काठमाण्डु, २२ चैत – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकासबाट नै आर्थिक विकास सम्भव हुने बताएका छन् ।
नेपाली काँग्रेस वैचारिक अभियानद्वारा शनिबार राजधानीमा आयोजित नेपालको आर्थिक क्रान्ति र समाजवाद विषयक कार्यक्रममा उपसभापति पौडेलले आर्थिक क्रान्ति गर्न सामाजिक सुरक्षा र सामाजिक सम्बन्ध पनि सुमधुर हुनुपर्ने बताए ।
‘सामाजिक न्यायबिना हुने विकास पनि दमनकारी हुन सक्छ, महिला, बालबालिका, पिछडिएका वर्गको हित हुने गरी सामाजिक न्यायसहितको विकास गर्नुपर्छ,’ उपसभापति पौडेलले भने ।
कार्यक्रममा पूर्व सचिव रामेश्वर खनालले आर्थिक क्रान्ति गर्न उदारवादी सोच र भ्रष्टाचारमुक्त सुशासनसहित विकासमूलक कामलाई अघि बढाउनुपर्ने धारणा राखे ।
अभियानका कार्यबाहक संयोजक आर सी विमल र डा अरुणकुमार सिंहलगायतका वक्ताले राज्यको विभिन्न निकायमा युवालाई अघि बढाएर विकासको कामलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।