
काठमाण्डु, २२ चैत – नेपाल विपद्का रुपमा विश्वमै उच्च जोखिममा रहेको सन्दर्भमा त्यसबाट बच्न पूर्व तयारी, उद्धार र पुनःस्थापनाका लागि नयाँ ऐनको खाँचो औँल्याइएको छ ।
दक्षिण एसियामै पहिलोपटक २०३९ मा ल्याइएको दैवीप्रकोप उद्धार ऐनले विपद्पछिको उद्धारमा मात्रै जोड दिएकाले पूर्व तयारीमा ध्यान दिनुपर्ने भएकाले विपद् व्यवस्थापनसम्बन्धी ऐन ल्याउनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिए ।
विपद् आमजनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसबारेमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि सहभागीहरुको सुझाव रहेको थियो ।
विपद् व्यवस्थापनमा केन्द्रित रहेर वाचडग मिडिया प्रालिले नेपाल टेलिभिजनमार्फत सञ्चालन गरेको सङ्कल्प कार्यक्रमले ५२औँ भाग पूरा गरेको सन्दर्भमा यहाँ आयोजित ‘विपद्का सवालहरु र सञ्चार माध्यमको भूमिका’ विषयक गोष्ठीका वक्ताहरुले विपद्को बारेमा जनचेतना अभिवृद्धिमा सञ्चारमाध्यमलाई उपयोग गर्न सकिने धारणा व्यक्त गरे ।
गोष्ठीमा सभासद् गङ्गाधर तुलाधरले विपद् जोखिम न्यूनीकरणमा गरिने प्रयास आफैँमा लगानी भएकाले राज्यले यसमा लगानी गर्न हिच्किचाउन नहुने बताउँदै विपद् व्यवस्थापनसम्बन्धी ऐन छिट्टै पारित गरिने विश्वास व्यक्त गरे ।
वाचडग मिडियाका वरिष्ठ सल्लाहकार डा पियुष मिश्रले विपद्का हिसाबले नेपाल विश्वमा २०औँ स्थानसम्म रहेको उल्लेख गर्दै त्यसमा पनि भूकम्पीय हिसाबले ११औँ, पानीजन्य प्रकोपबाट ३०औँ स्थानमा रहेको जानकारी दिए ।
उनले नेपालका करिब ९० प्रतिशत जनता कुनै न कुनै विपद्को जोखिममा रहेको र कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत विपद्मा नोक्सानी हुने गरेको विवरण प्रस्तुत गरे ।
नेपाल टेलिभिजनका कार्यकारी निर्माता टङ्क उप्रेतीले विपद् जोखिम न्यूनीकरणमा टेलिभिजनबाट प्रसारित कार्यक्रममध्ये सङ्कल्प कार्यक्रम उत्कृष्ट रहेको बताए ।
गोष्ठीमा सहरी विकास मन्त्रालयका सहसचिव सुरेश आचार्यले प्रकोपलाई अझै विकाससँग जोडेर नहेरिँँदा विकाससँगै विनासका घटना बढ्दै गएको बताए ।
अर्थविद् डा चन्द्रमणि अधिकारीले नेपालमा प्राकृतिकभन्दा पनि मानव सिर्जित प्रकोपको खतरा उच्च रहेको बताउँदै विपद् न्यूनीकरणमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिए ।
सो अवसरमा वाचडग मिडियाका अनुसन्धान अधिकृत ओमप्रकाश घिमिरे, कार्यक्रम प्रस्तोता कल्पना भण्डारीले २०६९ चैतदेखि सञ्चालनमा आएको विपद् व्यवस्थापनमा केन्द्रित सङ्कल्प कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने बताए ।