
काठमाण्डु, २४ चैत– क्रान्तिकारी पत्रकार संघले पत्रकार महासंघको अध्यक्षमा ओम शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
संघको राजधानीमा आइतबार बसेको कार्यालय बैठकले आफ्नो संगठनले अध्यक्ष पाउने अवस्थामा शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक गोविन्द आचार्यले जानकारी दिए ।
शर्मा हाल महासंघको महासचिव छन् । यसअघि प्रेस युनियनका अध्यक्ष किरण पोखरेल र पोषण केसीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रेस चौतरीबाट अध्यक्षका लागि महेन्द्र विष्ट र गगन विष्ट आकांक्षी छन् ।
संघको बैठकले अन्य संगठनसँग चुनावी तालमेलबारे वार्ता गर्न संयोजक आचार्यको नेतृत्वमा ओम शर्मा, खिलबहादुर भण्डारी, चन्द्रमान श्रेष्ठ, बलराम थापा, विष्णु सापकोटा र मनऋषि धिताल रहेको समिति गठन गरेको छ ।
संगठनका तर्फबाट महासंघमा उठाउने एजेण्डा लेखनको जिम्मेवारी संयोजक आचार्यलाई दिइएको छ । यस्तै क्षेत्रीय स्तरमा केन्द्रीय सदस्यको उम्मेदवार छनोटका लागि पूर्वाञ्चलमा विवेक गौतम, मध्यमाञ्चलमा दीपक सापकोटा, उपत्यकामा बलराम थापा, पश्चिमाञ्चलमा एलपी बञ्जारा, मध्यपश्चिममा अजयदीप शर्मा, सुदूरपश्चिममा पहल साउद, प्रतिष्ठान शाखामा विष्णु सापकोटा र एसोसिएटमा खिलबहादुर भण्डारी रहेको ७/७ सदस्यीय समिति गठन भएको आचार्यले बताए ।
आचार्यका अनुसार अन्य संगठनसँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने निर्णयसहित वैशाख पहिलो साता निर्वाचन परिचालनका केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । महासंघको अधिवेशन आगामी वैशाख २१ र २२ गते हुँदैछ ।