मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत २१ गते ७:२२ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २१ चैत – प्रधानमन्त्री सुशील कोइरालाले मुलुक निर्माणको महायज्ञमा इञ्जिनियरहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

डिप्लोमा इञ्जिनियर्स एसोसिएसन, नेपाल (डिन) को १२ औँ राष्ट्रिय सम्मेलनको राजधानीमा उद्घाटन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् ।
‘राष्ट्र निर्माणमा तपाईहरुको ठूलो जिम्मेवारी र भूमिका छ, आज त्यसको झनै खाँचो छ,’ कोइरालाले भने, ‘कसरी मुलुकमा अमनचयन, शान्ति र स्थायित्व कायम गरी मुलुकको विकासमा अग्रसर हुने भन्नेतर्फ सबै जुट्न जरुरी छ ।’

उनले ऊर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न विदेशी दाताहरु उत्सुक रहेका छन भन्दै त्यसका निम्ति उचित वातावरण निर्माण गर्न शान्ति र स्थायित्व चाहिने दोहो¥याए ।

प्रधानमन्त्री कोइरालाले प्रजातन्त्र र मानव अधिकारका लागि आफूले जीवन समर्पण गरेको उल्लेख गरे ।

मुलुकको विकास निर्माणमा जस्तै भ्रष्टाचारमुक्त सुशासन कायम राख्न पनि इञ्जिनियरहरुको महत्वपूर्ण भूमिका हुने भन्दै यसमा सरकारी र निजी इञ्जिनियर समन्वयकासाथ लाग्नुपर्नेमा जोड दिए ।

एक अर्को प्रसङ्गमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान बनाएरै छाड्ने भन्दै त्यसलाई कसैले खलल पु¥याउन खोजे जनताले नछाड्ने बताए ।

डिनका अध्यक्ष तथा सार्क डिप्लोमा इञ्जिनियर्स फोरमका सहअध्यक्ष लक्ष्मणबहादुर रायमाझीले राष्ट्र निर्माणका संवाहक इञ्जिनियरहरुलाई कानुनी रुपमा व्यवस्थापन र नियमन गर्न डिप्लोमा इञ्जिनियर काउन्सिल ऐन ल्याउन सरकारसँग आग्रह गरे ।

उनले डिप्लोमा इञ्जिनियरहरुले ३३ वर्षे यात्रामा प्रविधि र निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको उल्लेख गर्दै गुणस्तरीय निर्माण र व्यावसायिक पारदर्शिताका लागि राज्यले इन्जिनियरहरुको विषयमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
कार्यक्रममा ‘राष्ट्र निर्माणमा सहरी योजना र घरजग्गा व्यवस्थापनको महत्व’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तीनदिनसम्म चल्ने सम्मेलनले नयाँ कार्यसमिति चयन र आगामी रणनीति तय गर्ने डिनका सचिव प्रदीप श्रेष्ठले बताए । सम्मेलनमा करिब २५ हजारको सङ्ख्यामा रहेका डिप्लोमा इञ्जिनियरहरुको समस्या र दिगो व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

सो अवसरमा डिनको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटालाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us