एक वडा एक जनस्वास्थ्यकर्मीको नीति कार्यान्वयनको माग

काठमाण्डु टुडे २०७० चैत २२ गते ७:०९ मा प्रकाशित

काठमाण्डु, २२ चैत – जनस्वास्थ्य अधिकृत तहको विज्ञापन शीध्र खुलाउन पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जनस्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

लोकसेवा आयोगले विगत पाँच वर्षदेखि सो पदमा कुनै विज्ञापन सार्वजनिक नगरेको भन्दै उनीहरुले यसले मन्त्रालय तथा आफ्नो पेसागत सुरक्षामा समस्या आएको गुनासो पोखे ।

नेपाल जनस्वास्थ्य सङ्घको ११औँ अधिवेशनका सहभागीहरुले यस्तो गुनासो गर्दै ‘एक वडा एक जनस्वास्थ्यकर्मी’ नीति कार्यान्वयन गर्न मन्त्रालयसँग मागसमेत गरे ।

जनस्वास्थ्य विषयमा स्नातक गर्नेहरुको सङ्ख्या हालसम्म करिब पाँच हजारको हाराहारिमा पुगेको छ । उपत्यकाभित्र र बाहिर गरी करिब २५ वटा कलेजमा यस विषयको अध्ययन अध्यापन भइराखेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले अधिवेशनको उद्घाटन गर्दै जनस्वास्थ्यकर्मीको खाली दरबन्दी पूरा गर्न मन्त्रालयले सम्बन्धित निकायसमक्ष पहल गर्ने बताए ।

उनले प्राविधिकतर्फको ११ तहमा जनस्वास्थ्यको सिट सङ्ख्या थप गर्न मन्त्रालयले पहल गर्न लागिरहेको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जनस्वास्थ्य र चिकित्सकबीचमा समन्वयको आवश्यकता आँैल्याए ।

समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले छिट्टै नयाँ कार्यक्रम ल्याउन लागेको मन्त्री अधिकारीले जानकारी दिए । सो अवसरमा जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत प्राध्यापक योगेन्द्र प्रधानाङ्गलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले दिगो रुपमा प्रतिफल दिने भएकाले सरकारले यस क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।

मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सका सहप्राध्यापक दुर्गा मिश्रले लोकसेवा आयोगबाट जनस्वास्थ्य अधिकृत तहमा खुला विज्ञान नगरिँदा पेसागत सुरक्षामा समस्या आएको विचार राखे ।

परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा किरण रेग्मीले ग्रामीण तहमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने काममा जनस्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

संघका अध्यक्ष भोगेन्द्रराज डोटेल, पूर्व अध्यक्ष लक्ष्मीरमण वन र स्वास्थ्यकर्मी युनियनका अध्यक्ष रामजी घिमिरेले जनस्वास्थ्य र चिकित्सक क्षेत्रमा मन्त्रालयले अलगअलग दृष्टिकोणले काम गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us