
काठमाण्डु, १९ चैत – नेकपा एमालेका वरिष्ठ नेता तथा सभासद् माधवकुमार नेपालविरुद्ध संविधानसभा अदालतले निर्देशनको सक्कल फाइल र हवाइफायरसम्बन्धी विवरण पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ ।
नेपाल विरुद्ध परेको निर्वचन बदर गरिपाउँ भन्ने उजुरीमा सुनुवाई गर्दै संविधानसभा अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई जारी गरेको १० बुँदे निर्देशनको सक्कल फाइल आयोगबाट झिकाउन र रौतहट जिल्लाको मत्सरी गाविसस्थित संस्कृत उच्च माविको मतदान केन्द्र (क) र (ख) मा भएको हवाइफायरको कारण र परिणामको विवरण झिकाउन आदेश जारी गरेको हो ।
सभासद् नेपालका निकटतम् प्रतिद्वन्द्वी अजयकुमार गुप्ताले आयोगको निर्देशनको पालना नभएको र उक्त निर्वाचन केन्द्रमा हवाइफायर गरी मतदानमा धाँधली गरेकाले निर्वाचन बदर गर्न माग गर्दै गत मङ्सिर २३ मा उजरी दर्ता गराएका थिए ।
यसैगरी अदालतले सभासद् अशोककुमार मण्डल विजयी भएको सप्तरी जिल्ला–२ को निर्वाचन बदरको माग गर्दै निर्वाचन आयोगको सो निर्देशनको सक्कल फाइल, निर्वाचन अधिकृतले लेखेको पत्रको सम्बन्धमा आयोगबाट भएको कारबाही र बसाइन गाविसस्थित राजाजी रा प्रा वि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि आदेश दिएको छ ।
सभासद् मण्डलका निकटतम् प्रतिद्वन्दी अशोककुमार मण्डलले गरेको उजुरीका आधारमा अदालतले सो आदेश दिएको हो ।