द्वन्द्वमा क्षतिग्रस्त प्रहरी कार्यालय पुन:निर्माण भएन

काठमाण्डु टुडे २०७० चैत २० गते १:५७ मा प्रकाशित

बागलुङ, २० चैत– सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त यहााको एक इलाका प्रहरी कार्यालय भवन अझै पुन:निर्माण हुन सकेको छैन ।

जिल्लाको बोहरागाउँ गाविसस्थित झिवाखोला इलाका प्रहरी कार्यालय १३ वर्षदेखि भौतिक पूर्वाधारविहीन अवस्थामा हुँदा दैनिक कामकाजमा समस्या परेको छ ।

द्वन्द्व समाप्तिपछिको लामो समयसम्म पनि भवनको पुन:निर्माण नहुादँ पुरानो हुलाक भवनमा राखेर इलाका प्रहरी कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । द्वन्द्वका बेला २०५७ चैत ३ गते तत्कालीन विद्रोही पक्षले आक्रमण गर्दा प्रहरी भवन पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो ।

यतिका लामो सयमसम्म पनि इलाका प्रहरी कार्यालय भवन पुन: निर्माण नहुँदा समस्या थपिएको र दैनिकजसो आउने मुद्दाको छानबिनका लागि आरोपीहरुलाई एकरात राख्ने ठाउँ पनि नभएको कार्यालयका इन्चार्ज राजकुमार श्रेष्ठले बताए ।
तेह्र जनाको दरबन्दी रहेको उक्त चौकीमा हाल दरबन्दीअनुसार प्रहरी नभएको र  कार्यालयको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई पनि दैनिक कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न हुने गरेको छ ।

जिल्ला सदरुमकामदेखि एक दिनको गाडी यात्रामा पुगिने बोहरागाउँ पश्चिम क्षेत्रको दुर्गम गाविस हो । वर्षांैसम्म पनि प्रहरी कार्यालय भवनको पुन:निर्माण नहुँदा परेको समस्याबारे स्थानीय राजनीतिक दल र सामाजिक अगुवाहरु बेखबरजस्तै बनेको स्थानीयको गुनासो छ ।

बोहरागाउा जस्तै अन्य गाविसमा रहेका प्रहरी चौकीहरु अहिलेसम्म पनि पुन:निर्माण हुन सकेका छैनन् । कतै भाडामा त कतै अन्य सरकारी भवनमा अस्थायी रुपमा प्रहरी कार्यालयहरु राखिएका छन् ।    नारायणस्थान गाविसमा रहेको इलाका प्रहरी कार्यालय भवन पनि हालसम्म क्षतिग्रस्त अवस्थामा रहेको छ ।

प्रहरीले नजिकै भाडामा कार्यालय सञ्चालन गर्दै आएको छ । अन्य क्षेत्रका प्रहरी चौकी र इकाईहरु पनि पुन:निर्माणको पर्खाइमा छन् । जिल्ला प्रहरी कार्यालयले सम्बन्धित निकायहरुमा जिल्लाको समस्याबारे अवगत गराइरहेको जनाएको छ । क्रमश: द्वन्द्वकालमा क्षतिग्रस्त बनेका प्रहरी कार्यालयहरुको पुन:निर्माणको काम अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us