
काठमाण्डु, २० चैत – प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि फ्रान्सका राजदूत मार्टिन वासिरियुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र फ्रान्सबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले देश संविधान निर्माणको दिशामा अघि बढेको र एक वर्षभित्र सो कार्य पुरा हुने भन्दै अब मुलुक शान्ति, स्थिरता र विकासको गतिमा अघि बढ्ने बताए ।
स्थानीय निर्वाचनका लागि सरकार अग्रसर रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रियामा फ्रान्सबाट प्राप्त सहयोगको प्रशंसा गरे ।
सो अवसरमा राजदूत मार्टिनले नेपाल र फ्रान्सबीचको ६५ वर्ष लामो दौत्य सम्बन्धको स्मरण गर्दै नेपालमा फ्रान्सका लगानीकर्ताको लगानी बढ्ने विश्वास व्यक्त गरे ।
उनले संविधान निर्माण र स्थानीय निकायको निर्वाचन सम्पन्न हुनेमा आशावादी रहेको बताए ।