
काठमाण्डु, २२ चैत – परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले सरकारी तलब खाने शिक्षकले सामुदायिक विद्यालयलाई ‘थकाइ मार्ने स्थल’ बनाएकाले प्रवेशिका परीक्षाको नतिजा खस्किने गरेको बताएका छन् ।
एक्टिभ एकेडेमी कलेजले शनिबार राजधानीमा आयोजना गरेको ‘विद्यालय शिक्षाका समसामयिक सवाल र परीक्षाको नतिजामा प्रभाव पार्ने पक्षहरू’ विषयक छलफल कार्यक्रममा नियन्त्रक द्वारेले सरकारी विद्यालयका तलव खाने शिक्षकले निजी विद्यालयमा पनि पढाउने र सामुदायिक विद्यालयमा समय नदिने प्रवृत्ति देखिएको आरोप लगाए । गत वर्ष एसएलसीमा करिब ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
“शिक्षकले आफ्नो जिम्मेवारी पूरा नगर्ने अनि विद्यार्थी अनुत्तीर्ण हुनुमा सरकारी नीतिको कमजोरी भन्ने ?” नियन्त्रक द्वारेले प्रश्न गरे, “शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन छाडेर सामुदायिक विद्यालयमा किन भर्ना गर्दैनन् ?”
उनले सामुदायिक विद्यालयका शिक्षकमा आफूप्रति आत्मविश्वास नभएको, चाकडी र चाप्लुसी गर्ने, शिक्षा कार्यालयको वरिपरि घुमेर बढुवा खाने प्रवृत्ति देखिएको भन्दै विद्यालय समयमा राजनीतिक पार्टीको प्रतिनिधि बन्ने शिक्षकलाई आफूले शिक्षा अधिकारी हुँदा कारबाही गरेको स्मरण पनि गरे । उनले प्रवेशिका परीक्षालाई फलामे ढोकाका नाममा प्रचार नगर्न आग्रह गरे ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा नकुल बानियाँले शिक्षकले विद्यार्थी घोकाउने भन्दा पनि सिक्ने वातारण र जिज्ञासा बढाउने कार्य गर्नुपर्नेमा जोड दिँदै पाठ्यपुस्तक अभाव भए पनि पाठ्यक्रमका आधारमा पढाउनुपर्ने बताए ।
मनोवैज्ञानिक डा गोपीलाल न्यौपानेले विद्यामान शिक्षा नीति र परीक्षा प्रणालीमा पुनरावलोकन गर्न नसकिए विद्यार्थीमा निरासा बढ्ने बताए ।