अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा विवाद

काठमाण्डु टुडे २०७० चैत २३ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २३ चैत– अघिल्लो संविधानसभाका सहमति र विमतिका विषय छुट्याउन गठित संविधानसभाको अभिलेख अध्ययन तथा caनिक्र्यौल समितिमा कार्यक्षेत्रको विषयलाई लिएर सभासदहरुबीच विवाद भएको छ ।
सभासदहरुबीच कार्यक्षेत्रबारे विवाद भएपछि समितिको आइतबारको बैठक बिनानिष्कर्ष सकिएको छ । केही सभासदले पहिला सहमति नभएका विषयमा पनि थप छलफल गर्न पाउनुपर्ने बताएपछि विवाद भएको हो ।

उक्त विषय समितिको क्षेत्राधिकारमा पर्दैन । समितिलाई अघिल्लो संविधानसभामा भएका सहमति भएका र असहमतिका विषय सूचीकृत गर्ने मात्र क्षेत्राधिकार तोकिएको छ ।

समितिमा रहेका काँग्रेस सभासदहरु राष्ट्रपतिकी भतिजी किरण यादव, मानबहादुर विक र बलबहादुर केसीले असहमतिका विषयमा छलफल गर्न पाउनुपर्ने अडान लिए ।

काँग्रेसकै धनराज गुरुङ र एमालेका विष्णु पौडेलले क्षेत्राधिकार बाहिर गएर असहमतिका विषयमा छलफल गर्न नहुने बताए ।

क्षेत्राधिकार बारेको विवाद संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र नियमावली मस्यौदा समिति संयोजक लक्ष्मणलाल कर्णसँग छलफल गरेर टुंग्याउने सहमति भएको काँग्रेस सभासद धनराज गुरुङले बताए ।
संविधानसभाको पहिलो बैठक बसेको १ वर्षभित्र संविधान जारी गर्ने संकल्पसहितको कार्यतालीका पारित भएलगत्तै समितिको बैठक बसेको हो । ७३ सदस्यीय समितिको सभापति भने चयन भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us