
काठमाण्डु, २० चैत – मलेसियाका गृहमन्त्री डा. अहमद जालिद हमिदी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार अपराह्न मकाउतर्फ प्रस्थान गरे ।
नेपाल भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग बेग्लाबेग्लै भेटवार्ता गरे ।
ती भेटवार्तामा उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति मलेसियाली लगानी, कृषि तथा पर्यटन क्षेत्रमा सहकार्य, थप नेपाली कामदारलाई अवसर दिने, आतङ्कवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण, कारागारमा रहेका नेपालीलाई रिहा गर्ने विषयमा विचारविमर्श गरे ।
मलेसियाली गृहमन्त्रीलाई विमानस्थलमा परराष्ट्र र गृह मन्त्रालयका सहसचिवहरू क्रमशः अर्जुनकान्त मैनाली र शंकरप्रसाद कोइराला र मलेसियाली दूतावासका कार्यबाहक राजदूत फादी अदिल्लाहले विदाइ गरे ।