
काठमाण्डु, २१ चैत – बारुदी सुरुङ व्यवस्थापनमा उल्लेखनीय योगदान दिए वापत शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नेपाली सेनालाई कदरपत्रबाट सम्मान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपाली सेनाका इञ्जिनियरिङ निर्देशनालयका प्रमुख सहायक रथी विजेन्द्र गौतमलाई शुक्रबार आयोजित एक कार्यक्रममा सो कदरपत्र प्रदान गरे ।
विगतका द्वन्द्वका समयमा विभिन्न ५३ स्थानमा बिछ्याएका बारुदी सुरुङलाई सेनाले कुशलतापूर्वक व्यवस्थापन गरी नष्ट गरेको थियो । साथै सेनाले अन्य सुरक्षा निकायको सहयोगमा मुलुकभर ३४१ स्थानमा राखिएको घरेलु तवरले निर्मित विस्फोटन पदार्थलाई सफाइ गर्ने काम सम्पन्न गरेको थियो । विसं २०६८ जेठ ३१ गते नेपाललाई बारुदी सुरुङमुक्त देश घोषणा गरिएको थियो ।
द्वन्द्वका समयमा प्रयोग भएका धराप र बारुदी सुरुङबाट हुन सक्ने धनजनको जोखिमलाई निर्मूल गर्नु शान्ति प्रक्रियाको अभिन्न अङ्गका रुपमा लिइएको छ । विस्तृत शान्ति सम्झौतामा यससम्बन्धी विषय उल्लेख गरिएको छ । हाल पनि नेपाली सेनाले भेटिएका विस्फोटन पदार्थलाई तत्काल नष्ट गर्ने कामको अगुवाइमा गरिराखेको छ ।
सो अवसरमा मन्त्री आचार्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयकलाई पुनः संशोधन गरी सरकारले ःव्यवस्थापिका–संसद्मा पेस गर्न लागेको जानकारी दिए ।
उनले सो विधेयक संशोधनका क्रममा दलहरुबीचमा परामर्श तथा छलफल भइरहेको जानकारी दिँदै विधेयकलाई फास्ट ट्रयाक (द्रुतमार्ग) द्वारा पारित गराउने सरकारको नीति रहेको बताए ।
बारुदी सुरुङ सचेतना तथा माइन एक्सन सहायतासम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयलद्वारा आयोजित सो कार्यक्रममा विगतको द्वन्द्वबाट पीडितलाई सम्मान पनि गरिएको थियो ।
मन्त्रालयका सचिव धनबहादुर गुरुङले द्वन्द्वका समयमा प्रयोग भएका धराप र बारुदी सुरुङबाट हुनसक्ने जोखिमको अन्त्य गर्न, द्वन्द्वका पीडितलाई पुनःस्थापना तथा राहतका लागि मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।
सम्मानित प्रमुख सहायक रथी गौतमले बारुदी सुरुङ तथा विस्फोटन पदार्थका विरुद्धमा समुदाय तथा आम जनतालाई चेतना गर्नु आवश्यक रहेको बताए ।