करोडौँ मूल्यका अवैध टायर भित्रिँदै

काठमाण्डु टुडे २०७० चैत २० गते ११:१७ मा प्रकाशित

वीरगन्ज, २० चैत – सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले मासिक करोडौँ रुपैया“ मूल्य बराबरका टायर अवैध रूपमा नेपाल भित्र्याउने गरेका छन् ।

चर्को भन्सार शुल्कका कारण सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा उनीहरूले अवैध रूपमा टायर नेपाल भित्र्याउने गरेका हुन् ।

अवैध रूपमा भित्रिने यस्ता भारतीय टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा एकमात्र स्वदेशी टायर उद्योग गोरखकाली रबर उद्योगका टायरहरूको व्यापार वीरगन्ज लगायतका सीमावर्ती बजारमा खस्कदै गएको छ भने टायर तस्करीका कारण वैध रूपमा नेपाल भित्रिने भारतीय टायरहरूको व्यापार पनि संकटमा परेको छ ।

गोरखकाली रबर उद्योगका टायरको अधिकृत बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, अञ्चल कार्यालय वीरगन्जले देशमै सबैभन्दा बढी वीरगन्ज नाकाबाटै भारतीय टायरहरूको चोरीपैठारी हुने गरेको दाबी गरेको छ ।

कार्यालयका अनुसार, भारतीय टायरको चोरीपैठारीका कारण स्वदेशी उद्योगका टायर व्यापार नराम्रोसँग खस्केको छ । पाँच वर्षअघिसम्म मासिक करिब एक हजारदेखि एक हजार ५०० सम्म स्वदेशी टायरको व्यापार हुने गरेकोमा अहिले आएर सवारी साधन र मालबाहक गाडीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भए पनि स्वदेशी टायरको व्यापार मुस्किलले मासिक ३०० सम्म हुने गरेका छन् ।

भारतीय टायरको अवैध आयातले गर्दा स्वदेशी टायर मात्र होइन्, वैध रूपमा नेपाल भित्रिने भारतीय टायरहरूको व्यापार पनि संकटमा परेको छ, भारतीय टायरका बिक्रेताहरूले भने– भारतीय टायरको अवैध आयातका कारण अघिल्लो आर्थिक वर्ष (२०६८/०६९) को तुलनामा गत वर्ष वैध रूपमा भित्रिएको भारतीय टायरको व्यापार ६० प्रतिशतले कमी आएको छ ।

भारतमा उत्पादित एमआरएफ, अपोलो, विरला, गुडइयर, सीएट र विक्रान्त टायरको माग नेपालमा उच्च रहेको छ । वैध तरिकाबाट आयात गर्दा भारतीय सीमावर्ती बजारको तुलनामा यहाँ २५ देखि ३० प्रतिशतसम्म मूल्य बढी पर्न जान्छ ।

यसले गर्दा सीमावर्ती क्षेत्रका ग्राहकले नेपाली बजारभन्दा भारतीय बजारमा टायर खरिद गरेर चोरीका माध्यमबाट नेपाल भित्र्याउने गर्छन् । हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध व्यापार गर्नु पर्दछ, एक व्यवसायीले भने, खुल्ला सिमाना भएका कारण अवैध आयात गर्न त्यत्ति अप्ठ्यारो परेको छैन ।

टायरलाई १० प्रतिशत ढुवानी खर्च दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पु¥याइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले व्यहोर्नुपर्ने हुन्छ ।

टायरको आयात गर्दा मोटरसाइकल, ट्रक र मिनी ट्रकमा प्रयोग हुने टायरमा २५ प्रतिशत र ट्याक्टरमा प्रयोग हुने टायरमा १५ प्रतिशत भन्सार महसुल लाग्ने गर्दछ । तर छिमेकी राष्ट्र भारतमा मोटरसाइकल, ट्रक र मिनी ट्रकमा प्रयोग हुने टायरमा १० प्रतिशत र ट्याक्टरमा प्रयोग हुने टायरमा आठ प्रतिशत मात्र अन्तःशुल्क लाग्ने गरेको सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

अहिले नेपालमा करिब ४५ हजारमा एक जोडा स्वदेशी तथा भारतीय टायर पाइन्छ । त्यही भारतीय टायर सीमावर्ती भारतीय बजारमा खरिद गर्दा झन्डै १० हजारदेखि ११ हजारसम्म सस्तोमा पाइन्छ ।

सीमावर्ती भारतीय बजारमा सस्तोमा पाइने भएकाले भारतबाट सिमेन्ट किल्ङकर वा अन्य वस्तु बोकेर आउने मालबाहक ट्रक मात्र होइन, नेपालबाट भारततर्फ ढुङ्गा गिट्टी र बालुवा बोकेर जाने टिपर तथा इन्धन बोक्ने ट्याङ्करले समेत सीमावर्ती भारतीय बजार रक्सोलबाट फर्किदा त्यसमा लुकाएर वा नया“ टायर फेरेरसमेत टायरको अवैध व्यापार गर्दै आएको दाबी स्रोतको छ ।

टायरको वैध आयातलाई प्रोत्साहित गर्न र अवैध कारोबारलाई निरुत्साहित गर्न यसको भन्सार दरबन्दी भारतीय अन्तःशुल्कको हराहारीमा राख्नु पर्दछ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठले बताए ।

भारतबाट बर्सेनि ४० करोडभन्दा बढीको टायर आयात हुने गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा यो नाकाबाट २१ करोड आठ लाख मूल्य बराबरको टायर आयात भएको हो ।

गत आर्थिक वर्षमा रु ४२ करोड ९६ लाख मूल्य बराबरका विभिन्न खालका टायर आयात भएको थियो भने अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट रु ४६ करोड ३१ लाख मूल्य बराबरको टायर आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us