
दाङ, २० चैत– काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।
दाङको घोराहीमा बिहीबार भएको एक कार्यक्रममा उनले जनताको पिरमर्का बुझेर काम गर्नुपर्ने सरकारले उल्टै जनतालाई निराश बनाएको बताए ।
कोइरालाले काँग्रेस नेतृत्वको सरकारले गरिब जनतालाई प्रत्यक्ष मार पर्ने मूल्यवृद्धि गरेको भन्दै तीव्र असन्तुष्टि जनाए ।
‘उदार अर्थतन्त्र र समाजवादीको नीति लिएको काँग्रेस नेतृत्वको सरकारले जनता निराश पार्ने काम गरेको छ’, प्रधानमन्त्री सुशील कोइरालाका पारिवारिक सदस्यसमेत रहेका उनले भने, ‘सरकारको नीति गरिब जनतालाई राहत दिने हुनुपर्छ ।’
अर्को एक फरक प्रसंगमा उनले उच्चस्तरीय राजनीतिक समिति गठनको औचित्य नरहेको बताए । दलहरुबीच समितिको नेतृत्व कसले गर्ने भन्ने विवाद चर्किएका बेला उनले संविधानसभामा दलका शीर्ष नेता सम्मिलित राजनीतिक संवाद सहमति गठन भइसकेकाले उच्चस्तरीय राजनीतिक समितिको औचित्य नरहेको बताएका हुन् ।