
सिरहा, २० चैत – जिल्ला शिक्षा कार्यालयले लिने जिल्लास्तरीय परीक्षाको कक्षा ८ को सबै विषयको प्रश्नपत्र आउट भएको छ ।
प्रश्नपत्र आउट भए पनि परीक्षा स्थगित गरिएको छैन । बिहिवार बिहान ११ बजेदेखि हुने अनिवार्य विज्ञान विषयको प्रश्नपत्रको फोटोकपी दुई दिनअघिदेखि नै बजारमा बिक्री भइरहेको छ ।
सिरहाको गोलबजार, लहान, मिर्चैया, सिरहा सदरमुकामलगायतका बजारमा रु १० देखि रु ५० सम्ममा प्रश्नपत्रको फोटोकपी बिक्री भइरहेको छ । प्रश्नपत्र आउट भएपछि जिल्ला शिक्षा अधिकारी दीलिप ठाकुर संयोजक रहेका जिल्लास्तरीय परीक्षा समिति जिल्लाका केही विद्यालयमा अनुगमनसमेत गरेको छ तर कुन विद्यालयबाट प्रश्नपत्र आउट भएको भने खुल्न सकेका छैन ।
जिल्लास्तरीय परीक्षा समितिका सदस्य कासिन्द्र यादवले प्रश्नपत्र आउट भएको थाहा पाएपछि लहानस्थित देबआइडियल इङ्गलिस बोर्डिङ स्कुल, प्यारागन सेक्रेन्ड्री बोर्डिङ स्कुल, शिवम् इन्टरनेसनल बोर्डिङ स्कुललगायतका १२ वटाभन्दा बढी विद्यालयमा अनुगमन गरिएको बताए ।
उनले भने ‘जति विद्यालयमा अनुगमन गरेँ । कुनै विद्यालयबाट प्रश्नपत्र आउट भएको देखिएनन् । विद्यालयमा पठाइएको प्रश्नपत्रको एउटै पोका खुलेको फेला परेनन् ।’
समितिका सदस्य यादवले परीक्षा स्थगित गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।
यादवका अनुसार अहिले केही भन्न मिल्दैन तर छानबिन गरेर परीक्षाअगावै प्रश्नपत्र आउटको विषयको परीक्षा स्थगित पनि हुन सक्छ ।
लहानमा फोटोकपी बिक्री गर्ने एक पसलेले सिरहा सदरमुकामबाट प्रश्नपत्र ल्याइएर फोटोकपी बेच्ने गरेको जानकारी दिए ।