
काठमाण्डु, २० चैत – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपालको निर्माण कार्य अझै सम्पन्न नभएको बताएका छन् ।
रेडियो नेपालको ६४औं वार्षिकोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले रेडियो नेपालको स्थापनासँगै सुरु भएको आधुनिक नेपाल निर्माण कार्य संघीय लोकतान्त्रिक संविधान निर्माण पछि सम्पन्न हुने बताए ।
एक वर्षभित्र नयाँ संविधान निर्माणका लागि संविधानसभा नियमावली तयार भई संविधानसभाका समितिहरु गठन हुनाका साथै विगतको संविधानसभाले गरेका कार्यको स्वामित्व ग्रहण गर्ने कार्यसमेत सम्पन्न भएकाले संविधान निर्माणको कार्य अगाडि बढेको उनले बताए ।
सूचना तथा सञ्चारमन्त्री डा रिजालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा रेडियो नेपालको अहम् भूमिका हुने चर्चा गर्दै जनताको सूचनाको हकलाई जोगाउन दूरदराजसम्म रेडियो नेपालको उपस्थिति आवश्यक रहेको उल्लेख गरे ।
निजी सञ्चारमाध्यमहरुलाई प्रतिस्पर्धी बनाइराख्न, जनताको वाक स्वतन्त्रतालाई जोगाइराख्न र जनतालाई सुसूचित गर्ने सामाजिक उत्तरदायित्व निर्वाहका लागि रेडियो नेपालको अपरिहार्यता भएकाले यसले समयअनुसार आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा रेडियो नेपालका अध्यक्ष तथा सञ्चार मन्त्रालयका निमित्त सचिव सुशीलकुमार ओझा, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक रमेशजङ्ग कार्कीलगायतले रेडियो नेपाललाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा विभिन्न विधाका विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।