
काठमाण्डु, २२ चैत – भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान डाई क्वाङ नेपालको तीनदिने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका छन् ।
सद्भावना भ्रमणमा २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ट्रान नेपाल आएका थिए ।
नेपाल र भियतनामबीच विद्यमान सम्बन्ध अझ सुदृढ तुल्याउन, अन्तरदेशीय सुरक्षा सहयोग विस्तार तथा लुम्बिनीको विकासमा सहायताका सम्भावना पहिल्याउन मन्त्री ट्रान नेतृत्वको टोली नेपाल भ्रमणमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र सुरक्षा निकायका उच्च अधिकारीसँग भियतनामी प्रतिनिधिमण्डलले शुक्रबार बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
प्रतिनिधिमण्डलमा नेपालका लागि भियतनामका गैरआवासीय राजदूत नुयेन थान टान पनि थिए ।
नेपाल र भियतनामबीच २०३२ सालमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सुरक्षा मन्त्री ट्रानलाई विमानस्थलमा परराष्ट्र र गृह मन्त्रालयका सहसचिव क्रमशः अर्जुनकान्त मैनाली र शङ्करप्रसाद कोइराला तथा शिष्टाचार अधिकृत विजयकुमार राउतले बिदाई गरे ।
नेपालमा उक्त मुलुकको दूतावास नभएकाले मन्त्री ट्रानको भ्रमणको आवश्यक व्यवस्था मिलाउन नयाँदिल्लीस्थित दूतावासका कूटनीतिक कर्मचारी पनि भ्रमण दलमा संलग्न थिए ।