काठमाण्डु, २३ चैत– संविधानसभा तथा विभिन्न समितिहरुका बैठकमा रिपोर्टिङका लागि सञ्चारकर्मीलाई प्रवेश दिने कि नदिने भन्नेमा सभासदहरुबीच चर्को मतभेद देखिएको छ ।
अघिल्लो संविधानसभामा भएका सहमति र असहमतिका विषयको अध्ययन तथा अभिलेख तयार पार्न गठित समितिको आइतबारको बैठकमा केही सभासदले सञ्चारकर्मीको भूमिकाका कारण अघिल्लो संविधानसभाबाट संविधान जारी हुन नसकेको भन्दै पत्रकारलाई बैठकमा रोक लगाउनेपर्ने धारणा राखेका हुन ।
बैठकमा काँग्रेस सभासद् मिनाक्षी झाले यसअघि गलत समाचार सम्प्रेषण गरिएका कारण संविधान बन्न नसकेको भन्दै यसपटक सञ्चारकर्मीलाई प्रवेश निषेध गर्नुपर्ने बताएकी हुन् । बैठकमा ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले सञ्चारकर्मीलाई प्रवेश गराउने वा नगराउने भन्ने विषयमा सभासद्को धारणा मागेका थिए ।
झाको अभिव्यक्तिप्रति एकीकृत माओवादी सभासद अग्नि सापकोटा, एमाले सभासद विष्णु पौडेल, काँग्रेस सभासद नवीन्द्रराज जोशीलगायतले आपत्ति जनाए ।
उनीहरुले सञ्चारकर्मीलाई बैठकहरुका निर्वाध प्रवेश गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका थिए । आफूहरु लोगो लगाएका र सञ्चारकर्मी लोगो नलगाएका सभासद भएकाले संविधान निर्माण प्रक्रियाका सबै विषयमा जनतालाई सुसुचित गराउन सञ्चारकर्मीलाई प्रवेश दिइनुर्पे भनाइ उनीहरुको थियो ।
ज्येष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका गुरुङले सहज रुपमा सञ्चारकर्मीलाई प्रवेश गराउने बताउँदै संविधान नबन्नुको दोष निश्चित समूहलाई नलगाउन आग्रह गरे ।