
धनगढी, २२ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमालास्थित शिवगङ्गा नदीमा निर्माण गरिएको पक्की पुलको पिलर धस्सिएको पाँच महिनासम्म पनि मर्मत हुन नसक्दा आवागमनमा समस्या उत्पन्न भएको छ ।
पुलका सातवटा पिलरमध्ये दुई पिलर धस्सिएपछि गएको कात्तिक महिनादेखि पुलमाथिबाट यातायातका साधन आवतजावत बन्द भएको छ ।
करिव दुई २५८ मिटर लामो उक्त पुल दुई वर्षअघि पनि धस्सिएकोमा करिब रु १५ लाख खर्च गरेर पिलर उठाई यातायात सुचारु गरिएको थियो ।
पुल मर्मत नहुँदा यातायातका साधन र यात्रुहरु घुमाउरो बाटो हँुदै नदीमा बनाइएको वैकल्पिक बाटोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
पुलको पिलरमुनि देखिएको पानीको मुहानको समस्याका कारण बालुवा र माटो बगेर जाने भई पिलर धस्सिने समस्या देखिएको डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख सन्तोषकुमार कर्णले बताए ।
पुलको पुनः निर्माणको पहल भइरहेको र यसका लागि रु आठ करोड खर्च लाग्ने जानकारी उनले दिए ।
नेपाल–भारत सहयोगअन्तर्गत भारत सरकारको सहयोगमा भारतकै निर्माण कम्पनी ग्यामन इन्डिया लिमिटेडले यो पुलसमेत पूर्व पश्चिम राजमार्गको कोहलपुरदेखि अत्तरिया सडकखण्डमा पर्ने २२ वटा नदी तथा खोलामा पुल निर्माण गरेको थियो ।