
बाँके, २१ चैत – ठेकेदार कम्पनीको ढिला सुस्तीका कारण नेपालगन्ज–बघौडाअन्तर्गतको हुलाकी सडक निर्माण कार्य सुस्ताएको छ ।
भारत सरकारको अनुदान सहयोगमा बाँकेको नेपालगन्ज–बघौडासहित बर्दिया र दाङमा हुलाकी सडक निर्माणको काम थालिएको हो ।
सडक निर्माण कार्य यही महिनाभित्र सक्नुपर्ने भए पनि अहिलेसम्म १५ प्रतिशत पनि काम पूरा हुन सकेको छैन् । सडक निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लिमिटेडले नेपालगन्ज–बघौडा ४४ दशमलव ६ किलोमिटर बर्दियाको भुरिगाउँ–मुर्तिया ३५ दशमलव ५ किलोमिटर र दाङको लमही–कोइलावास ३३ किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ ।
सो कम्पनीले यी तीनै सडक निर्माण गर्न सन् २०११ को अन्त्यतिर सम्झौता गरेर काम थालेको थियो । ठेकेदार कम्पनीले सुस्त गतिमा काम सञ्चालन गरेका कारण तोकिएको समयभित्र सडक निर्माण हुन नसकेको हो ।
तीन वटै सडक निर्माणका लागि ठेकेदार कम्पनीले करिब रु एक अर्ब ७० करोड लागतमा सम्झौता गरेको हुलाकी सडक योजना नेपालगन्ज प्रमुख वकिल झाले बताए ।