खोरेतका कारण दार्चुलामा डेढ सय पशुचौपाया मरे

काठमाण्डु टुडे २०७० चैत २४ गते २:२९ मा प्रकाशित

दार्चुला, २४ चैत– अहिलेसम्म खोरेत रोगका कारण दार्चुलामा १ सय ४३ पशुचौपाया मरेको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ ।
खोरेत लागेर सबैभन्दा बढी साना प्रजातिका पशु मरेका सो कार्यालयका वरिष्ठ पशु चिकित्सक वसन्तबहादुर सिंहले बताए ।
तीन/चार महिनायता दार्चुलामा देखिएको खोरेत रोग अझै नियन्त्रणमा आउन सकेको छैन । सुरुमा जिल्लाका लेकम क्षेत्रमा पर्ने पाँच गाविसमा देखापरेको खोरेत अहिले झन्डै २४ वटा गाविससम्म फैलिएको छ ।
लेकम क्षेत्रमा खोरेत आङ्शिकरुपमा नियन्त्रणमा आए पनि अहिले जिल्ला सदरमुकाम खलङ्गा आसपासका गाविसमा देखिएको र खलङ्गा तथा धाप गाविस उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ ।
ती गाविसमा खोरेत नियन्त्रणका लागि जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिकको टोली परिचालन गरिएको र अहिलेसम्म जिल्लाका १० हजार पशुचौपायालाई खोरेतविरुद्धको भ्याक्सिन लगाएको र अन्य पशुचौपायालाई पनि लगाउने क्रम जारी रहेको चिकित्सक सिंहको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us