
काठमाण्डु, २३ चैत– एमाले उपाध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमले पार्टीको आसन्न नवौं महाधिवेनबाट अध्यक्ष बन्ने चाहना रहेको बताएका छन् ।
एमालेको युवा किसान संघले राजधानीमा आइतबार गरेको कार्यक्रममा उनले आफू पनि अध्यक्षको दाबेदार रहेको बताए । तर केपी ओलीले चाहना राखेको अवस्थामा आफूले उनलाई समर्थन गर्ने गौतमको भनाइ थियो ।
झलनाथ खनालले दोहोर्याएर अध्यक्ष नबन्ने बताइसकेको र मदन भण्डारीको निधनपछि माधव नेपालले १६ वर्षसम्म पार्टीको नेतृत्व गरेकाले अब नेतृत्व आफू वा केपी ओलीले गर्न पाउनुपर्ने गौतमले बताए ।
‘पार्टी अध्यक्ष पदका म पनि एकजना दावेदार हुँ’, गौतमले भनेका छन्, ‘केपी कमरेड पनि अध्यक्षको उम्मेदवार हुनुहुन्छ, केपी कमरेडले चाहनु भएको अवस्थामा उहाँलाई अध्यक्ष बनाउनुपर्छ ।’ उनले पार्टीका युवाहरुले भनेको जस्तो पुस्तान्तरणको कुरा सम्भव नभएको उल्लेख गरे ।
उनले आफू यसपटक प्रधानमन्त्री बन्नुपर्नेमा नबनेकामा पनि चित्त दुखाएका छन् । आफू अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको र त्यसमा केपी ओलीको हात निर्णायक रहेकोउनको भनाइ छ ।
‘म प्रधानमन्त्री हुनुपर्ने मान्छेले तेश्रोचोटि उपप्रधानमन्त्री र गृहमन्त्री बन्नका लागि हत्ते हाल्ने कुरै भएन’, गौतमले भनेका छन्, अब पनि म प्रधानमन्त्री बन्ने सम्भावना छ। यसका लागि केपी कमरेडले के भन्नुहुन्छ, त्यसमा भर पर्छ ।’
गौतमले एमालेभित्र लुकेर बसेका अपराधीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । ‘मैले सुरक्षा निकायलाई एमालेभित्र लुकेका, छिपेका अपराधीहरु खोजेर कारबाही गर्नुभए हुन्छ भनेको छु’, उनले भनेका छन्, ‘अब अपराध गरेर एमाले भएबापत कसैले उन्मुक्ति पाउने छैनन् ।’
तर प्रहरीले सेलीब्रेटी बन्न नहुने भनाइ उनको छ । ‘प्रहरीले सेलिब्रेटी बन्ने होइन, देश र जनताको सेवाका लागि अहोरात्र खटिनका लागि गम्भीर प्रकारको ड्युटी गर्ने हो ।’ गौतमले भनेका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले काठमाण्डु प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको भन्दै आपत्ति जनाएका थिए ।