भारतीय एसएसबीको धम्कीले विद्यालय बनेन

काठमाण्डु टुडे २०७० चैत २१ गते ६:५० मा प्रकाशित

कञ्चनपुर, २१ चैत – भारतीय सीमा सुरक्षा बल (एसएसबी) को धम्कीका कारण कञ्चनपुरको त्रिभुवनबस्ती– ३ मा निर्माण हुँदै गरेको बालजागृति प्राथमिक विद्यालय भवनको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।

निर्माण हुन लागेको विद्यालय भवन सीमा क्षेत्रमा पर्ने भन्दै विहीबार भवन निर्माण स्थलमा पुगेका एसएसबीका जवानले निर्माण कार्य रोक्न लगाएका हुन् । सीमा क्षेत्रमा रहेका सीमा स्तम्भ नं १९९ र २०० भन्दा ७०० मिटरभित्र नेपाली भूमिमा विद्यालय भवन निर्माण भइरहेको छ ।

भारतीय उत्तर प्रदेश लखिमपुर खिरिका एसडिएम, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायतले निर्माणाधीन भवनको निरीक्षण गरी सीमा क्षेत्रको विवादास्पद क्षेत्रमा भवन निर्माण कार्य भइरहेकाले रोक्न आग्रह गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लालबहादुर धामीले बताए ।

यसबारे तत्कालै प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई अवगत गराएका छौँ प्रहरी निरीक्षक धामीले भने, ‘तत्कालका लागि भवन निर्माण कार्य रोकिएको छ ।’ स्थानीय बासिन्दाले भने विद्यालय भवन नेपाली भूमिमै बनेकाले भवन निर्माण कार्य रोक्न नहुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us