संविधानसँगै विकासको मूल फुट्छ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत २१ गते १२:५९ मा प्रकाशित

Sushil-Koiralaललितपुर, २१ चैत – प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाँ संविधान घोषणासँगै विकासको मूल फुट्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै कोइरालाले एक वर्षभित्र देशले नयाँ संविधान पाउनेमा कुनै शंका नगर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेकाले जतिसक्दो छिटो स्थानीय निर्वाचन गराउन सरकार तत्पर रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले देश र जनताको हितको लागि काम गर्नु नै सरकारको एक मात्र उद्देश्य रहेको बताउँदै यसतर्फ सहयोग गर्न वुद्विजीवीलाई आग्रह गरे ।

सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थाको कठिन यात्रा पार गर्न काँग्रेस सक्षम रहेको बताउँदै प्रजातान्त्रिक शक्तिहरुबीचको एकता नै अहिलेको खाँचो रहेको औँल्याए ।

विगतमा पनि काँग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेको प्रसङ्ग उल्लेख गर्दै यसपटक पनि आफ्नो पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा संविधान जारी हुने विश्वास व्यक्त गरे ।

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले बहुुलबादमा आधारित समाजवाद काँग्रेसको मूल कार्यसूची रहेको बताए ।

समाजका पूर्व अध्यक्ष हरिहर दाहालले साधारणसभासँगै नयाँ नेतृत्वको चयन सर्वसम्मत रुपमा आउनेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले सबै क्षेत्रबाट समावेशी ढङ्गमा नयाँ नेतृत्वको चयन गर्नुपर्नेमा जोड दिए ।

प्रजातान्त्रिक बिचार समाजको आह्वान, शान्ति, समृद्वि र लोकतान्त्रिक संविधान भन्ने मूल नाराका साथ समाजको अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए ।

सोही अवसरमा लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील विभिन्न वुद्विजीवीहरुलाई सम्मान गरिएको थियो भने समाजद्वारा प्रकाशित चिन्तन नामक पत्रिकाको विमोचन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us