
बर्दिवास, २१ चैत । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रका १२ गाविसमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुख्य स्रोत इनार र चापाकल धमाधम सुक्न थालेपछि जिल्लाको उत्तरवत्र्ती क्षेत्रका १२ गाविस बस्तीमा खानेपानीको हाहाकार भएको हो ।
विगतमा वैशाख–जेठ महिनामा इनार तथा कल सुक्ने गरेपनि यसपालि भने चैत मध्यदेखि नै सुकेकाले खानेपानीको हाहाकार मच्चिएको उत्तरवत्र्ती क्षेत्रका बासिन्दाको भनाइ छ ।
जिल्लाका पशुपतिनगर, बिजलपुरा, किसाननगर, बेलगाछी, रामनगर र लक्ष्मीनियाँ गाविसका इनार सुकेपछि खानेपानीका लागि खोला र छिमेकी गाउँ जानु परेको रामनगरका बासिन्दा एवम् जिविस महोत्तरीका पूर्वसदस्य रत्नबहादुर कार्कीले बताए ।
खानेपानीका लागि चापाकल मुख्य स्रोत रहेको जिल्लाको भङ्गाहा गाविसमा पनि कलहरु सुक्दै गएपछि समस्या बढेको छ । चैत लागेदेखि नै कल सुक्न थालेपछि खानेपानी लिन बडहरी र रातुखोला धाउनु परेको भङ्गाहा–४ की बासिन्दा मधुमती सहनीले बताए ।
चैतको चौथो सातासम्म गाविसका ६० प्रतिशत चापाकल सुकी सकेका गाविस सचिव प्रमोदकुमार यादवको भनाइ छ ।
यसपालि वर्षायाममा राम्रो पानी नपरेको र हिउँदे वर्षा पनि नभएकाले पानीका स्रोतहरु चाँडै सुक्न थालेका बुढापाकाको भनाइ छ । वन जङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टि हुने क्रम बढेकाले पानीका मुहान सुक्ने र बाढीले पुरिने गर्दा समस्या बढेको सो गाविसका पूर्व अध्यक्ष नथुनी महतोले बताए ।
जिल्लाको सुदूरउत्तरवत्र्ती क्षेत्रका खयरमारा, माइस्थान, गौरीवास, हात्तीलेट र बर्दिवास गाविसमा पनि खानेपानीको समस्या बढेको छ । रातु नदीको मुहानबाट ल्याइएको पानी भण्डारण गरेर धारामार्फत वितरण प्रणाली अपनाइएको यी गाविस बस्तीमा नदीको पानी सुक्दै गएपछि चैत मध्यदेखि नै समस्या सुरु भएको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले बताए ।
यसैबीच जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानीका मुहानको संरक्षण र सरसफाइमा ध्यान दिन उपभोक्तासँग अपिल गरेको छ । मुहानको संरक्षण र निरन्तरको सफाइले मुहानमा पानी सुक्नबाट बचाउन सकिने भएकाले यसका लागि सचेतना अभियान नै सुरु गरिएको कार्यालयका प्रमुख डिभिजन इञ्जिनियर रामबाबु यादवले बताए ।