
काठमाण्डु, २२ चैत – नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि सरकारले सक्रिएता देखाएको छ ।
देशकै प्रतिष्ठासँग जोडिएको विमानस्थलको भौतिक सेवा, सुविधा खस्कीएको जनगुनासो बढिरहेका बेला सरकारले त्यसलाई सुधार्ने प्रक्रिया अघि बढाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित र अत्याधुनिक बनाउन कार्ययोजना अघि बढाइएको बताए ।
सो विमानस्थलको शनिबार स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग मन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थललाई सुविधा सम्पन्न बनाउने बारे कार्ययोजना बनाएको बताए । ‘सुविधाजनक एयरपोर्ट छैन, यात्रुको सङ्ख्या बढेको छ,’ उनले भने, ‘यात्रुलाई छिटो छरितो व्यवस्थित र आधुनिक प्रणालीमा लैजान सबै प्रक्रिया अघि बढाइएको छ ।’
मन्त्री आचार्यले वैदेशिक रोजगारीमा जाने कामदार यात्रुलाई सहज र सुरक्षित ढङ्गले पठाउने व्यवस्था मिलाउन विमानस्थलका पदाधिकारीलाई निर्देशन दिँदै विमानस्थललाई अत्याधुनिक बनाउन कार्ययोजना पाइप लाइनमा रहेको जानकारी दिए ।
उनले विमानस्थललाई अत्याधुनिक बनाउने प्रक्रियाअनुरुप केही अत्याधुनिक राडर प्रणाली खरिद गर्न लागेको जानकारी दिँदै सुरक्षा व्यवस्थापन, विमानचालकको क्षमता अभिवृद्धि लगायत विमानस्थलका सबै जनशक्ति,भौतिक पुर्वाधार र उपकरणलाई एक वर्षभित्रै सुधार गरिने दृढता व्यक्त गरे ।
मन्त्री आचार्यले अध्यागमनलाई अत्याधुनिक छिटो र छरितो कम्प्युटराइज बनाउन तत्काल योजना ल्याउन विमानस्थलका पदाधिकारीलाई आग्रह गर्दै विमानस्थल सुधारका सबै कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन चाँडै एक कार्यदल गठनगरी कार्य प्रक्रिया अघि बढाइने उल्लेख गरे ।
मन्त्री आचार्यले विमानस्थलका महत्वपूर्ण प्राविधिक कक्षहरु मुख्य टावर, राडर, उपकरण नियन्त्रण कक्ष, सूचना नियन्त्रण कक्ष टर्मिनल भवनको यात्रु आवागमन कक्ष, धावन मार्गको बाहिरी स्वरुपको अवलोकन गरेका थिए ।