स्वामित्व ग्रहण नै संविधान निर्माणको आधार : उपसभामुख घर्ती

काठमाण्डु टुडे २०७० चैत २० गते १०:०७ मा प्रकाशित

Onsari Ghartiरोल्पा, २० चैत – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएकी छन् । पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने उनले बताईन् ।

क्रान्तिकारी पत्रकार संघले विहीबार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण हुनु नै संविधान बन्ने मुख्य आधार भएको बताईन् ।

लोकतान्त्रिक संविधान पाउनका लागि जनताले निकै लामो समयदेखि प्रतीक्षा गरिरहेकाले जनतालाई त्यस्तो संविधान दिन दलहरु एक हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

संविधानसभाको निर्वाचनमा दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाइसकेकाले पनि यस विषयमा दलहरुले मतभेद गर्न नहुने घर्तीले बताईन् ।

रोल्पा क्षेत्र नं २ का सभासद्समेत रहेकी उपाध्यक्ष घर्तीले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्नुको विकल्प नरहेको बताईन् ।

संविधानसभामा महिलाको सहभागिता निकै कम भएकाले कम्तीमा ३३ प्रतिशत महिला सहभागिताका लागि आफूले दबाब दिइरहेको उनको भनाइ छ ।

पत्रकारहरुको जिज्ञाशामा उनले रोल्पा र रोल्पालीको विकासका लागि आफूले पहल गरिरहेको बताउँदै रोल्पाको विकासका लागि भनेर आएको रकम कामै नगरी फ्रिज भएर जाने गरेकाले त्यो परिपाटी पूर्ण रुपमा अन्त्य गरिनुपर्नेमा जोड जोड दिईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us