
सिन्धुपाल्चोक, २३ चैत – सिन्धुपाल्चोकको थाङपालधापमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाण्डुबाट सिन्धुपाल्चोकको भोटाङ जाँदै गरेको जीप बा २ च ७३८९ नम्बरको जिप थाङपालधाप–१ लामिडाँडामा दुर्घटनाग्रस्त भएको हो ।
मृत्यु हुनेमा चार महिला र एक पुरुष छन् । मृतकमध्ये भोताङ गाविसकी थाङ्सान तामाङ र श्रीमाई तामाङको मात्र सनाखत भएको छ । मृतक सबै भोताङकै भएको बताइएको छ ।
दुर्घटनामा अरु चालकसहित अरु दुई घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
बोहराका अनुसार ८ जना सवार जिप दिउँसो करिब १ बजेतिर सडकबाट तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । ८ मध्ये हाम फालेका एक जना भने सकुशल छन् ।