
काठमाण्डु, २२ चैत – नेपाली काँग्रेसले एमाओवादीलाई राजनीतिक समितिको नेतृत्व दिन सकिने संकेत गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै काँग्रेस नेता दिपकुमार उपाध्यायले राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिन काँग्रेस सकारात्मक रहेको बताए ।
‘एमाओवादी शान्ति प्रक्रियाको अभिन्न अंग हो, उसले संविधानसभा बाहिर रहेका असन्तुष्ठ दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ उपाध्यायले भने, ‘त्यसैले पनि समितिको नेतृत्व एमाओवादीलाई दिन हामी सकारात्मक भएका हौं ।’ एमाओवादीले जसलाई संयोजक तोके पनि आफूहरुलाई मान्य हुने उनको भनाइ छ ।
साथै उनले २६ सभासदको मनोनयन, रिक्त संवैधानिक निकायमा नियूक्ती, योजना आयोगका उपाध्यक्ष, सचिवहरुको पदस्थापना र मन्त्री परिषदको विस्तार यसै साता हुने बताए ।
त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न दलका शिर्ष नेताहरुसँग आन्तरिक रुपमा छलफल समेत गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले सरकारको कार्यशैली प्रति ब्यङ्ग्य गर्दै सरकारले आफैं बोलेका कुराहरुलाई कार्यान्वयन गर्न नसकेर जनतालाई झुक्याएको आरोप लगाए ।
शान्ति प्रक्रियालाई टुङ्ग्याउन छाडेर सरकार बल गरेर द्धन्द निम्त्याउने योजनामा लागेको आरोप लगाउँदै उनले यस्तै अवस्था कायम रहे मुलुक गम्भीर दुर्घटनामा फस्ने र त्यसको जिम्मा सरकार र सत्तारुढ दलहरुले लिनु पर्ने चेतावनी दिए ।
यस्तै राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले राप्रपा नेपालको संविधान निर्माण गर्ने फास्ट ट्रयाक कार्यतालिकाल अनुसार नै संविधानसभाले संविधान निर्माणको कार्यतालिका ल्याएको भए पनि हिन्दु राष्ट्र, राजसंस्था र संघीयतालाई जनमत संग्रहबाट टुङ्ग्याउने संवैधानिक ब्यवस्था हुँदा हुँदै पनि सो विषय कार्यतालिकाबाट हटाएकोमा व्यक्त गरे ।