी रहेको पूँजीवादी जनवादी क्रान्तिका लागि मार्गदर्शन गर्ने सन्दर्भमा तयार गरिएको थियो । यस अवधिमा नेपालको विशिष्ट परिस्थितिमा पूँजीवादी जनवादी क्रान्ति शान्तिपूर्ण जनक्रान्तिका रुपमा सम्पन्न भएको छ । राजतन्त्रको अन्त्य संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा संगै २००७ सालदेखि शुरु भएको नेपाली समाजको पूँजीवादी रुपान्तरण सम्पन्न भएको छ । यतिवेला पनि सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवशेषहरु विद्यमान छन् । पूँजीवादीकरण भित्र दलाल र नोकरशाही पूँजीवादको प्रभुत्व रहेकै छ । ठिक यतिवेला नेपाली समाजको अग्रगतिका लागि सामन्तवादका अवशेषहरु र विशेष रुपमा दलाल र नोकरशाही पूँजीवाद मुख्य बाधक छन् । यीनको अन्त्य गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण सहितको उत्पादन पद्दति स्थापना गर्नु यतिवेला नेपाली समाजको मुख्य कार्यभार हो । यहि कार्यभारको नामाकरण नेपाली विशेषतामा आधारित “नेपाली नमुनाको समाजवाद” सबभन्दा उपयुक्त देखिन्छ । यो समाजवाद नै जनताको बहुदलीय जनवादले परिकल्पना गरेको सामाजिक आर्थिक व्यवस्था हो ।

शान्तिपूर्ण जनक्रान्तिद्वारा सम्पन्न युगान्तकारी परिवर्तन भएको आजको सन्दर्भमा २०४९ को पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनले अगाडि सारेको तात्कालिक न्यूनतम कार्यक्रम पूर्ण रुपमा मार्गदर्शक बन्नसक्ने अवस्था छैन । जनताको जनवादी व्यवस्थाको सुदृढिकरण जनताको बहुदलीय जनवादी कार्यक्रमले अगाडि सारेको अर्थतन्त्र विकासको पद्धतिको नाम हो । यो पद्धति समाजवादी कार्यक्रमको विकासको पनि पद्धति बनाउँनु पर्छ । बहुलवादी खुल्ला समाज जनताको बहुदलीय जनवादले अगाडि सारेको समाजवादी समाज सम्बन्धि दूरदृष्टि हो जुन आज पनि त्यत्तिकै सहि छ । बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली आजको परिवर्तित परिस्थितिका लागि पनि त्यतिकै सान्दर्भिकता रहेको छ । यी विषयहरु जनताको बहुदलीय जनवादी कार्यक्रमका मूल आधार हुन् । जनताको बहुदलीय जनवादका यीनै मूल आधारहरुलाई समावेश गरी नेपाली नमुनाको समाजवादी कार्यक्रम अगाडि सार्नु यतिवेला अत्यन्त जरुरी आवश्यकता बनेको छ ।

१) कुनै किसिमको सामाजिक विभेद नभएको बहुलवादी खुल्ला समाज स्थापना गरिनेछ ।
२) सामाजिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था गरिनेछ ।
३) बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुप अवलम्बन गरिनेछ ।
४) कानुनी राज्य, संविधानको सर्वोच्चता, लोककल्याणकारी राज्य, मानव अधिकार, मौलिक अधिकार, आवधिक निर्वाचन, समावेशी लोकतन्त्र स्थापना गर्नका साथै संसदलाई विधायिकाका रुपमा राख्ने व्यवस्था गरिनेछ ।
५) सार्वजनिक, सामुहिक, सहकारी र नीजी तथा सार्वजनिक निजी स्वामित्व तथा सार्वजनिक स्वामित्वको नेतृत्वदायी भूमिका रहेको अर्थव्यवस्था लागु गरिनेछ ।
६) नेपालको प्राकृतिक श्रोत जलस्रोत, खनिज, कृषि, वन, जंगल, जडिबुटि, पर्यावरण, मानव संसाधन र     पर्यटनलाई अत्यधिक उपयोग गरेर राष्ट्रिय उत्पादनलाई विकास गरिनेछ र यीनमै आधारित उद्योगधन्दा बन्द     व्यापारलाई विकसित गरिनेछ ।
७) शारिरिक श्रम र मानसिक श्रमका विचको विभेदलाई क्रमशः समाप्त गरिनेछ । सम्पूर्ण नेपाली समाजलाई     प्रत्यक्ष उत्पादनमा आधारित गराईनेछ र बेरोजगारी पूर्णरुपले समाप्त गरिनेछ ।
८) राष्ट्रिय पूँजीवादलाई चौतर्फि रुपमा संरक्षण र विकास गरिनेछ ।
९) गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी र मनोरन्जन समेतका अधिकारलाई नागरिकको मौलिक अधिकारको रुपमा स्थपित गरिने छ र त्यसको सम्पूर्ण जिम्मेवारी क्रमशः राज्यको हुनेछ ।
१०) केन्द्रका मातहत प्रदेश सरकार, स्थानीय सरकार र प्रारंभिक निकायहरु रहने गरी राज्यको पूर्नसंरचना गरिएको संघीय संरचना कायम गरिनेछ ।
११) समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको १० वर्षपछि नेपाल एशियाली मापदण्ड पार गर्नेछ ।
२. नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद

२. १. मार्गदर्शक सिद्धान्तः
हाम्रो पार्टी नेकपा (एमाले)लाई मार्गदर्शन गर्ने सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हुन् । माक्र्सवाद श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त, वैज्ञानिक समाजवाद र संसार परिवर्तन गर्ने विश्वदृष्टिकोण पनि हो । लेनिनवाद पूँजीवादी साम्राज्यवादलाई पराजित गर्ने श्रमजीवीवर्गको रणनीति र कम्युनिष्ट पार्टी निर्माण सम्बन्धि सिद्धान्त पनि हो । जनताको बहुदलीय जनवाद २१औं शताब्दिका विशेषताहरुमा आधारित समाजवाद निर्माण सम्बन्धि माक्र्सवाद लेनिनवादमा आधारित सामग्रीक सिद्धान्त हो ।

२०६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलन विकसित हुँदै २०६५ सम्म जारिरहँदा शान्तिपूर्ण तरिकाले राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा ग¥यो । यसबाट शान्तिपूर्ण जनक्रान्तिको अवधारणा अगाडि आयो । संघीयता राज्यको पूर्नसंरचना सम्बन्धि संरचनागत सुधारको विषय हो । राजनीतिक प्रणालीलाई लोकतान्त्रिकरण गर्ने सन्दर्भमा २०४९ मा जनताको बहुदलीय जनवाद अगाडि आएको हो । त्यसवेला पूँजीवादी क्रान्ति सम्पन्न भएको थिएन । संवैधानिक भएपनि राजतन्त्र कायम थियो र समाजको चरित्र अर्धसामन्ती थियो । त्यस्तो अवस्थामा हिंसात्मक संघर्ष र जुनसुकै संघर्षलाई विकसित गरेर वल प्रयोगको अवस्थामा पु¥याउनु पर्ने र सत्ता कब्जाको आवश्यकता महसुस गरिएको थियो । समाजवादको सम्बन्धमा त्यसवेला जनताको बहुदलीय जनवादले स्पष्ट खाका प्रस्तुत गर्न आवश्यक ठानेन । आज पूँजीवादी जनवादी क्रान्ति पनि सम्पन्न भएको छ । समाजको चरित्र पनि पूँजीवादी भइसकेको सन्दर्भमा अब जनताको बहुदलीय जनवादको कार्यक्रम आजका विशेषता समावेस गरिएको अर्थात राष्ट्रिय पूँजीवाद सहितको समाजवादको कार्यक्रम हुनुपर्दछ । यसको कार्यान्वयनका लागि मार्गदर्शन गर्ने सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद नै हो ।

२.२. जबजको विकासको पृष्ठभूमिः
२०४९ मा जनताको बहुदलीय जनवादलाई जनताको जनवादी कार्यक्रमको रुपमा अगाडि सारिएको थियो । त्यसलाई पुष्टि गर्ने क्रममा जननेता मदन भण्डारीले जे जति सैद्धान्तिक प्रस्थापनाहरु अगाडि सार्नुभयो तिनका आधारमा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा पार्टीले ग्रहण ग¥यो । तर आज पनि यसका सम्बन्धमा पार्टी भित्र एक रुपता देखिन्न । अब जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रुपमा मात्र बुझ्ने गरि यसलाई स्पष्ट प्रस्तुत गर्नुपर्छ । जनताको बहुदलीय जनवादको सम्बन्धमा पार्टीमा एक रुपता कायम गर्न निम्नानुसारका निष्कर्षहरु प्रस्तुत  गरिन्छ ।

२१ औं शताब्दिको पूर्ब दशाब्दीसम्म विकसित विज्ञान र प्रविधिबाट प्रभावित सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको बुद्धिसंगत निष्कर्ष नै जनताको बहुदलीय जनवाद हो । यसलाई नेपाली विशेषताको माक्र्सवादी लेनिनवादी विचारधारा (क्अजयय िया तजयगनजत) पनि भन्न सकिन्छ । क. मदन भण्डारीले अगाडि सार्नुभएका बहुदलीय जनवाद, नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद र पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादका आधारभूत सैद्धान्तिक प्रस्थापनाहरु समावेश छन् ।

जनताको बहुदलीय जनवाद स्थापनाको एउटा पृष्ठभूमि छ । २०४६ सालको तत्कालिन नेकपा (माले)को चौंथो महाधिवेशनबाट नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि पनि बहुदलीय व्यवस्था अवलम्बन गरिने प्रतिबद्धता पारित गरियो । २०४६ सालको जनआन्दोलनको सफलताबाट संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था काय भएपछि २०४७ को पौषमा तत्कालिन नेकपा (मा) र नेकपा (माले) एकीकृत भई नेकपा (एमाले) को रुपमा पुनर्गठित भयो । त्यसले दुवै पार्टीका आधिकारिक विधान र कार्यक्रमलाई स्थगित गर्दै पार्टी एकताको घोषणापत्र जारी ग¥यो । घोषणापत्रको भूमिकामा पहिलेभन्दा व्यवस्थित रुपमा नेकपा (एमाले)ले नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली, मानव अधिकार, मौलिक अधिकार, संविधानको सर्वोच्चता, कानुनी राज्य, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको विपक्ष अवलम्बन गरिने उल्लेख गरियो । त्यो घोषणापत्र जारी भएपछि त्यसवेलाको नेकपा मसाल र नेपाली काँग्रेसले नेकपा एमाले माथि कम्युनिष्ट सिद्धान्तबाटच्युत भएको आरोप व्यापक रुपमा लगाउन थाले । उनीहरुको आरोपलाई धज्जी उडाउँदै पार्टीका निर्णयहरुका पक्षमा आफ्नो प्रक्तिलाई एकतावद्ध गर्न पहिलो पटक जनताको बहुदलीय जनवादको सैद्धान्तिक प्रस्थापनाको “बहुदलीय जनवाद” नामक रचना क. मदन भण्डारीले अगाडि सार्नुभयो । त्यो रचनाको प्रकाशन पछि पार्टी केन्द्रीय कमिटी भित्र ठुलो विवाद उत्पन्न भयो । अन्तमा त्यसलाई पार्टी दस्तावेजका रुपमा पारित गरियो । २०४९ सालमा सम्पन्न पार्टीको पाँचौं महाधिवेशनले बहुदलीय जनवादमा ‘जनताको’ विशेषण थपेर अत्यधिक बहुमतले त्यसलाई पारित गर्यो । पार्टीको छैठौं महिधिवेशनले विना विश्लेषण र विना सैद्धान्तिकीकरण यसलाई सिद्धान्तको नामाकरण दियो । आठौं महाधिवेशनले सैद्धान्तिक पुष्टि विना नै पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गर्यो । यी सबै कुराहरुबाट जनताको बहुदलीय जनवादको लोकप्रियता बढेको भएपनि मार्गदर्शक सिद्धान्तका रुपमा एक रुपता स्थापित हुनभने सकेन । अहिले पनि सिद्धान्त र विचारको परिभाषामा एकरुपता आएको छैन । त्यसैले जबजलाई बुझ्ने र त्यसलाई व्याख्या गर्ने सवालमा एकरुपता आउन जरुरी छ ।

२. ३. जबजले माक्र्सवाद लेनिनवादको विकासमा गरेका योगदानहरुः
जनताको बहुदलीय जनवादले माक्र्सवाद लेनिनवादको सैद्धान्तिक भण्डारमा निम्न थप योगदान गरेको छः
१.    यसले पहिलो पटक राज्यसत्तामा द्वन्दवादका नियमहरुलाई प्रतिस्थापन गरेर श्रमजीवी वर्गीय शासनलाई     लोकतान्त्रिकरण गर्ने मार्ग प्रसस्त गरेको छ ।
२.    श्रमजीवी वर्गीय अर्थतन्त्र निर्माणमा चरणवद्ध आर्थिक विकासको अवधारण प्रस्तुत गरेर आर्थिक विकासको     स्वभाविक गति अवलम्बन गर्न मार्गदर्शन गरेको छ ।
३.    बहुलवादी खुल्ला समाजको अवधारणा अगाडि सारेर व्यक्तिगत स्वतन्त्रता र सामाजिक सम्बन्धमा सन्तुनल     कायम गरेर मात्र     अवको समाजवाद स्थापना गर्न सकिने सैद्धान्तिक प्रस्थापनालाई अगाडि सारेको छ ।

२. ३.१ राज्यसत्तामा द्वन्दवादका नियमहरुको प्रतिस्थापनः
राज्यसत्तामा द्वन्दवादका नियमहरुको प्रतिस्थापन माक्र्सवादी दर्शनमा थपेको योगदान हो भने चरणवद्ध आर्थिक विकास र बहुलवादी खुल्ला समाजको अवधारणा राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा थपेका अमूल्य योगदानहरु हुन् । नीजी र सामुहिक स्वामित्व, व्यक्तिगत स्वतन्त्रता र सामाजिक सम्बन्धका वीच वैज्ञानिक सन्तुलन अनवरत रहने अवको समाजका अनिवार्य अवस्था हुन् । वर्ग रहँदासम्म वर्ग संघर्ष अनिवार्य भए जस्तै वर्ग विहिन अवस्थामा पनि उत्पादक समुहहरुका बीच र वैचारिक समुहहरुका वीचमा संघर्ष मानव समाजको गतिका आधारभूत तत्वका रुपमा भविष्यमा देखापर्नेछन् ।

लोकतान्त्रिकरण संरचनागत सुधार हो भने श्रमजीवीवर्गीय स्वार्थ रक्षा त्यसको आधारभूत पक्ष हो । एकहोरो लोकतान्त्रिककरणले कम्यृुनिष्ट पार्टीलाई पूँजीवादीकरण गर्दछ भने एकहोरो क्रान्तिकारीकरणले उग्रवामपंथमा धकेल्न सक्छ । तसर्थ लोकतान्त्रिकरण र क्रान्तिकारीकरणलाई सन्तुलित ढंगबाट अगाडि बढाउँदा मात्र कम्युनिष्ट पार्टीलाई जुझारु, लोकतान्त्रिक र क्रान्तिकारी बनाई रहन सकिनेछ ।

२. ३.२. जबजको दुई श्रोत र तीन संघटक अंगहरुः
पछिल्लो कालमा जनताको बहुदलीय जनवादलाई बुझ्ने एक अध्ययन पद्दतिको विकास भएको छ । तदनुरुप जनताको बहुदलीय जनवादका दुई श्रोत र तीन संघटक अंग छन् । दुई श्रोत मध्ये एक, नेपाली कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनसित रहेको अन्तर सम्बन्धको सकारात्मक निष्कर्ष र दुई, सोभियत संघ र पूर्वी युरोपमा समाजवादको असफलता प्रति आलोचनात्मक निष्कर्ष हुन् । तीन संघटक अंग मध्ये पहिलो, भौतिकवादी द्वन्दवादका नियमहरुको राज्यसत्तामा प्रतिस्थापन दोस्रो, चरणवद्ध आर्थिक विकासबाट जनवाद र समाजवादको सुदृढिकरण तथा तेस्रो, बहुलवादी खुल्ला समाजका रुपमा वैज्ञानिक समाजवादको स्थापना ।

२०४८ साल तिर सोभियत संघ र पूर्वी युरोपमा एकैचोटि कम्युनिष्ट आन्दोलनले गंभीर धक्का खाईरहेको अवस्थाको नेपालमा कम्युनिष्ट आन्दोलन अभूतपूर्व रुपमा किन विकसित भयो ? त्यो पनि कैयन कम्युनिष्टहरुले पूँजीवादी बाटो समातिरहेको र कतिपयले उग्रवादी बाटो समातिरहेको अवस्थामा नेकपा (एमाले)ले किन आफ्नो शक्ति व्यापक रुपमा विकास गर्न सक्यो ? यसको सहि उत्तरका लागि कार्यकारण सम्बन्धमा जान जरुरी हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलन सामन्तवाद र साम्राज्यवाद खासगरी सामन्ती निरंकुशताका विरुद्ध लोकतन्त्र र साम्राज्यवाद खास गरी अंग्रेज साम्राज्यवाद र भारतीय एकाधिकार पूँजीवादका विरुद्ध राष्ट्रिय स्वतन्त्रताको रक्षाका लागि गरिएको संघर्षहरुको एकमुष्ट निष्कर्षका रुपमा नेपाली कम्युनिष्ट आन्दोलन देखापर्यो । नेपालको पूँजीवादी पार्टी खास गरी नेपाली कांग्रेसले नेपालको सामन्तवर्ग र अन्तर्राष्ट्रिय साम्राज्यवादसित संधै संझौता परस्त र आत्मसमर्पणको बाटो अवलम्बन गर्दा नेपाली जनता र नेपालको राष्ट्रिय हितको रक्षक नेपालको कम्युनिष्ट पार्टी मात्र देखा पर्यो । यस्तो अवस्थामा नेकपा एमालेका निम्ति लोकतान्त्रिक पद्दति मुल्य मान्यता र आदर्श अभिन्न अंग बन्न पुगे ।

सोभियत संघ र पूर्वी युरोपमा समाजवादी लोकतन्त्रका नाममा एकदलीय नेतृत्व र सर्वहारा अधिनायकत्वको नाममा कम्युनिष्ट निरंकुशता कायम हुनपुग्यो । साम्राज्यवादी युद्ध र हस्तक्षेपका विरुद्ध त्यस किसिमको राज्य व्यवस्थाले एकहदसम्म वैज्ञानिक समाजवाद स्थापना गर्न मद्दत गरे पनि त्यो माक्र्सवादी द्वन्दवादको विरुद्धमा थियो । अतः राज्य र शासन पद्दतिका सम्बन्धमा भौतिकवादी द्वन्दवादका नियमहरु लागुगर्न नसक्दा त्यसको सही संचालन र व्यवस्थापन हुनसकेन । जनता बीच देखिएका अन्तरविरोधहरु शत्रुतापूर्ण अवस्थामा पुगे र सत्तापक्षबाट एक पक्षलाई निर्ममतापूर्वक कुचल्ने काम हुनथाल्यो । अन्तत ति अन्तरविरोधहरु सामाजिक सम्बन्ध र अर्थतन्त्रमा समेत प्रकट हुनथाले । सबै क्षेत्रमा विद्रोह विकसित हुनथाल्यो । छुद्रहरु पत्ता लाग्दै जाँदा तीनबाट साम्राज्यवादले घुस पैठ गर्नथाल्यो र अन्तरविरोधहरु एक एक गर्दै विस्फोट अवस्थामा पुगे । ती सबै अन्तरविरोधहरुको विकास सोभियत संघमा विद्रोह, विघटन र समाजवादको असफलताका रुपमा देखापर्यो । त्यो विद्युतिय गतिमा पूर्वी युरोभरी फैलियो । यी सबै घटनाक्रमहरुको आलोचनात्मक अध्ययन गरिरहेको नेकपा (एमाले)ले दृढतापूर्वक राज्यसत्तामा द्वन्दवादका नियमहरुको प्रतिस्थापन गर्दै जनवाद र समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अवलम्बन गर्ने निष्कर्षमा पुग्यो । ति निष्कर्षहरुलाई नेकपा (एमाले)ले पाँचौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद नामाकरण ग¥यो । जनताको बहुदलीय जनवादले माक्र्सवाद लेनिनवादको सैद्धान्तिक भण्डारमा थपेका तीन महत्वपूर्ण योगदान मध्ये राज्यसत्तामा द्वन्दवादका नियमहरुको प्रतिस्थापन सबैभन्दा महत्वपूर्ण छ । यसले नै जनताको बहुदलीय जनवादलाई आजको अवस्थामा ल्याइ पुर्याएको हो ।

२.३.३. जबज वर्गीय पक्षधरता र शासन प्रणालीमा द्धन्दवाद
राज्यको पनि सार र रुप हुन्छ । शासन प्रणाली रुप हो भने त्यसमा रहेको वर्गीय पक्षधरता त्यसको सार हो । श्रमजीवी वर्गीय पक्षाधरता भएको राज्यको स्वरुप लोकप्रिय बनाउँन सकियो भने सारलाई अरुबढि संरक्षण गर्न सकिनेछ र श्रमजीवी वर्गीय राज्य अरुबढि सुदृढ हुनेछ । हरेक बस्तु, घटना र विचारहरु द्वन्दात्मक भए जस्तै शासन प्रणाली पनि द्वन्दात्मक हुन्छ । द्वन्दात्मक भएका शासन प्रणालीलाई सहि किसिमले संचालन गर्ने हो भने शासन प्रणालीमा द्वन्द हुन दिनुपर्छ । आजको युगमा शासन प्रणालीमा द्वन्दात्मकता भनेको बहुदलीय प्रतिस्पर्धा नै हो । श्रमजीवी वर्गीय पक्षधरता भएको राज्यको स्वरुप बहुदलीय प्रतिस्पर्धाको  हुनजाँदा जनताको पक्षमा संघर्षरत श्रमजीवी वर्गीय पार्टीले नै लोकप्रियता हाँसिल गर्न सक्नेछ । यो प्रणालीमा पराजित पनि हुनपर्ने संभावना रहने हुनाले श्रमजीवी वर्गीय पार्टीले आफुलाई शक्तिसाली बनाईरहन संधै जनपक्षीय हुन प्रेरित भइरहने छ । त्यसका लागि आवश्यकतानुसार स्वरुप अथवा संरचनागत पक्षमा निरंन्तर आवश्यक सुधार गरिरहनु पर्छ ।

२.३.४. जबज र चरणवद्ध आर्थिक विकासको अवधारणाः
अर्थतन्त्रको पनि द्वन्द्वात्मकता हुन्छ । तर यसलाई यथोचित संचालन हुन नदिएर जवरजस्ती रुपान्तरणमा लैजादा समाजवादी मुलुकहरुले ठुल ठुला नोक्सानी बेहोर्न पर्यो । तत्कालिन सोभियत संघमा युद्ध साम्यवाद त्यस्तै नोक्सानदायी घटना बन्यो । त्यस्तै चीनमा संचालन भएको लामो छलाङ भन्ने घटनाले त स्वयं चीनलाई दशकौं पछाडि पारेको तथ्य अहिले प्रकट भएको छ । संसारका अस्तित्वमा रहेका कुनै पनि वस्तु, घटना र विचारहरु निन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छन् । तिनीहरु भित्र परिवर्तन मात्रा मात्रा गरि भइरहेको हुन्छ र जब मात्रा पूरा हुन्छ त्यो सार र रुप दुवैमा भिन्न अवस्थामा रुपान्तरित र विकसित हुन्छ । यसले के देखाउँछ भने परिवर्तनको गतिका विरुद्ध जान सकिन्न । तर युद्ध साम्यवाद र लामो छलाङ दुवै परिवर्तनको गतिका विरुद्ध थिए । ती घटनाहरुबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादले चरणवद्ध आर्थिक विकासको अवधारणा अगाडि सार्यो ।

हरेक राजनीतिक प्रणालीको परिवर्तन र नयाँ प्रणालीको स्थापना पछि कायम गरिने अर्थतन्त्रमा सबभन्दा पहिले पूराना प्रतिगामी अवशेषहरुको उन्मुलन गर्नुपर्छ । त्यसले एक खास काल लिन्छ र एउटा चरणको रुप धारण गर्छ । त्यस्तै नयाँ आर्थिक प्रणालीलाई पूर्ण रुपमा विकास गर्न पनि एउटा खास कालखण्डको आवश्यकता पर्नेछ र त्यस्ले पनि अर्को चरणको रुप धारण गर्नेछ । हरेक अग्रगामी परिवर्तनकारी अर्थतन्त्रहरु एक अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण भईरहेका हुन्छन् । नयाँ अवस्थामा रुपान्तरणको तयारीको पनि एउटा कालखण्ड हुनेछ  जस्ले विकासको एउटा खास चरणको रुप धारण गर्नेछ । सहि किसिमले अर्थतन्त्रलाई विकसित हुनदिने हो भने चरणवद्ध आर्थिक विकासको अवधारणामा जानै पर्ने देखिन्छ । अर्थतन्त्रमा रहेको द्वन्दात्मकता भनेको त्यसवेला कायम रहेका वर्गहरुको स्वार्थ रक्षा गर्ने आर्थिक प्रणालिहरुका विचको प्रतिस्पर्धा अथवा द्वन्द नै हो । संसारमा वर्ग रहेसम्म समाजवादी उत्पादन प्रणालीमा पनि राष्ट्रिय हितको पक्षपोषण हुनेगरी भिन्न भिन्न आर्थिक प्रणालीका बीच प्रतिस्पर्धा हुनदिनु पर्छ । यस किसिमको प्रतिस्पर्धाले समाजवादी अर्थतन्त्रलाई नै सदा सुदृढ गराईरहन सक्नेछ । त्यसैले समाजवाद र पूँजीवादका बीच एउटै देश भित्र पनि अन्तरसंघर्षका निम्ति सहअस्तित्व कायम गर्नु अनिवार्य छ । जनताको बहुदलीय जनवादले अर्थतन्त्रको विकासमा अन्तरसंघर्ष र चरणवद्ध विकासको अवधारणालाई अगाडि सारेको छ ।

२.३.५. जबज र बहुलवादी खुल्ला समाज निर्माणको अवधारणाः
जनताको बहुदलीय जनवादले अगाडि सारेको बहुलवादी खुल्ला समाजको अवधारणा वैज्ञानिक समाजवाद निर्माणकालागि अत्यन्त महत्पूर्ण उपलब्धिका रुपमा लिइएको छ । कम्युनिष्ट पार्टीको मार्गदर्शनमा निर्माण हुने समाजवादी संस्कृतिलेयुक्त समाज एकल र बन्द हुने वा बहुलवादी र खुल्ला हुने भन्ने बहस माक्र्सकै पालादेखि चलिरहेको छ । यस बीचको लामो बहसपछि जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको मार्ग दर्शनमा अब निर्माण हुने सामाजवादी समाज एकल र बन्द हुनैसक्दैन तथा त्यसलाई बहुलवादी र खुल्ला हुनबाट कसैले रोक्न सक्नेछैन भन्ने मान्यता अघिसार्यो ।

वर्गविहिन अवस्थामा त समाज एकल हुने नै छ भन्ने अद्वन्दवादी तर्क कहिले काहि पढ्न र सुन्न पाईन्छ । तर वर्गको अस्तित्व रहंदा मात्र होइन वर्ग विहिन अवस्थामा पनि समाज विकासको द्वन्दवादी चरित्र कायमै रहेको हुनेछ । विचारको विविधता मानव जातीको स्वभाव हो र उत्पादक समुहका बीच विविधता त्यसवेला पनि अपरिहार्य हुनेछ । विचारको विविधताले पनि द्वन्दलाई जन्म दिनेछ । उत्पादक समुहको विविधताले पनि द्वन्दलाई जन्म दिनेछ । अझ पुराना र नयाँको बीचको द्वन्द त सार्वभौम सत्य नै हो । त्यस्तो अवस्थामा विविधताका बीच एकता र संघर्षको अवस्था अनिवार्य हुनेछ ।

एकल र बन्द समाजको परिकल्पना जडवादी र निरंकुशवादी सोंचको उपज हो । समाज व्यक्तिहरुको साझा सम्बन्धको प्रति रुप हो । समाज वीना व्यक्तिको जसरी परिकल्पना हुनसक्दैन त्यसैगरी व्यक्ति विना समाजको परिकल्पना निरर्थक छ । त्यसो भएर व्यक्तिगत स्वतन्त्रता र सामाजिक सम्बन्ध समाजको उत्पत्तिदेखि अन्त्यसम्म रहने अपरिहार्यता हो । नीजी र सामुहिकता तथा व्यक्तिगत स्वतन्त्रता र सामाजिक सम्बन्धलाई जसले व्यवस्थित गर्नसक्नेछ त्यो नै सफल र नेतृत्वकारी अवस्थामा रहनेछ । त्यसैले भावी समाजवादी समाज बहुलवादी र खुल्ला रहनेछ । मानिसको अन्तर्राष्ट्रिय जाती हुनेछ भनेर मानवीय उच्चताको घोषणा गर्ने माक्र्सवादले एकल र बन्द समाजको परिकल्पना नै गर्नसक्दैन ।

२.३.६. जबज र लोकतान्त्रिकरणको अवधारणाः
लोकतान्त्रिकरण जनताको बहुदलीय जनवादले अगाडि सारेको राज्यसत्तामा द्वन्दबादका नियमहरुको प्रतिस्थापनबाट अगाडि आएको द्वन्द व्यवस्थापनको माध्यम हो । यो राज्यसत्ताको संरचनागत पक्ष मात्र हो । तर एकदलीय एकाधिरकावाद, निरंकुशता र तानाशाही शासन व्यवस्थाबाट जनताको जनवादी शासन व्यवस्था तर्फ संक्रमणको अवस्थामा अहिले यो अत्यन्त महत्वपूर्ण पक्ष बनेको छ । सामन्तवादका विरुद्ध पूँजीपतीवर्गले अगाडि सारेको अवस्थामा लोकतन्त्र वास्तविक अर्थमा देखिएको थियो । तर पूँजीपति वर्गले सत्ता हस्तगत गरे पछि भने लोकतन्त्र औपचारिकतामा सिमित भएको छ । जनताको बहुदलीय जनवादले अगाडि सारेको लोकतान्त्रिकरण लोकतन्त्रको औपचारिक नौटंकीलाई पर्दाफास गर्दै जनताका बीच वास्तविक लोकतन्त्रलाई स्थापित गर्ने अभियान हो । यदि जनताको बहुदलीय जनवादले आफुलाई औपचारिक लोकतन्त्रमा मात्र सिमित राख्नथाल्यो भने पूँजीवादी लोकतन्त्र र जनताको बहुदलीय जनवादी लोकतन्त्रमा कुनै फरक हुनेछैन ।

जनताको बहुदलीय जनवादले अगाडि सारेको लोकतान्त्रिकरण राज्यसत्ताको श्रमजीवीवर्गीय सार अथवा क्रान्तिकारी सारलाई बढिभन्दा बढि लोकप्रिय बनाएर संरक्षण र विकास गर्ने संरचनागत सुधारको नाम हो । राज्यसत्तालाई क्रान्तिकारीकरण नगर्ने तर लोकतान्त्रिकरण मात्र गरिरहने हो भने त्यो संरचनाले क्रान्तिकारी सारको रक्षा गर्नसक्दैन । राज्यसत्ताको क्रान्तिकारीकरण र लोकतान्त्रिकरण भौतिकवादी द्वन्दवादका विकसित भावहरु हुन् । जनताको बहुदलीय जनवादले पूँजीपतिवर्गको स्यावासी पाउन लोकतान्त्रिकरणलाई अवलम्बन गरेको होइन भन्ने कुरा प्रष्ट हुनुपर्दछ । बरु यसले पूँजीपतिवर्गको औपचारिक लोकतन्त्रको भण्डाफोर गर्दै वास्तविक लोकतन्त्रलाई स्थापित गर्न चाहन्छ । त्यसकै निम्ति जनताको बहुदलीय जनवादले राज्यसत्तालाई मात्र होइन राजनीतिक पार्टी खासगरी कम्युनिष्ट पार्टी, समकालिन समाज र जनताका आन्दोलनहरुलाई पनि लोकतान्त्रिकरण गर्न चाहन्छ । यसरी नै सभ्य सुसंस्कृत र समृद्ध समाजवाद निर्माण गर्न सकिने जनताको बहुदलीय जनवादको मान्यता रहेको छ ।

कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको मुक्ति संघर्षमा नेतृत्व केन्द्र र मार्गदर्शक राजनैतिक संस्था हो । श्रमजीवी वर्गको राज्यसत्ता प्राप्तिको संघर्षमा असंख्य कम्युनिष्टहरुले बलिदान गरेका छन् । तर राज्यसत्ता प्राप्त गरे पछि कतिपय देशहरुमा पार्टीलाई राजकीय पार्टी बनाईयो । क्रान्तिको नेतृत्व गरेपछि फेरि जनताबाट अनुमोदन हुननपर्ने गरी सदा विजयी घोषणा गरियो । सर्वहारा अधिनायकत्वका नाममा एकदलीय अधिनायकत्व स्थापना गराईयो । सोभियत संघ र पूर्वी  युरोपमा कम्युनिष्ट पार्टीको नेतृत्व असफलताबाट स्थापित समाजवाद पनि असफल भयो र पूँजीवाद पूनः स्थापना भयो । त्यस घटनाबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीलाई राजकीय संस्था हैन श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्थाका रुपमा मात्र स्थापित गर्ने नीति अवलम्बन गर्यो । कम्युनिष्ट पार्टीलाई कतिपय देशमा सैनिक पार्टीका रुपमा स्थापित गर्ने कोशिस गरियो । त्यसबाट कम्युनिष्ट पार्टी जनताबाट अलग हुँदै सेनाका रुपमा देखापर्यो र शत्रुले कम्युनिष्ट पार्टीलाई सहजै पराजित गर्ने मौका पायो । यस्ता घटनाहरुबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीलाई केवल जनआधारित राजनीतिक संस्थाका रुपमा स्थापित गर्न मार्गदर्शन गर्यो । एकपटक राज्यसत्ता प्राप्त गरे पछि कहिल्यै जनअनुमोदित हुननपर्ने एकाधिरकावादी विचारले गर्दा कैयन देशहरुका कम्युनिष्ट पार्टीलाई ऐतिहासिक धक्का खानुपर्यो र श्रमजीवी वर्गको आन्दोलनमा ऐतिहासिक नोक्सानी भयो । त्यसबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीलाई श्रेष्ठता प्राप्त गर्न बारंबार जनअनुमोदित हुन मार्ग दर्शन गर्यो । जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीमा नेतृत्वदायी पदमा रहन आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता पाएर मात्र होइन आवधिक निर्वाचनमा आम जनताको मतबाट पनि अनुमोदित हुन निर्देशित गर्यो ।

कम्युनिष्ट पार्टी कै निर्माणमा लाखौं करोडौं श्रमजीवी योद्धाहरुले बलिदान गरेका छन् । यस्तो पार्टीलाई जनवाद र केन्द्रीयताको सन्तुलनमा निर्माण र संचालन गर्ने संगठनात्मक सिद्धान्तलाई अवलम्बन गर्न जनताको बहुदलीय जनवादले मार्गदर्शन गर्यो । जनताको बहुदलीय जनवादले संगठनमा, वर्गसंघर्षमा र वैचारिक संघर्षमा पनि सामुहिक नेतृत्व र सामुहिक निष्कर्षलाई मार्ग दर्शन गर्यो । जनताको बहुदलीय जनवादले केन्द्रीकृत नेतृत्व अन्तरगत सृखंलावद्ध कमिटिहरुमा आवद्ध जनआधारित कार्यकर्ता पार्टीका रुपमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्न मार्गदर्शन गर्यो । पार्टीलाई गुटबन्दी र नेताहरुको समझादारीका आधारमा होईन विधानमा आधारित, संघर्षमा आधारित र जनतामा आधारित भएर संचालन गर्न जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेको छ । यीनै कार्यभारहरुलाई जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको नाम दिएको छ । क्रान्तिकारी विचारबाट रत्तिभर च्युतनभएको र लोकतान्त्रिकरण गरिएको कम्युनिष्ट पार्टी नै २१ औं शताब्दीका संघर्षहरुमा नेतृत्व केन्द्र बन्नसक्ने छ ।

जनताको बहुदलीय जनवाद २१ औं शताब्दीको विकसित विज्ञान र प्रविधिमा आधारित भएर अगाडि सारिएको माक्र्सवादी लेनिनवादी विचार हो । अब यो विचार संसारभरिका श्रमजीवी जनताका लागि नयाँ विशेषता सहितको समाजवादको मार्गदर्शक बन्नेछ । यसकै आधारमा २१ औं शताब्दी विश्वव्यापी रुपमा नयाँ विशेषताको समाजवाद स्थापित हुने शताब्दी बन्दैछ ।

३. पार्टीको ऐतिहासिक पूनर्गठन

३.१. पार्टी पुर्नगठनको ऐतिहासिक आवश्यकताः
कम्युनिष्ट पार्टी निरन्तर परिवर्तित राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँगै निरन्तर पुनर्गठित भइरहने गतिशिल संस्था हो । अहिले नेपाल र वाँकी दूनियामा अभूतपूर्व ऐतिहासिक परिवर्तन भइरहेका छन् । तद्नुरुप वर्ग, वर्ग संघर्ष र वर्ग सम्वन्धमा परिवर्तन देखिएका छन् । वर्तमान परिस्थिति अनुरुपको पार्टीको पुर्नगठन आज जरुरी आवश्यकता भएको छ । परिवर्तित परिस्थितिका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभिभारा पुरा गर्न सक्षम हुनेगरी पार्टीलाई पुर्नगठन गर्नु आवश्यक छ । ५६ वर्ष लगाएर नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ र अबको अभिभारा समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण हो । यो अभिभारा निर्वाह गर्न सक्षम पार्टी आजको आवश्यकता हो । अब पार्टीमा प्रत्यक्ष वर्ग संघर्षमा मात्र होइन उत्पादन र निर्माण सञ्चालन गर्ने कार्यभार पुरा गर्ने योग्य बन्नुपर्छ अर्थात पार्टीलाई अब उत्पादन र निर्माणको पार्टी वनाउनु पर्छ । पार्टीका प्रत्येक सदस्य कुनै न कुनै प्रत्यक्ष उत्पादनमा सामेल हुनैपर्छ । पार्टी सदस्यहरुलाई व्यक्तिगत भन्दा सामुहिक र सहकारीमा आधारित उत्पादनमा सामेल गरी समाजवादी चरित्र ग्रहण पर्न प्रेरित गर्नुपर्छ । प्रत्येक व्यक्ति प्रत्यक्ष रुपमा उत्पादनमा सामेल हुने भएपछि राज्यलाई कर तिर्नु अनिवार्य हुनेछ । तसर्थ पार्टीको हरेक सदस्यसँग कर तिरेको रसिद अनिवार्य हुनुपर्नेछ । अबको पार्टी राजनीतिक रुपले जुझारु, स्पष्ट, तिक्ष्ण, प्राविधिक रुपले सम्पन्न र आर्थिक रुपले समृद्ध हुनेछ । अबको पार्टी वहुदलीय प्रतिस्पर्धामा श्रेष्ठ भए सत्तासञ्चालन गर्ने र श्रेष्ठता प्राप्त नगर्दा रचनात्मक प्रतिपक्षमा बस्ने गरी वैचारिक र सांगठनिक रुपले तयार हुनुपर्छ । यस्तो अवस्थामा अबको समाजवाद देशभित्र र वाहिर पनि पुँजीवादसँग सहअस्तित्व, सहकार्य र प्रतिस्पर्धात्मक अवस्थाकै आधारमा निर्माण र विकास हुनेछ । तसर्थ अबको पार्टीले यी गुणहरुलाई आत्मसाथ गर्नुपर्छ । अब माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलीय जनवादले उपरोक्त अभिभारा पूरा गर्न सक्षम हुने गरी पार्टीलाई मार्गदर्शन गर्नुपर्छ ।

३.२. पार्टीलाई सिद्धान्तबाट निर्देशित गराउनु पर्छ
नेकपा(एमाले) माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलीय जनवादबाट निर्देशित श्रमजीवी वर्गीय पार्टी हो । माक्र्सवाद संसारलाई यथार्थ रुपमा बुझ्ने, परिवर्तन गर्ने र मानव जातीलाई सबै हिसावले मुक्त र समृद्ध गर्ने बैज्ञानिक विचार प्रणाली हो । लेनिनवाद साम्राज्यवादलाई पराजित गरी समाजवाद निर्माण गर्ने रणनीति विज्ञान र कम्युनिष्ट पार्टी निर्माण र सञ्चालन सम्वन्धि माक्र्सवादी सिद्धान्त हो । जनताको वहुदलीय जनवाद लोकतान्त्रिकरणद्वारा क्रान्तिकारी सारको रक्षा गर्दै समाजवाद निर्माण गर्न द्वन्द्ववादका नियमहरुलाई राज्यसत्तामा प्रतिस्थापन गर्ने माक्र्सवादी लेनिनवादी सिद्धान्त हो । आजको युगमा लेनिनवादको अभावमा माक्र्सवाद बुद्धि विलासको साधन र जनताको वहुदलीय जनवादको अभावमा माक्र्सवाद लेनिनवाद क्रान्तिकारीहरुको आत्मरती मात्र हुनेछ ।

कुनै पनि सिद्धान्तको श्रोत व्यवहार हो । व्यवहारबाट अनुभवहरुको बुद्धिसंगत निष्कर्ष सिद्धान्त हो । जब अनुभव बुद्धिसंगत निष्कर्षमा पुग्छ त्यसले व्यवहारलाई मार्गदर्शन गर्छ । यसरी व्यवहार–सिद्धान्त, सिद्धान्त–व्यवहारको चक्राकार सम्वन्धका दौरान व्यवहार सिद्धान्त निरन्तर विकसित भइरहेका हुन्छन् । व्यवहारविनाको सिद्धान्त र सिद्धान्तविनाको व्यवहार हुनसक्दैन । सशस्त्र बलद्वारा सत्ताकब्जा गर्नु र सर्वहारा अभिनायकत्वद्वारा समाजवाद निर्माण गर्ने माक्र्सवादी निष्कर्ष अब एक मात्र सही रहेन । त्यसको ठाउँमा वहुदलीय प्रतिष्पर्धात्मक पद्धति मार्फत राज्यको नेतृत्व गर्नु लोकतान्त्रिक पद्धति मार्फत श्रमजीवी वर्गको नेतृत्वमा समाजवाद निर्माण भन्ने निष्कर्ष नै अब सही रुपमा देखा परिरहेको छ । साम्राज्यवाद पुँजीवादको चरम अवस्था र समाजवादी क्रान्ति आज पनि सही छ । अब संसारमा सर्वहारा वर्ग छैन त्यसको ठाउँ विज्ञान र प्रविधिले युक्त श्रमजीवी वर्गले लिएको छ । अहिले सर्वहारा वर्गको होइन श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्थाका रुपमा मात्र कम्युनिष्ट पार्टी कायम रहन सक्छ । त्यसको सञ्चालन जनवाद र केन्द्रीयताको सन्तुलनमा मात्र सम्भव छ । नेतृत्वको निर्माण पनि सामुहिक प्रयत्नमा हुन्छ र पार्टीमा सामुहिक नेतृत्व प्रणाली मात्र त्यही भएर सही छ । पार्टीको चरित्र तात्कालिक परिस्थिति बमोजिम निर्धारण हुन्छ । पार्टीको चरित्र आजको श्रमजीवी वर्गीय अवस्थामै भएको छ । तसर्थ अब पार्टी उत्पादनमा आधारित हुनुपर्छ । यसले मात्र पार्टीलाई श्रमजीवी वर्गीय चरित्र प्रदान गर्न सक्छ । कम्युनिष्ट पार्टीमा गुटबन्दीले क्यानसर रोगको काम गर्छ । स्वतन्त्र चिन्तन र व्यक्तिगत स्वतन्त्रता पनि समाप्त गर्छ । अन्तमा पार्टीलाई नै विसर्जित गर्छ । पार्टीका प्रत्येक सदस्यलाई सिद्धान्तले लैस गराउनुपर्छ । सिद्धान्तसंँगत नीति र कार्यक्रम मात्र तय गर्नुपर्छ । त्यही भएर पार्टी जीवनको अभिन्न अंग पार्टी स्कूल हुन्छ । पार्टी स्कूलको ग्रेड पुरा नगरेको सदस्यले प्रमोशन पाउनुहुन्न । व्यक्तिगत स्वार्थ प्रेरित व्यक्तिलाई पार्टीका कुनै पनि कमिटीमा नेता वनाउनु हुन्न ।

३.३. उत्पादनमा आधारित पार्टी आजको आवश्यकता
क्रान्तिद्वारा सत्ताकब्जा गरेपछि मात्र सामाजिक–आर्थिक रुपान्तरणको मुख्य कार्यदिशा अवलम्वन गर्ने अवस्था अब रहेन । समाजमा पुजीपति वर्ग र श्रमजीवी वर्गको सहकार्य र संघर्षको अवस्था निरन्तर रहेपछि राज्यको नेतृत्वमा श्रमजीवी वर्ग र पुँजीपति वर्ग प्रतिस्पर्धात्मक अवस्थामा रहनेछन् । तर, सामाजिक–आर्थिक रुपान्तरण राज्यको नेतृत्वमा रहेको अवस्थामा होस् वा प्रतिपक्षमा रहेको अवस्थामा होस् निरन्तर भइरहनेछ र त्यसलाई गतिदिनु सत्तामा रहेपनि नरहे पनि श्रमजीवी वर्गको राजनीतिक पार्टीको महत्वपूर्ण जिम्मेवारी हुनेछ । राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र कायम भएको आजको अवस्थामा जुनसुकै राजनीतिक पार्टीका निम्ति सामाजिक आर्थिक रुपान्तरण मुख्य कार्यभार वनेको छ । परिवर्तित राष्ट्रिय परिस्थितिमा नेकपा(एमाले) को मुख्य कार्यभार सामाजिक–आर्थिक रुपान्तरणलाई गतिदिनु वनेको छ । सामाजिक आर्थिक रुपान्तरणलाई गति दिँदै कहिले राज्यको नेतृत्व गर्ने र कहिले प्रतिपक्षमा रहेर नयाँ बाटोबाट वैज्ञानिक समाजवाद निर्माणमा लाग्ने दिशा नै आजको मुख्य राजनीतिक कार्यदिशा हो । यस्तो अवस्थामा वर्ग संघर्षको मुख्य रुप सामजिक आर्थिक रुपान्तरण वनेको छ र यो नै श्रमजीवी वर्गको मुख्य कार्यभार वनेको छ । अबको कम्युनिष्ट पार्टी प्रत्यक्ष राष्ट्रिय उत्पादन र निर्माणमा आधारित हुनुपर्छ । त्यही भएर अबको पार्टी उत्पादन र निर्माणको नेता पार्टी हुनेछ । अब नेकपा(एमाले) उत्पादन र निर्माणको पार्टी हुनुपर्छ नकि सडक आन्दोलन आमहड्तालको वा युद्ध र हिंसाको  । अब नेकपा(एमाले) का प्रत्येक सदस्य सहकारी वा सामुहिकतामा आधारित भएर प्रत्यक्ष उत्पादनमा सामले हुनुपर्छ । जुन व्यक्ति प्रत्यक्ष उत्पादनमा सामेल भएको हुँदैन ऊ नेकपा(एमाले) को सदस्य वन्न सक्दैन । त्यही नारा अगाडि साुर्नपर्छ । श्रमजीवी वर्गको पहलकदमी कायम हुने उत्पादन पद्धतिमा सहकारी र सामुहिकता समाजवादको आधार हुन्छ । त्यही भएर पार्टीले सहकारी र सामुहिकतामा आधारित उत्पादनलाई जोड दिनुपर्छ । अबको पार्टी शान्तिपूर्ण वैधानिक बाटोबाट मात्र अगाडि बढ्न सक्छ र परिवर्तन र अग्रगति शान्तिपूर्ण र वैधानिक बाटोबाट मात्र हुनेछ । अब कायम हुने नयाँ व्यवस्था नयाँ खाले समाजवाद नै हुनेछ र त्यो शान्तिपूर्ण रुपान्तरणकै माध्यमबाट हुनेछ । अब फेरि अर्को राजनीतिक क्रान्ति आवश्यक पर्नेछैन । उपरोक्त विशेषताहरुले युक्त नेकपा(एमाले) आजको आवश्यकता हो ।

३.४. पार्टीमा ठूलो मात्रामा प्राविधिक जनशक्ति सामेल हुनुपर्छ
पार्टीको मुख्य काम अब सामाजिक आर्थिक रुपान्तरणबाट समाजवाद उन्मुख हुने भएपछि पार्टीमा ठूलो मात्रामा प्राविधिक जनशक्तिको आवश्यकता पर्ने कुरा निश्चित भयो । मुख्य काम गतिशिल प्राविधिक दिशा भएपछि उल्लेख्य संख्यामा अब पार्टी नेतृत्वमा पनि प्राविधिक जनशक्तिको प्रतिनिधित्व आवश्यक देखिन्छ । अब पार्टीका सदस्यहरुलाई प्राविधिक जनशक्तिका रुपमा रुपान्तरण गर्ने कामलाई तिब्रता दिनुपर्नेछ । पार्टीमा उल्लेख्य संख्यामा इन्जिनियर, ओभरसियर, अर्थविद्, योजनाविद् र व्यवस्थापकहरुलाई प्रवेश गराउनुपर्नेछ । अब पार्टीका सदस्यहरु लाल अथवा राजनैतिक रुपले खारिएका र दक्ष अथवा प्राविधिक रुपले सम्पन्न हुनुपर्छ । पार्टीको स्कूलिङ तद्नुरुप वनाउनु पर्नेछ ।

३.५. योजनाबद्ध नेतृत्व हस्तान्तरण आजको आवश्यकता
कम्युनिष्ट पार्टीको मुख्य चरित्र श्रमजीवी वर्गीय पक्षधरता हो । यस्तो पार्टीको निर्माण सिद्धान्त र विचारबाट शुरु हुन्छ र जनतामा आधारित भएपछि त्यो शक्तिशाली बन्छ । त्यही भएर कम्युनिष्ट पार्टी निर्माणमा नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैकारण पार्टी निर्माणको महत्वपूर्ण कार्यभार नेतृत्व केन्द्रको निर्माण, संरक्षण र विकास गर्नु हुन्छ । नेकपा(एमाले) ले आफ्नो नेतृत्वकेन्द्र निर्माण, संरक्षण र विकासमा सधै  महत्वपूर्ण शक्ति लगाउनुपर्छ । पार्टीमा सामेल हुन चाहने हरेक व्यक्ति कुनै न कुनै क्षेत्रमा अब कुनै न कुनै उत्पादनको क्षेत्रमा स्थापित हुनैपर्छ । पार्टीको सदस्यता प्राप्त गरेपछि ऊ त्यो उत्पादनको क्षेत्रमा सामेल व्यक्तिहरुका बीच नेताका रुपमा स्थापित  हुनुपर्छ । कम्युनिष्ट पार्टीका सदस्यहरु कुनै न कुनै कमिटीमा आबद्ध हुनै पर्छ । व्यक्तिको एक्लो प्रत्यत्नले कुनै पनि कामलाई अगाडि बढाउन सकिन्न । तसर्थ आफ्ना साझा उद्देश्य तथा लक्ष्य पूरा गर्न धेरै व्यक्तिहरुको आवश्यकता पर्छ । तर, त्यस्ता व्यक्तिहरु खास संगठनात्मक सीमामा आबद्ध भएर मात्र शक्तिका रुपमा काम सम्पन्न गर्न सक्नेछन् । त्यही भएर कम्युनिष्ट पार्टीमा संगठनको प्रमुख महत्व हुन्छ । यसलाई त्यही सिद्धान्तका रुपमा सदस्य कमिटीमा आबद्ध हुनैपर्छ र पार्टीमा आबद्ध नभएको व्यक्ति कम्युनिष्ट हुन सक्दैन भनिन्छ । कम्युनिष्ट पार्टीका सदस्य कहिल्यै निस्क्रिय वस्नुहुन्न । सक्रियताले गति पैदा हुन्छ । गतिले उसलाई सधै क्रियाशिल र सृजनशील र रचनात्मक वनाइरहन्छ । गतिशिल सदस्यहरु भएको पार्टी कमिटी कहिल्यै निश्क्रिय रहन सक्दैन र त्यस्तो कमिटीले बल्ल, सही नेृतृत्व गर्न सक्छ ।

गतिशिल सदस्यहरु भएका गतिशिल कमिटीहरु नै पार्टीका सधै प्राण हुन्छन् । पार्टी कमिटीमा आबद्ध सदस्यहरु कुनै न कुनै क्षेत्रका नेता भएका हुन्छन् । त्यसो भएर पार्टीको आधारभूत तहको कमिटी पनि नेताहरुको कमिटी हुन्छ । पार्टी कमिटी नेताहरुको तालिम स्थल पनि हो जहाँ उनिहरुले सही नेतृत्वको प्रारम्भिक शिक्षा प्रातगर्छन् । पार्टी कमिटीमा सामेल प्रत्येक व्यक्तिलाई नेतृत्व कला विकासका लागि अवसर दिइनुपर्छ । तसर्थ पालैपालो नेतृत्व गर्दै त्यसमा आबद्ध व्यक्तिहरु निरन्तर प्रतिस्पर्धात्मक रुपमा सृजनशील र गतिशिल भइरहनेछन् । जुन सदस्य सबभन्दा सक्षम हुनेछन् तिनले जिम्मेवारी बढाउँदै लैजानेछन् । एउटै कमिटीमा लामो समयसम्म कुनै व्यक्ति रहिरह्यो भने उसमा गतिशिलता कम हुँदै जान्छ तर अनुभव भने बढ्दै गएको हुन्छ । त्यस्तो अवस्थामा हरेक कमिटीमा योजनाबद्ध रुपमा कतिपय पुरानालाई त्यसबाट स्थानान्तरण र नयाँलाई प्रतिस्थापन गरिरहनुपर्छ । हरेक नयाँमा गति र सृजना हुन्छ पुरानामा अनुभव र शिक्षा हुन्छ । यी दुबैले कमिटीमा सुस्पष्ट दिशा र गतिशिलता कायम गर्छन् ।

हरेक कमिटीमा नेतृत्व हस्तान्तरण नियमित प्रक्रियामा सामेल गर्नुपर्दछ । त्यसले पनि पार्टीमा संधै गति पैदा गर्नेछ । हरेक कमिटीमा कम्तिमा ५ व्यक्ति नेतृत्वको विकल्पका रुपमा स्थापित गर्नुपर्दछ । तिनलाई योजनावद्ध रुपमा संरक्षण र विकास गर्न सक्नुपर्दछ । त्यसका लागि पार्टी नेतृत्वदायी जिम्मेवारी पनि विभाजन गर्नुपर्छ । पार्टी कमिटीको मुख्य नेतामा विल्कुल नयाँ व्यक्ति भुईफुट्टा वनेर टप्किने अवस्थामा सृजना हुनदिनुहुन्न र एउटै व्यक्तिले नेतृत्वमा कब्जा जमाई रहने अवस्था पनि रहन दिनुहुन्न । एक व्यक्ति अध्यक्षको एउटा कार्यकाल पुरा गरेपछि अनिवार्य आवश्यकतामा वाहेक जिम्मेवारी नयाँमा स्थानान्तरण गर्न तयार हुनुपर्छ । पुरानो व्यक्ति नयाँ जिम्मेवारीमा जानुपर्छ । त्यसरी स्थानान्तरणका लागि दोस्रो त्यसपछि तेस्रो गर्दै जानुपर्छ । कमिटीका समकक्षिहरुकै विचारमा प्रतिस्पर्धा कहिलेकाँही देखा पर्न सक्छ र त्यसलाई अन्यथा लिनहुन्न । किनकी त्यस्तो अवस्थामा समान तहका व्यक्तिहरुको निक्र्यौल गर्ने अर्को उपाय पनि हुन्न । पार्टीका लागि नयाँ व्यक्तिले पुरानाका अगाडि सिद्धान्त, विचार, अनुभव, सक्रियता, सृजनशीलताको चुनौति दिन सक्नुपर्छ । केवल समकक्षी पीडित र अवसरवादी विषयलाई चुनौति नयाँ नेतृत्वको विशेषता हुन सक्दैन ।

नेतृत्वको पुस्ताहस्तान्तरण भ्रम र वाहियात कुरा हो । पुस्ता भनेको बाबु–आमा एउटा पुस्ता, छोरा–बुहारी वा छोरी–ज्वाई दोस्रो पुस्ता, नाति–नातिनी तेस्रो पुस्ता भन्ने हो । अहिले सामान्यतया ५० वर्षलाई एक पुस्ताको अवधि मानिन्छ । यस्तो अवस्थामा नेतृत्वको पुस्ताान्तरण भनेको एउटा नेता एउटै मुख्य पदमा ५० वर्षसम्म पनि रहन पाउने र त्यसलाई विस्थापन गर्न ५० वर्ष कम उमेरको व्यक्ति जाने भन्ने बुझिन्छ । यदी पुस्तालाई राजनीतिक चरित्र दिने हो भने सामन्ती व्यवस्थालाई एक पुस्ता अर्धसामन्तीलाई अर्को पुस्ता र तेस्रो भनेको पुँजीवादी व्यवस्थालाई मान्ने हो भने नेपालको सन्दर्भमा सन् पहिलो शताब्दीदेखि १९५०(२००७) सम्म करिब १९०० वर्षको एक पुस्ता सन् १९५०(२००७) देखि २०१०(२०६५) सम्म करिब ५८ वर्षको अर्को पुस्ता र त्यसपछि गणतन्त्र शुरु भएपछि तेस्रो पुस्ता भन्नुपर्ने हुन्छ । यो पुस्ता हन्तान्तरण होइन पुगान्तरण हो । तसर्थ नेतृत्व हस्तान्तरण भनेको नेतृत्व गरिसकेको व्यक्तिले नयाँ व्यक्तिलाई आफुले सम्हाल्दै आएको जिम्मेवारी हस्तान्तरण गर्ने काम हो । यसलाई आवश्यक जटिल वनाउनुहुन्न । नेतृत्व हस्तान्तरणका संसारमा आफ्नै नमुनाहरु छन् । हामीले एउटा कार्यकाल पुरा गरेको उनै मुख्य नेतालाई उनले चाहे भने निरन्तरताका रुपमा थप एक कार्यकालको लागि अवसर दिने व्यवस्था अनुचित हुँदैन । यो नीति भनेको उम्मेद्वार वन्न पाउने वैधानिक व्यवस्थालाई मात्र मान्नुपर्छ । २ कार्यकाल मात्र पदमा रहन पाउने व्यवस्था यसलाई नेकपा(एमाले) भित्र केन्द्रीय कमिटीका अध्यक्ष र महासचिव र त्यो भन्दा तलका कमिटीहरुमा अध्यक्ष र सचिवहरुका लागि अनिवार्य गरिनु पर्छ ।

३.६. कम्युनिष्ट आन्दोलनको एकता विना समाजवाद सम्भव छैनः
मुख्यतः वहुदलीय प्रतिस्पर्धाको पुँजीवादी व्यवस्थाका लागि संघर्षको कालमा कम्युनिष्ट आन्दोलनको विकास भएका कारण नेपालमा कम्युनिष्ट पार्टी विभाजित भए । त्यसलाई विभाजित, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको रापतापमा गति दिइयो र आज नेपालको कम्युनिष्ट आन्दोलन पनि विभाजित छ । तर, कम्युनिष्ट पार्टीहरुको साझा उद्देश्य समाजवाद भएको र एउटा देशमा एकैचोटी दुईवटा समाजवाद हुन नसक्ने भए पछि एउटै समाजवादका लागि कम्युनिष्ट आन्दोलनको एकता अपरिहार्य देखिन्छ । एउटा देशभित्र कम्युनिष्ट आन्दोलनको एकताका विभिन्न अभ्यास र भिन्नभिन्न अनुभवहरु छन् र आज पनि नेपालका निम्ति तिनै अनुकरणीय छन् । नेकपा(एमाले) ले मिलेर एक हुने प्रयत्नलाई निरन्तरता दिँदै आफुमा अनेकलाई समाहित गर्ने प्रक्रिया पनि जारी राख्नुपर्छ । जे भए पनि नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध प्रयत्नमा लागि रहनुपर्छ । कम्युनिष्ट आन्दोलनको एकता भनेको आफ्नो आन्तरिक एकता पनि हो । आफ्नो आन्तरिक एकता कमजोर भएका वखत अरुसँगको एकता सम्भव हुन्न । पार्टीको आन्तरिक एकताका लागि बाधक तत्व भनेकै आन्तरिक गुटबन्दीपूर्ण क्रियाकलाप हो । यसको अन्त्य विना आन्तरिक एकता सम्भव छैन । पार्टीमा सिद्धान्तनिष्ठता र वैचारिक स्पष्टता विना गुटबन्दी तोड्न सकिन्न । पार्टीमा देखिने भेदभाव र नोकरशाहीपनले एकतालाई छिन्नभिन्न पार्न सक्छ । पार्टीभित्र देखिने अशुद्धिहरुलाई अन्त्य गर्न शुद्धिकरणले पार्टीको एकतालाई सुदृढीकरण गर्न सहयोग पुग्छ ।

३.७. गुटवन्दीले पार्टीलाई ध्वस्त गर्छः
गुटबन्दीले कुनै पनि पार्टी ध्वस्त हुन्छ । गुटबन्दीले अन्ततोगत्वा कुनै पनि गुटलाई राम्रो गर्दैन । पार्टीभित्र पहिले एउटा गुुट सृजना हुन्छ त्यसपछि एउटाले अर्कोलाई समाप्त गर्ने अनेक गुट सृजना हुन्छन् । गुटबन्दीका कारण पार्टीभित्र शत्रुतापूर्ण सम्वन्ध सृजना हुन्छ । पार्टी भित्रका आफ्ना शत्रुलाई समाप्त गर्न पार्टी वाहिर मित्र खोज्ने काम शुरु हुन्छ । वाहिरका कथित मित्रलाई प्रयोग गर्दै पार्टीभित्रका कथित शत्रु समाप्त गर्न अभियान थालिन्छ । अन्तमा पार्टी फुट्छ छिन्नभिन्न हुन्छ र ध्वस्त हुन्छ ।

गुटबन्दीले पार्टीभित्र धेरै पार्र्टी वनाउँछ । धेरै गुटले धेरै पार्टीका रुपमा काम गर्न थालेपछि शक्तिशाली गुटहरु आम्नेसाम्ने भिड्न थाल्दछन् र साना गुटहरुको भाउ बढ्छ । उनीहरुले जता समर्थन ग¥यो त्यतै विजय हुने हुनाले उनीहरुले अनुचित लाभ प्राप्त गर्छन् । त्यसका आधारमा साना गुटले शक्ति आर्जन गर्छन् र उनिहरु पनि ठूला गुट बन्ने सपना देख्न थाल्छन् । गुटबन्दी भए पनि पार्टीकै नाममा मात्र आफ्नो राम्रो सम्भावना र अस्तित्व हुने भएपछि एउटै पार्टी र उही नाममा गुट सञ्चालन हुन्छन् । एउटै पार्टीभित्र अनेक पार्टीको जस्तो अस्तित्व भएपछि त्यो पार्टी वास्तवमा मोर्चा बन्दछ र पार्टीलाई अर्धपतन गराउँदै अन्तमा विघटित गराउँछन् ।

एउटै पार्टीभित्र अवैधानिक समूहलाई गुट भनिन्छ । गुटले पार्टीको संस्थागत पक्षको निर्णयका विरुद्ध आफ्नो समूहको निर्णय गर्छ । पार्टी निर्णयका ठाउँमा आफ्नो समुहको निर्णय लागु गर्ने कोशिस गर्छ । पार्टीको मुख्य नेता र उसका पक्षमा रहेकाहरुलाई  कमजोर वनाउने अनेक काम शुरु गर्छ । गुटले एक जनालाई मुख्य नेता वनाउँछ र उसैबाट नेतृत्व प्राप्त गर्छ । गुटले आफुलाई लुकाउन अनेक नामका आवरण खडा गर्छ । त्यस किसिमको आवरणलाई राष्ट्रव्यापी संयन्त्रका रुपमा फैलाउँछ र त्यसकै भित्र गुटको राष्ट्रव्यापी संयन्त्र निर्माण गरेर पार्टीले जस्तै काम गर्छ ।

पार्टी विभाजन अत्यन्त दुःखद हुन्छ । त्यो भावनात्मक हुन्छ । विभाजनले एकपटक नोक्सानी गर्छ । तर त्यसलाई क्षतिपूर्ति गर्न अनेक उपाय थालिन्छ । विभाजित हुनेहरुको सबै औकात अवस्था जनतामा प्रष्ट हुन थाल्छ र एउटा कमजोर हुँदै जान्छ त्यपछि अर्कोको पक्ष बलियो बन्दै जान्छ । त्यसरी कुनै एक पक्षले एकीकृत अवस्थाको शक्ति हाँसिल गर्छ । त्यसपछि विभाजन इतिहासको विषय  बन्छ र कम्युनिष्ट पार्टी फेरी एकीकृत हुन  पनि सक्छ । तर, गुटबन्दीले पार्टीलाई कहिल्यै एकताबद्ध हुन दिन्न । भित्रभित्र पार्टीलाई तहसनहस पार्छ र अन्तमा एकीकृत पार्टीलाई समाप्त गर्छ ।

नेकपा(एमाले) ज्यादै राम्रो सम्भावना भएको पार्टी हो । अब नेपाललाई अग्रगामी परिवर्तन गर्दै समाजवाद उन्मुख बनाउने भने यो पार्टीलाई एकताबद्ध गर्नैपर्छ । यसलाई एकताबद्ध गर्ने हो भने यसभित्रदेखा परेका सबै गुटहरुलाई समाप्त गर्नैपर्छ । पार्टीलाई एकताबद्ध गर्न सक्दा नेपाली कम्युनिष्ट आन्दोलनको आकर्षण केन्द्रका रुपमा यो स्थापित हुनसक्नेछ  र यही पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नेछ । त्यसको परिणामस्वरुप नेपालमा एउटै कम्युनिष्ट पार्टी पनि वन्नेछ । एउटै कम्युनिष्ट पार्टीको निर्माण नेपाली नमुनाको समाजवादको सुनिश्चितताका निम्ति आधार पनि हुनेछ ।

पार्टीभित्र गुटवन्दीका अनेक कारणहरु हुन्छन् । ती मध्ये प्रमुख भनेको अनुभवहरुको सैद्धान्तिकरण गरी एकीकृत वैचारिक निष्कर्ष निकाल्न नसक्नु नै हो । दोस्रो, पार्टीभित्र देखा पर्ने अन्तरविरोधहरुलाई समयमै सही व्यवस्थापन गर्न नसक्नु हो । तेस्रो, पार्टीको प्रमुख नेतृत्वको पक्षपातपूर्ण निरंकुश व्यवहार हो । चौथो, पार्टीमा विचारधारात्मक कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्नु हो । यी सबै क्रियाकलाप जब एकै ठाउँ आइपुग्दछन् त्यसपछि कार्यकर्तामा विद्रोही भावना पैदा हुन्छ र त्यसले समयक्रममा गुटबन्दीको अवस्था सृजना गर्छ । पार्टीमा गुटबन्दी नेतृत्वको गलत व्यवहार र कार्य अक्षमताका कारण जन्मन्छ । घुसपैठ गरेका पार्टी भित्रका गलत तत्वले त्यसलाई क्रमशः शक्ति प्रदान गर्दै विकराल अवस्था सृजना गर्छन् ।

३.८. जनताको संविधान भन्दा माथि कम्युनिष्ट पार्टी हुनसक्दैनः
जनताको वहुदलीय जनवादको मान्यता वमोजिम क्रान्तिपछि पनि समाजमा संविधानको सर्वोच्चता कायम हुनुपर्छ । संविधानको सर्वोच्चता, कानुनीराज, मानवअधिकार र मौलिक अधिकार कायम गर्न सकिएन भने लोकतन्त्र पनि लागु गर्न सकिन्न, स्थायित्व पनि हुँदैन, दण्डहीनता अन्य पनि हुँदैन शान्ति पनि कायम गर्न सकिन्न तथा विकास र निर्माण पनि सम्भव हुन्न । तर, संसारका कतिप देशहरुमा क्रान्तिकारी रुपान्तरणका नाममा राज्य आतंक स्थापित गरियो । त्यही क्रान्तिभन्दा माथि केही हुन सक्दैन भन्ने नाममा क्रान्ति पछि पनि अराजकता र आतंक सृजना गर्ने काम भयो । त्यसलाई स्वेत आतंकका विरुद्ध लाल आतंक भनियो । वास्तवमा त्यस किसिमका व्यवहारले क्रान्तिका उपलब्धि जोगाउन सकिएन र ती देशहरुमा क्रान्तिले ठूलाठूला धक्का पनि खानु प¥यो ।

जुनसुकै राजनीतिक क्रान्ति वर्ग संघर्षको एउटा रुप हुन्छ । क्रान्तिकारी शक्तिले राज्य कब्जा गरेपछि वर्ग संघर्षको ध्वसात्मक रुप विकास निर्माण तथा सृजनात्मक अवस्थामा रुपान्तन्तरण हुन्छ । सफल क्रान्तिले ध्वसः भएको ठाउँमा पहिले राज्य निर्माण गर्छ । त्यसपछि समाजका प्रत्येक अंगमा सामाजिक आर्थिक रुपान्तरण र जीवनस्तर उन्नत गर्ने कामलाई प्राथमिकतामा अगाडि बढाउँछ । यी सबै कामलाई व्यवस्थित गर्न नयाँ सामाजिक व्यवस्थामा कानुनी राज हुँदैपर्छ र त्यसलाई अझ राम्रारी व्यवस्थित गर्न मूल कानुनका रुपमा संविधान लागू गरिन्छ । कम्युनिष्ट पार्टी कुनै बेला क्रान्तिको नेता र साधन वन्छ अर्को अवस्थामा निर्माणको नेता र साधन बन्ने गर्छ । तर क्रान्तिपछिको अवस्थामा कम्युनिष्ट पार्टीका अभिभारा पुरा गर्न कम्युनिष्ट पार्टीलाई सर्वोपरी राखेर होइन संविधानलाई सर्वोपरी राखेर मात्र सिंगो समाजलाई सामाजिक व्यवस्थाका रुपमा अगाडि बढाउन सकिन्छ । कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको राजनीतिक पार्टी हुन्छ । सम्पूर्ण समाजको हुँदैन । समाजमा अनेक अन्य वर्गहरुको पनि अस्तित्व हुन्छ । त्यस्तो अवस्थामा सम्पूर्ण समाजको प्रतिनिधि संविधान मात्र वन्न सक्छ । कम्युनिष्ट पार्टी होइन ।

कम्युनिष्ट पार्टी राजनीतिक संगठन मात्र हो । जनताको मतका आधारमा राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता प्राप्त गरेका अवस्थामा मात्र राज्यको नेतृत्व गर्ने प्रणालीमा प्रवेश गरेपछि संविधान मात्र त्यस्तो साधन हुन सक्छ जसले श्रमजीवी वर्गको पनि स्वार्थको सुनिश्चितता गर्न सक्छ । समाजवादी लोकतन्त्रको नाममा कायम गरिने सर्वहारावर्गको अधिनायकत्व सम्वन्धि अवधारणा असान्दर्भिक भएको आजको युगमा संविधानको सर्वोच्चता कायम गर्नुको अर्को विकल्प छैन । सर्वहारा अधिनाकत्वका आधारमा निर्माण गरिने समाजवादको सान्दर्भिकता समाप्त भएको छ र जनताको जनवादी व्यवस्था अन्तर्गत वहुदलीय प्रतिस्पर्धा र वैधानिक माध्यमबाट मात्र अब समाजवाद निर्माण र सुदृढ गर्न सकिन्छ । क्रान्तिका नाममा संविधानलाई कागजको खोष्टा वनाउने विचार अराजकताको नमूना मात्र हुन सक्छ । आजको युग नयाँ युग हो । नयाँ युगका विशेषताका आधारमा चल्न कम्युनिष्ट पार्टी मात्र अब संसारमा विजयी वनिरहन सक्नेछन् । नेकपा(एमाले) लाई यिनै विशेषता समावेश भएको पार्टीका रुपमा विकसित गर्नुपर्छ ।

३.९. नेकपा(एमाले) ले राष्ट्रवादी चरित्र ग्रहण गर्नुपर्दछः
मानव जातीले विज्ञान र प्रविधिलाई प्रयोग गरेर वर्तमान युगमा आफुलाई अन्तर्राष्ट्रिय जाती वनाइसकेको छ । यो अझै विकसित हुँदै यही दिशामा दृढतापूर्वक अगाडि बढ्नेछ । यसपछिको मानव जातीको विकासको चरण विश्व समाजवादी व्यवस्था वन्नु अनिवार्य छ । तर सबै राष्ट्रिय सीमा समाप्त गरेर संसार एउटै अन्तर्राष्ट्रिय घर वन्न सक्ने अनुमान अहिलेलाई कल्पना मात्र हो । आर्थिक र सांस्कृतिक सीमाहरु क्रमशः  समाप्त हुँदै गएका छन् । अन्तिममा राजनीतिक सिमा पनि समाप्त हुनेछ र राष्ट्रिय मनोविज्ञानको  सीमानको आवश्यकता पनि पर्नेछैन ।

तर आज मानव जातीको विकास त्यो अवस्थामा पुगेको छैन । अहिले पनि पुँँजीवादी साम्राज्यवादको उदय र विकासको अवस्था समाप्त भएको छैन । एक पटक विखण्डित पुँजीवादी विश्वको पुन उदय भएको छ । साम्राज्यवादी समाजको उदय र पुँजीवादको पुनसर््थापनाका सम्भावनाहरु अहिले पनि त्यत्तिकै रहेका छन् । यसले संसारमा ठूलठूला वर्ग संघर्षहरुको सम्भावनालाई यथावत राखेको छ ।
पुँजीवादी भूमण्डलीकरण भएको आजको युगमा जवरजस्त राष्ट्रिय मनोविज्ञानले काम गर्ने सम्भावना छ । यसबाट राष्ट्रिय स्वतन्त्रताको भावना मात्र होइन ठूला राष्ट्रहरुबाट साना । पछाडि परेका राष्ट्रहरुमाथि प्रभुत्व लाद्ने भावना पनि जन्मने आधारहरु जन्मिरहने स्थिति देखा परिरहेको छ । पुँजीवादी भूमण्डलीकरणले मानव जातीलाई अन्तर्राष्ट्रियकरण गरिरहेको भएता पनि पुँजीवाद आफै राष्ट्रिय स्वार्थप्रेरित हुने भएकोले राष्ट्रवादी भावना हरेक राष्ट्रमा जवरजस्त कायम रहने सम्भावना छ । वर्तमान विश्वपरिस्थितिमा यस्तो रहिरहेकै छ । यस किसिमको भूमण्डलीकरणभित्र राष्ट्र–राष्ट्रभित्र नै श्रमजीवी वर्गले आफ्नो नेतृत्वमा राज्य सञ्चालन गर्दै नयाँ चरित्रको समाजवाद निर्माण गर्ने काम अगाडि बढाउनु पर्छ ।

नेपालमा भर्खर पुँजीवादी क्रान्ति सम्पन्न भएको र समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरणको काम प्रमुख भइरहेको अवस्थामा यहाँको कम्युनिष्ट पार्टीको आमचरित्र राष्ट्रवादी हुनु अनिवार्य छ । यो चरित्र निर्धारण गर्ने कामलाई कुनै पनि सिद्धान्तका नाममा कमजोर वनाइयो भने यसबाट स्वयम् नेपाली श्रमजीवी वर्गको मुक्ति र समृद्धिमा ठूलो धक्का लाग्नेछ । नेपाली श्रमजीवी वर्गले नेपालकाके गौरबगाँथा नेपाली समाजमा स्थापित गर्ने कार्यभार नेपाली पुँजीपति वर्गको हातमा छोडिदियो भने ऐतिहासिक भूल मात्र हात लाग्नेछ । नेपालको श्रमजीवी वर्ग नेपालमा पाँच हजार वर्ष पहिले राज्यको निर्माण गर्ने पुर्खाकै उत्तराधिकारी हो भन्ने कुरा कहिल्यै विर्सनुहुन्न ।

नेपाली समाजलाई नेपाल राष्ट्रका रुपमा विकास गर्न भूमिका खेल्ने अग्रजहरुप्रति नेपाली श्रमजीवी वर्ग सधै सम्मान गर्न अगाडि बढ्नुपर्छ । नेपाली श्रमजीवी वर्गले नेपाल राष्ट्रभित्रै समाजवाद निर्माण गर्न लाग्नुपर्छ । तसर्थ नेपाली श्रमजीवी वर्गको राष्ट्रवादी र देशभक्त हुनु अनिवार्य छ । अवको युगमा समाजवाद निर्माणको पद्धती लोकतन्त्र भन्दा अर्को हुन सक्दैन । नेपालको भविष्य निर्माणमा नेपाली विशेषतायुक्त समाजवाद निर्माणका लागि नेपाली श्रमजीवी वर्गको सट्टामा पूँजीपति वर्गको नेतृत्वमा छोडिदियो भने ऐतिहासिक भुल मात्र हात लाग्नेछ । नेपालको श्रमजीवी वर्ग नेपालमा पाँच हजार वर्ष पहिले राज्यको निर्माण गर्ने पुर्खाकै उत्तराधिकारी हो भन्ने कुरा कहिल्यै विर्सनु हुन्न । नेपाली समाजलाई नेपाल राष्ट्रका रुपमा विकास गर्न भूमिका खेल्ने अग्रजहरुप्रति नेपाली श्रमजीवी वर्ग सधै सम्मान गर्न अगाडि बढ्नुपर्छ ।

नेपाली श्रमजीवी वर्गले नेपाल राष्ट्रभित्रै समाजवाद निर्माण गर्न लाग्नुपर्छ । त्यसो भएर नेपाली श्रमजीवी वर्ग राष्ट्रवादी र देशभक्त हुनु अनिवार्य छ । अवको युगमा समाजवाद निर्माणको पद्धति लोकतन्त्र भन्दा अर्को हुन सक्दैन । तसर्थ श्रमजीवी वर्ग लोकतान्त्रिक हुन पनि अनिवार्य छ । नेपाली श्रमजीवी वर्गले नेपाल राष्ट्रलाई समाजवादमा पु¥याएर मात्र आफुलाई मुक्त र समृद्ध बनाउन सक्ने भएकोले यसको चरित्र क्रान्तिकारी हुनु पनि उत्तिकै जरुरी छ । यी सबै कारणले गर्दा नेपाली श्रमजीवी वर्गको राजनैतिक प्रतिनिधि पार्टी नेकपा(एमाले) को आम चरित्र राष्ट्रवादी, देशभक्त, लोकतान्त्रिक र क्रान्तिकारी हुनु अनिवार्य छ ।
३.१०. पार्टी र जनवर्गीय संगठनहरु
पार्टी र जनवर्गीय संगठनहरु भिन्नभिन्न जिम्मेवारी लिएका एउटै परिवारका सदस्यहरु हुन् । पार्टी सबै जनवर्गीय संगठनहरुको राजनीतिक नेतृत्व केन्द्र हो । जनवर्गीय संगठनहरु पार्टीले आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्क गर्ने माध्यमहरु हुन् । पार्टी  सैद्धान्तिक, वैचारिक, राजनीतिक, संगठनात्मक र वर्ग संघर्षका अनुभवहरुको एक जटिल समुच्चयका रुपमा रहेको हुन्छ । जनवर्गीय संगठनहरु पार्टीका नीति, कार्यक्रम र विचारहरुलाई जनतासम्म लैजाने र जनमुदायका तमाम मागहरु पार्टी र सरकारसम्म पु¥याउने विविध माध्यम र साधनहरु हुन् ।

पार्टी र जनवर्गीय संगठनहरु एकै परिवारका सदस्यका रुपमा रहे पनि यीनका बीचको केही भिन्नताहरुका कारण यिनिहरुको संगठनात्मक व्यवस्थापन पार्टीबाट केही स्वतन्त्र रहेका हुन्छन् । जनवर्गीय संगठनहरुको संगठनात्मक व्यवस्थापनका लागि पार्टी भन्दा छुट्टै विधान, संगठनात्मक ढाँचा र पार्टीभन्दा अलिक फरक पहिचान कायम गरिरहेका हुन्छ ।

भूमिगतकाल, क्रान्तिपूर्वको काल र आज क्रान्ति सम्पन्न भए पछिको कालमा जनवर्गीय संगठन र पार्टीका बीचको सम्वन्ध फरक भएको छ । पार्टी भूमिगत भएका वखत गुप्त फ्र्याक्सनद्वारा पार्टी र जनवर्गीय संगठनको सम्वन्ध कायम गरियो  । क्रान्तिपूर्व कालमा खुल्ला फ्र्याक्सनद्वारा पार्टी र वर्गीय संगठनहरुको सम्वन्ध कायम गरियो । क्रान्ति सम्पन्न भइसकेको आजको परिस्थितिमा पार्टी र जनवर्गीय संगठनहरुको सम्वन्ध खुल्ला नेतृत्वद्वारा सम्वन्ध कायम गरिनु पर्दछ । अब पार्टी र जनवर्गीय संगठनहरुका बीच कुनै फ्याक्सनको आवश्यकता पर्दैन । पार्टीले यस परिस्थितिमा आफ्ना जनवर्गीय संगठनहरुलाई लिखित निर्देशनद्वारा पनि आफ्नो सम्वन्ध कायम गर्न सक्दछन् । सारमा भन्नुपर्दा पार्टीले निर्णय गरेका सबै जनवर्गीय संगठनहरु पूर्व पार्टी संगठनका रुपमा क्रियाशिल हुन्छन् । पार्टीले आफ्ना नीति, विचार र निर्देशनहरु जनवर्गीय संगठनहरुका प्रमुख पदाधिकारी मार्फत पठाउनु पर्छ । प्राप्त नीति, विचार र निर्देशनहरुलाई जनवर्गीय संगठनहरुले आफ्ना संगठनात्मक पद्धति मार्फत प्रवाहित गर्नुपर्दछ र पालना गर्नुपर्दछ ।

पार्टीका सबै जनवर्गीय संगठनका नेतृत्वमा रहेका व्यक्तिहरु सकेसम्म पार्टी सदस्य नै रहने व्यवस्था गर्नुपर्छ । तर, ति सबै व्यक्तिहरु आफ्नै संगठनद्वारा परिचालित संघर्ष र संगठनका उपज भने हुनैपर्दछ । त्यस किसिमका पार्टी सदस्यहरुलाई पार्टीले छुट्टै पार्टी कमिटीहरुमा आबद्ध गरेर परिचालित गर्नुपर्दछ । उनिहरुको पार्टी काम भनेको उनिहरुकै जनवर्गीय क्षेत्रमा काम गर्ने गरी निश्चित गर्नुपर्छ । पार्टीका अन्य कामका क्षेत्र र जनवर्गीय संगठनका क्षेत्रमा ओभरल्याप हुने गरी क्षेत्र दिइनु हुन्न ।

सबै जनवर्गीय संगठनहरुको उल्लेख्य संख्यामा पार्टीका महाधिवेशन, अधिवेशन, सम्मेलन र अन्य बैठकहरुमा भाग लिनपाउने वैधानिक व्यवस्था गर्नुपर्छ । जनवर्गीय संगठनमा सदस्यता लिएर काम नगरेका कुनै पनि व्यक्तिलाई पार्टी सदस्यता प्रदान गर्नुहुन्न । जनवर्गीय संगठनहरुको सदस्यता लिएर एक कार्यकाल सक्रिय भइ काम गरिसकेका व्यक्तिले मात्र पार्टीमा सदस्यताका लागि आवेदन गर्नसक्ने व्यवस्था गर्नुपर्दछ । पार्टीले सदस्यहरुको श्रोत स्पष्ट जनवर्गीय संगठनहरुलाई नै बनाउनु पर्दछ । त्यसो भएर जनवर्गीय संगठनहरुमा पार्टीले अत्यन्त सघन रुपमा काम विस्तार गर्नुपर्दछ । पार्टी केन्द्रीय कमिटीका उल्लेख्य संख्या जनवर्गीय संगठनहरुमा काम गर्न खटाउनु पर्दछ ।

पार्टीले आफ्ना जनवर्गीय संगठनहरु उत्पादन र अन्य व्यवसायमा आधारित बनाउनु पर्दछ । खास खास विशेषताले गर्दा महिला, युवा, दलित जस्ता समुदायमा आधारित जनतामा पार्टी स्थापित गर्ने जनवर्गीय संगठन निर्माण गर्नुपर्दछ । तर जातिमा आधारित, धर्म र सम्प्रदायमा आधारित जनसंगठन निर्माण र संचालन गर्ने काम गर्नुहुन्न । आफै बनेका त्यस किसिमका संगठनहरु भित्र पार्टीका नीति विचार पु¥याउने कोसिस गर्नुपर्दछ । जाती, धर्म र सम्प्रदायमा आधारित संगठनहरु वर्गीय र व्यवसायमा आधारित हुँदैनन् र तिनले जातीय, धार्मिक र सम्प्रदायिक द्वेश फैलाउने काम गर्न सक्छन् ।

विभिन्न नामका सरकारी र अर्धसरकारी सेवाका क्षेत्रमा कानुनसम्मत संगठनहरुभित्र पार्टीका छुट्टै संगठन बनाउने कोशिस गर्नुहुन्न । तर तिनीहरुभित्र रहेका आफ्ना पार्टी सदस्यहरु मार्फत पार्टीका नीति विचार लैजाने कामलाई भने ध्यान दिनुपर्छ । त्यस किसिमका कामहरु गैरकानुनी ढंगले गर्न जरुरी हुन्न । सबै क्षेत्रमा पार्टीले शान्तिपूर्ण वार्ताद्वारा सबै समस्या समाधान गर्ने काम गर्नुपर्दछ । कुनै पनि अवस्थामा आफ्नो पेशा र व्यवसायको हितका नाममा जनताको सेवामा नकारात्मक प्रभाव पार्न दिनुहुन्न ।

परिवर्तित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल गर्दै जनवर्गीय संगठनहरुले आफ्ना मागहरु ट्रेड यूनियन अधिकार भित्र पार्नु पर्दछ र कानुनसम्मत किसिमले नै पूरा गर्ने कोसिस गर्नुपर्दछ । आफ्ना अधिकारहरुको संरक्षण गर्दा अरुको अधिकार हनन् हुने गरी क्रियाशिल हुनुहुँदैन । ध्वंसात्मक काम त कुनै पनि हालतमा गर्नु हुँदैन ।

३.११. पार्टी, व्यवस्थापिका र सरकारका बीच सम्वन्ध
क्रान्ति सम्पन्न भएपछि पार्टीका कार्यभारहरु मात्र बदलिएका छैनन् । पार्टीका कार्यशैली र पद्धतिहरु पनि बदलिएका छन् । पार्टीका कामहरु आधारभूत जनता, व्यवस्थापिका तथा जनप्रतिनिधि संस्था र सरकारभित्र घनिभूत रहने गरी कामका क्षेत्रहरु रुपान्तरित भएका छन् । जनताका बीचका कामहरु पनि यिनैसँग सम्वन्धित भएका छन् । व्यवस्थापिका र तमाम किसिमका जनप्रतिनिधि संस्थाहरु पार्टी कामका आधार भएका छन् । सत्ता कब्जा गर्ने र सर्वहारा अधिनायकत्वका नाममा एकदलीय शासन पद्धति अवलम्बन गर्न नसकिने विश्वव्यापी परिस्थिति सृजना भइसकेको छ । यसले राज्य र क्रान्तिका शास्त्रीय सिद्धान्तहरु परिवर्तन भएका छन् ।, शान्तिपूर्ण वैधानिक र लोकतान्त्रिक पद्धतिका आधारमा समाजवाद निर्माणको युग शुरु भएको छ । समाजवाद, सामाजिक सुरक्षा, मानवता, र समृद्धिको समान वितरण तथा उपभोगसँग सम्वन्धित भएर देखापरेको छ । लामो समयसम्म पूँजीवादसँग सहअस्तित्व, सहकार्य र प्रतिस्पर्धात्मक सम्वन्ध भइरहने अवस्था सृजना भएको छ ।

जनप्रतिनिधि संस्थाहरु र सरकार लोकतान्त्रिक कम्युनिष्ट पार्टीका नीति र कार्यक्रमहरु कार्यान्वयन गर्ने साधन र माध्यमका रुपमा विकसित भएका छन् । प्रतिस्पर्धात्मक बाटोबाट जनताको मत प्राप्त गर्दै श्रेष्ठता हासिल गर्ने र श्रेष्ठ तरिकाले नै जनप्रतिनिधि संस्था र सरकारको नेतृत्व गर्ने कार्यशैली प्रमुख भएका छन् । यी अवस्था अनुरुप अगाडि बढ्न माक्र्सवाद लेनिनवाद र जनताको वहुदलीय जनवादबाट मार्गदर्शन प्राप्त गर्ने गरी सैद्धान्तिक परिभाषा अगाडि सार्ने काम पनि आजको आवश्यकता हो । ती सिद्धान्तहरु यो दस्तावेजका विभिन्न परिच्छेदहहरुमा उल्लेखित छन् ।

अब कम्युनिष्ट पार्टीसँग सेना होईन जनता हुनुपर्दछ । सेना राज्यसँग हुनुपर्दछ । पूँजीवादको अस्तित्व रहँदासम्म अत्याधिक र सशक्त सेना समाजवादी राज्यको पनि संरक्षक हो । त्यस किसिमको सेनाले मात्र राष्ट्रको रक्षागर्न सक्दछ । ठूलठूला राष्ट्रहरुसँग सैनिक प्रतिस्पर्धा सम्पूर्ण जनतालाई गोलबन्द पारेर मात्र गर्न सकिन्छ । राष्ट्रका सम्पूर्ण युवा जनशक्तिलाई सैनिक तालिम दिने र आवश्यकता पर्दा सेनामा सामेल भएर राष्ट्रको रक्षामा संलग्न हुने गौरवको मनोविज्ञान तयार गर्नुपर्दछ । देशभित्रै पूँजीवाद र समाजवादलाई सँगै लैजाने सन्तुलित नीतिले मात्र समाजवादको रक्षा गर्नुपर्दछ । सँगै जान तयार हुने पूँजीवाद राष्ट्रिय पूँजीवाद हुनेछ । त्यस किसिमको पूँजीवादलाई उन्मूलन होइन रक्षा र विकास गर्ने समाजवादी सरकारको स्पष्ट नीति हुनुपर्छ । भ्रष्टाचार उन्मूलन, सुशासनको स्थापना निरन्तर जनताको जीवनस्तरको विकास उच्चस्तरको सामाजिक सुरक्षा र अन्तर्राष्ट्रिय स्तरको तुलनात्मक विकास जनतामा समान वितरणको प्रत्याभूतिका आधारमा कम्युनिष्ट पार्टीका नीति र विचारहरु अघिसारिनु पर्दछ । जनता बीच कम्युनिष्ट पार्टी जनताको सेवकका रुपमा प्रस्तुत हुनैपर्ने पद्धतिको विकास आजको आवश्यकता हो । यसलाई तद्नुरुप सैद्धान्तिकरण गर्नु पनि उच्च महत्वको विषय हो ।

३.१२. पार्टी जीवनमा पार्टी स्कुलको महत्वः
कम्युनिष्ट पार्टी सैद्धान्तिक, वैचारिक तथा वर्ग संघर्षका निष्कर्षहरुका आधारमा सञ्चालित हुने पार्टी हो । त्यसैले कम्युनिष्ट पार्टीमा सामेल हरेक व्यक्तिका लागि पार्टी स्कूलको महत्व अत्यन्त उच्च हुन्छ । माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलीय जनवाद नेकपा(एमाले) का मार्गदर्शक सिद्धान्त हुन् । यी सिद्धान्तहरु नेकपा(एमाले) का प्रत्येक सदस्य लैसनभई नेपालको विशेषतामा मार्गदर्शीत हुन सक्दैन । नेकपा(एमाले) का प्रत्येक सदस्यले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलीय जनवादलाई आत्मसाथ गर्न सक्नुपर्दछ । यसका लागि पार्टी स्कूलले नेकपा(एमाले)का प्रत्येक सदस्यहरुलाई प्रशिक्षित गर्नुपर्दछ । यस काममा पार्टी स्कूलको महत्व अत्यन्त उच्च रहेको छ ।

पार्टी स्कूलले पार्टीका रहेक सदस्यहरुलाई माक्र्सवाद लेनिनवाद र जनताको वहुदलीय जनवादका आधारभूत प्रस्थापनाहरुका बारेमा प्रशिक्षित गरी एकीकृत रुपमा आत्मसाथ गर्न सहयोग गर्नेछ । स्कूलले नेपालका साथै संसारलाई बुझ्ने र त्यसलाई बदल्ने काममा सही मार्गदर्शन गर्नेछ । यसले नेपाली समाजको इतिहास, यसमा रहेका वर्गहरुको आपसी सम्वन्ध रुपान्तरण र विकासका नियमहरुको जानकारी सदस्यहरुलाई गराउने छ । यसले नेपाली समाजका विशेषतामा आधारित समाजवाद स्थापना बारे जानकारी प्रदान गर्नेछ । यसले प्रत्येक सदस्यहरुलाई उनिहरुमा रहेको बौद्धिक क्षमता विकसित गर्न र परिवर्तित परिस्थितिमा वर्ग संघर्षलाई परिचालन गर्न सहयोग गर्नेछ ।

नेपाली समाज भन्नाले, विकासको खास चरणमा समाजका भौतिक उत्पादक शक्तिहरु, तत्कालिन उत्पादन सम्बन्धहरु अर्थात कानुनी भाषामा भन्ने हो भने सम्पत्ति माथिको अधिकार, समाजमा विद्यमान जाति, भाषा, धर्म, संस्कृति र उनिहरु बीचको अन्तरसम्वन्ध, सामाजिक सम्बन्धहरु, प्रक्रियाहरु संक्षेपमा विचारधारात्मक रुपहरु, संस्थानहरु, सामाजिक वर्गहरु र सामाजिक चेतनाको ति सबै रुपहरु र प्रकारहरुको समुच्चय, जो एक निश्चित ऐतिहासिक युगमा प्रचलित उत्पादन पद्धतिको आधारमा उत्पन्न र विकसित भएको हुन्छ । सामाजिक आर्थिक विरचना वस्तुगत सामाजिक सम्बन्धहरु, प्रक्रियाहरु, संस्थानहरु तथा सामाजिक ग्रुपहरु र सामाजिक चेतनाको ती सबै रुपहरुको समुच्चय हो जो एक निश्चित ऐतिहासिक युगमा प्रचलित उत्पादन पद्धतिको आधारमा उत्पन्न र विकसित भएको हुन्छ । यसका बारेमा आम पार्टी सदस्यहरुले गहिरो अध्ययन गर्नुपर्दछ । किनभने सामाजिक आर्थिक विरचना अत्यन्त जटिल प्रणाली हो । प्रत्येक ऐतिहासिक युगमा एक होइन अनेक उत्पादन पद्धतिहरु हुन सक्दछ अर्थात नेपाली समाज पूँजीवादी अवस्थमा अघिबढेको वर्तमान अवस्थामा पनि प्रमुख रुपमा पूँजीवादी उत्पादनका साथै सामन्ती उत्पादनको अवशेषहरु पनि विद्यमान हुनसक्दछ । त्यतिमात्र होइन कतै कतै त दास प्रथाका अवशेष पनि भेटिन सक्दछ । लेनिनले भन्नुभए जस्तै समाजवादी रुसमा समाजवादी उत्पादन पद्धति मुख्य रहनुको साथै पूँजीवादी, सामन्तवादी र कतै कतै त दास प्रथात्मक र आदिम समाजको अवशेष पनि रहन सक्दछ । त्यसैले हामी कम्युनिष्टहरुले “आजसम्म अस्तित्वमान समस्त समाजको इतिहास” अर्थात “वर्गसंघर्षको इतिहास” को बारेमा गहिरो अध्ययन गर्न जरुरी छ । नेपाली समाजको वर्गीय संरचना, वर्गीय अन्तर्विरोधहरु तथा सामाजिक परिवर्तनको दिशा आदिका बारेमा, नेपाली समाजको अर्थराजनीति, यसको विकासक्रम, यस क्रममा रहेको खास ऐतिहासिक चरणको सामाजिक आर्थिक विरचना र त्यो एकबाट अर्कोमा संक्रमण तथा रुपान्तरण र यसको गति आदिका बारेमा गहिरो अध्ययन गर्नुपर्दछ । यी सबै अवस्था र स्थिति बारे यथार्थ र एकीकृत दृष्टिकोेण निर्माण गर्न पनि पार्टी स्कूलले अत्यन्त महत्वपूर्ण काम गर्न सक्दछ । पार्टी स्कूलले पार्टी सदस्यहरुको सृजनात्मक क्षमताको विकास गर्न पनि ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्दछ ।

पार्टी स्कुल पार्टीको जीवनमा शुरुदेखि नै अभिन्न रुपमा जोडिएर आएको छ । पहिले पहिले यसको संरचनालाई ‘अध्ययन मण्डल’ नाम दिइयो । त्यसपछि यसलाई ‘क्लास’ भनियो र अहिले ‘पार्टी स्कूल’ भन्ने गरिएको छ । आजको परिवर्तित र विकसित अवस्थामा पार्टी स्कूललाई साँच्चिकै माक्र्सवादी लेनिनवादी तथा जनताको बहुदलीय जनवादको अवधारणमा स्थापित गर्नुपर्छ । पार्टी स्कूलमा केवल २÷४ वटा सैद्धान्तिक प्रस्थापना होइन माक्र्सवादी दृष्टिकोणका आधारमा सिंगो संसार, यसको आदि र अन्त्यसम्मको सम्भव जानकारी प्रदान गर्ने काम गर्नुपर्छ । यस रुपमा पार्टी स्कूललाई स्थापित गर्ने हो भने संकिर्ण मनोविज्ञान परित्याग गरि वृहत्त मनोविज्ञान निर्माण गर्न जरुरी छ । यसमा सहमति हुने हो भने अब पार्टी स्कूललाई अनौपचारिक विश्वविद्यालयका रुपमा स्थापित गर्नुपर्छ । यसले आजको विश्वलाई बुझ्न र परिवर्तन गरेर समाजवादसम्म पु¥याउन प्रत्येक कम्युनिष्ट बन्न चाहने व्यक्तिलाई महत्वपूर्ण सहयोग गर्नेछ ।

नेकपा(एमाले) द्वारा संचालिन नेपाली माक्र्सवादी विश्वविद्यालय समाजका लागि अनौपचारिक तर नेकपा(एमाले) का लागि औपचारिक संस्था बन्नुपर्छ । यो विश्वविद्यालयमा भर्ना तथा अध्ययन स्तरउन्नतीका प्रमाणपत्रहरु पार्टीमा सामेल हुन र प्रमोशनका लागि उम्मेद्वार बन्न अनिवार्य एक आधारका रुपमा रहनु पर्दछ । विश्वविद्यालयका कलेजहरु केन्द्र जिल्ला र नगरपालिकाहरुमा स्थापित गर्नुपर्दछ । यसका कुलपति, उपकुलपति, डीन र कलेजका प्रमुख तथा अध्यायहरुको संरचना अन्य विश्वविद्यालयका जस्तै हुनुपर्दछ । हरेक कलेजमा आवासीय अध्ययन र अध्यापनको व्यवस्था गर्नुपर्दछ । पारिश्रमिक, भत्ता र पेन्सनको समेत व्यवस्था गर्नुपर्दछ । अध्ययनका लागि पार्टी भन्दा बाहिरका व्यक्तिहरु पनि सामेल हुनपाउने व्यवस्था पनि गर्नुपर्दछ । विश्वविद्यालयलाई यस किसिमका अन्य विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गर्ने व्यवस्था पनि गर्नु पर्दछ ।
पार्टी स्कूलबाट प्रशिक्षित पंक्तिलाई मात्र पार्टी सदस्यमा भर्ति गर्ने, पार्टी भित्र जिम्मेवारी प्रदान गर्ने तथा पार्टीको स्तर र पदोन्नति गर्ने आधार बनाईयो भने मात्र वास्तविक रुपमा सिंगो पार्टीलाई विचारधारात्मक जगमा एकतावद्ध गर्न सकिनेछ । विचारधारात्मक जगमा पार्टीलाई एकतावद्ध गरियो भने नै पार्टीमा देखापरेको गुटबन्दीलाई समाप्त गर्नसकिनेछ । त्यसैले पार्टीको जीवनमा पार्टी स्कूलको अत्यन्त ठूलो महत्व रहेको छ ।

प्रिय कमरेडहरु !
अहिले हामी पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको संघारमा उभिएका छौं । वर्तमान राष्ट्रिय परिस्थितिको विशिष्ट अवस्थामा नेपाली क्रान्तिका बाँकी अभिभाराहरु सम्पन्न गर्ने दृढप्रतिज्ञा सहित सैद्धान्तिक र राजनीतिक छलफलमा जुटेका छौं । पार्टीको मार्गदिशा निर्धारण गर्ने अनेकौ महत्वपूर्ण विषयहरु छलफलका गरमागरम विषय बनेका छन् । यस सन्दर्भमा हामीले आठौं राष्ट्रिय महाधिवेशन यता विकसित भएको राष्ट्रिय राजनीतिको विशिष्टतालाई समेत मध्यनजर राखेर मुलुकको वर्तमान परिवर्तित स्थितिमा नेकपा एमालेको कार्यभार निर्धारण गर्ने सम्बन्धमा माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिनुपर्दछ भन्ने मान्यतामा दृढतापूर्वक उभिएका छौं । यसका साथै ०६२÷०६३ को परिवर्तनलाई हेर्ने दृष्किोणमा एकरुपता आजको आवश्यकता हो ।  संसारमा भएका पुँजीवादी क्रान्ति र तीनका परिणामहरुलाई तुलनात्मक अध्ययन गर्दा जो कोही पनि नेपालमा भएको शान्तिपूर्ण जनक्रान्ति पुँजीवादी जनक्रान्ति थियो भन्ने निष्कर्षमा पुग्नेछ । युगान्तकारी परिवर्तन मान्नुको अर्थ एउटा युगको अन्त्य र नयाँ युगको आगमन नै हुन्छ । शान्तिपूर्ण जनक्रान्तिले विदा गरेको युग र स्थापित गरेको नयाँ युग चाहेर पनि एउटै हुन सक्दैनन् । पुँजीवादी क्रान्ति सम्पन्न भएपछि फेरि अर्को क्रान्तिको आवश्यकता पर्दैन ।  वहुदलीय प्रतिस्पर्धाको शासनप्रणालीको माध्यमबाट जुनसुकै पार्टी पनि राज्यको नेतृत्वगर्ने र आफुले चाहेको सामाजिक आर्थिक व्यवस्था लागू गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिइसकेका छौं । यस्तो अवस्थामा नेपाली समाजको चरित्र कस्तो हुन्छ भनेर भ्रम पाल्न जरुरी छैन । यो पुँजीवादीकरण भएको समाज हो । समाजमा भएका विभेद, गरिबी र अभाव नेपाली समाजमा देखा परेको पुँजीवादी व्यवस्थाको उपज हो । यस दस्ताबेजमा यसमा अघिसारिएका विचारहरु आजको विकसित परिस्थितिका निष्कर्षहरु प्रस्तुत गरिएका छन् । यस दस्तावेजलाई अरु समृद्ध बनाउने सन्दर्भमा तपाईहरुले आफ्ना महत्वपूर्ण सुझाव तथा टिप्पणीहरु प्रस्तुत गर्न सक्नुहुनेछ । कमरेडहरुबाट प्राप्त सुझावहरु र टिप्पणीहरुले यसलाई समृद्ध बनाउने सहयोग पुग्नेछ भन्ने विश्वास दिलाउँन चाहन्छु ।

आगामी नवौं महाधिवेशनबाट विचारधारात्मक र संगठनात्मक जगमा पार्टीलाई एकतावद्ध गरौं ! मुलुकको विभाजित कम्युनिष्ट आन्दोलनलाई पनि एकतावद्ध गर्न बैचारिक छलफल आरंभ गरौं ‘एकता संघर्ष र एकता’बाट अझ उच्चस्तरको एकता हाँसिल गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघिबढौं !! सिंगो मुलुक र आम नेपाली जनताको समृद्धिका लागि सामाजिक आर्थिक रुपान्तरणमा केन्द्रित हुँदै, सामन्तवादका अवशेषहरुलाई समाप्त पारौं !!! तथा दलाल र नोकरशाही पुँजीवादलाई अन्त्य गर्दै राष्ट्रिय पुँजीवादलाई विकास गरौं । यसो गर्दै समाजवादउन्मूख सामाजिक आर्थिक रुपान्तरणलाई गति प्रदान गरौं ।  स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सिंगो राष्ट्र र आम नेपाली जनता विशेष गरी श्रमजीवी वर्गको आर्थिक समृद्धि  कायम गरौं । योजनावद्ध ढंगले चरणवद्ध रुपमा नेपाली विशेषतायुक्त समाजवाद निर्माण गर्ने महान ऐतिहासिक अभिभारा पूरा गर्न हामी सबै एकतावद्ध होऔं  र नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सर्वसम्मत ढंगले सम्पन्न गरौं !!!!

०००

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us