च्याउ खेती र लोकल कुखुरा पालनमा वाइसीएल नेता

काठमाण्डु टुडे २०७० चैत २० गते ३:२३ मा प्रकाशित

काठमाण्डु, २० चैत– एकीकृत माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएल नेवा: राज्य समिति अध्यक्ष रामप्रसाद chyauसापकोटाले च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका छन् ।

सापकोटाले भक्तपुरको बालकोटमा व्यवसायिक च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका हुन् । सापकोटाले वाइसीएल भक्तपुर अध्यक्ष मनोरथ खतिवडासँगको सहकार्यमा ६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् ।

उनको फर्ममा हाल २५ सय पोका च्याउ र करिब ४ सय लोकल कुखुरा छन् । च्याउको उत्पादन यसै सातादेखि बजारमा जान थालेको  छ ।

kukhuraकाम गर्ने कोही नराखेका कारण बिहान सबैरैदेखि राति अबेरसम्म फर्ममा बस्ने गरेका उनले कृषि कर्मबाट आत्मसन्तुष्टि मिलेको बताए ।

‘राजनीतिले मात्र खान दिँदैन’, सापकोटाले भने, ‘राजनीतिमा टिकिरहन पनि व्यवसाय गर्नुपर्दोरहेछ, यसबाट सन्तुष्ट छु ।’ च्याउ किन्न बालकोटदेखि गठ्ठाघरसम्मका उपभोक्ता फर्ममै आउन थालेको जानकारी उनले दिए ।

बजारमा फुटकर किन्दा प्रतिकिलो ग्राम २ सयसम्म पर्ने च्याउ फर्मबाट प्रतिकिलो एक सय ३० रुपैयाँमा बेच्ने गरेका छन् । सापकोटाले च्याउ र कुखुरा पालनसँगै तरकारी खेती पनि गरेका छन् । उनले फर्मबाटै गुन्द्रुक पनि बेचिरहेका छन् ।

केही समयपछि फर्मबाटै जिउँदो माछा बेच्ने योजना रहेको उनले सुनाए । पार्टीले कार्यकर्ता व्यवस्थापनका लागि ठोस योजना ल्याउन नसकेपछि पछिल्लो समय १० वर्षे सशस्त्र युद्धमा लागेका एकीकृत माओवादीका नेता कार्यकर्ता आफैं स्वरोजगार बन्न थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us