मैले सरकारी जागिर खाएको होइन: प्रकाश

काठमाण्डु टुडे २०७० चैत १७ गते १५:०५ मा प्रकाशित

तपाईंले सरकारी जागिर खाएको चर्चा छ नि ?
मैले सरकारी जागिर खाएको भन्ने सरासर झुठ र कपोलकल्पित कुरा हो । कुरा नबुझ्नेले यसो भनेका हुन् ।

सरकारले नै तपाईंलाई सगरमाथा आरोहीको सम्पर्क अधिकृत तोकेको रहेछ नि त ?
त्यो कुनै जागिर होइन । खास गरी अप्रिलदेखि जुनसम्म सगरमाथा आरोहण गर्ने अवधि हो । त्यसका लागि मलाई सम्पर्क अधिकृत तोकेको हो । यो सरकारी जागिर होइन ।

यो सरकारी जाPrakash Dahalगिर भनेर जसरी प्रचार भइरहेको छ, यो के हो भन्ने कुरा बुझेका पर्यटन क्षेत्रसँग सम्वद्ध व्यक्ति वा पर्यटन मन्त्रालयका कर्मचारी कति हाँस्दा हुन् । यस्ता समाचारले हाम्रो पत्रकारिताको स्तर कति कमजोर छ भन्ने बुझाउँछ ।
खास कुरा के हो त ?
मिडियामा जसरी नकारात्मक रुपमा सरकारी जागिर खाएको भन्ने समाचार आइरहेको छ, कुरो त्यस्तो होइन । मैले सरकारी जागिर खाएको होइन । सगरमाथा आरोहणको सिजनमा सरकारले सम्पर्क अधिकृत तोक्छ । सम्पर्क अधिकृत हुन सगरमाथा आरोहणको अनुभव भएकाले सात दिने तालिम लिनुपर्छ ।

एकपटक सगरमाथा गएर आएपछि प्राय: सबैले त्यस्तो तालिम लिएका हुन्छन् । मैले पनि त्यो तालिम लिएको छु । सम्पर्क अधिकृत हुने योग्यता भनेको त्यही हो । कुरै नबुझी प्रकाश दाहालले सरकारी जागिर खायो भन्ने प्रचार गरेको सुन्दा अचम्म लाग्छ  ।

सम्पर्क अधिकृत हुन त अरु पनि लायक होलान्, तपाईंको सम्पर्क अधिकृत हुन प्रचण्ड पुत्रबाहेक के योग्यता छ त ?
सम्पर्क अधिकृतका रुपमा ९५ प्रतिशत सरकारी कर्मचारी नै जान्छन् । पाँच प्रतिशत मात्रै आरोहीहरुका तर्फबाट जाने हो । सगरमाथा आरोहण गरेर सम्पर्क अधिकृतको तालिम लिने नेपालमा धेरै छन् ।

यसपटक करिब ७५ जनाजतिको आवेदन परेको थियो । धेरै जना आकांक्षी देखिएपछि गोलाप्रथा गर्दा म छनोट भएछु ।

कसैले तपाईंलाई खुसी पार्न सम्पर्क अधिकृत तोकेको हो भनेर आशंका गर्न त पाइयो नि ?
पहिलो कुरा त यो सरकारले नियुक्त गरेकै होइन । कार्यक्रम पर्यटन मन्त्रालयअन्तर्गतको हो । तर सम्पर्क अधिकृत छान्ने काम सगरमाथा आहरोण संघको हो । यो कुनै सरकारी निकाय होइन । यसमा सोर्स फोर्सको कुरै छैन ।

गोलाप्रथाका आधारमा निर्णय भएको हो । मेरो नाम सम्पर्क अधिकृतमा छनोट भएको एक महिनाअघि नै हो । त्यतिखेर म दिवंगत दिदी ज्ञानुको उपचारका सिलसिलामा दिल्लीमा थिएँ ।

मैले दिदी बिरामी हुनुहुन्छ, छनौट भए पनि जान्न भनेको थिएँ । म नजान खोजेको थिएँ तर मिल्दो रहेनछ । त्यसो गर्दा पनि विवाद आउँदो रहेछ ।  फुर्सद पनि छ, ठीकै छ नि त भनेर अनुभवका लागि जान लागेको हुँ ।

पैसा पनि आउने रहेछ नि त त्यसरी जाँदा है ?
सम्पर्क अधिकृत भएर गएबापत सरकारलाई नौ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ । त्यो मैले तिरिसकेको छु । दुई महिनाजतिको करिब २५ सयदेखि ३ हजार डलरसम्म आउँछ । त्यसमा आफ्नो खर्च पनि हुन्छ ।

तर मानिसहरुले मलाई गाली गर्न भनेजस्तो त्यो कुनै सरकारी पैसा होइन । सम्पर्क अधिकृतहरुको खर्च विभिन्न प्राइभेट एजेन्सीले बेहोर्ने हो । सरकारले तोकेको रेटमा प्राइभेट एजेन्सीले दिने हो ।

त्यस कारण यसमा विवाद गर्नुपर्ने कुरै छैन । मेरो विरोधमा उत्रने मित्रहरुप्रति मेरो कुनै गुनासो छैन । तर मेरो आग्रह के छ भने कसैका बारेमा टिप्पणी गर्नु पहिले राम्ररी कुरा बुझ्नुपर्छ । कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने काम नगरौं । कान छाम्ने काम गरौं ।

सम्पर्क अधिकृत भएर गएपछि के गर्नुपर्छ ?
सम्पर्क अधिकृतको काम एक प्रकारको सुपरीवेक्षक जस्तै हो । अप्रिलदेखि मे/जुनसम्म सगरमाथा आरोहणका क्रममा नेपाली र विदेशी गएका हुन्छन् । उनीहरुको स्वाथ्यमा समस्या आयो भने अथवा दुर्घटना वा मृत्यु भएको खण्डमा पर्यटन मन्त्रालयलाई जानकारी गराउने काम सम्पर्क अधिकृतको हुन्छ ।

आरोहीहरुका कारण सगरमाथामा फोहोरको थुप्रो लागेको छ । त्यसले सगरमाथाको पर्यावरणमा नकारात्मक असर पारिरहेको छ ।

यो वर्षदेखि प्रत्येक आरोहीले सगरमाथा आरोहणका क्रममा थुप्रिएको आठ किलोग्राम फोहोर आधार शिविरमा ल्याउनैपर्ने व्यवस्था गरिएको छ । आरोहीले सोको पालना गर्छन कि गर्दैनन् भन्ने कुराको निरीक्षण पनि हामीले गर्ने हो ।

तपाईं सगरमाथा कहिले जाने ?
पर्यटन बोर्डका एकजना अधिकृतले मलाई फोन गरेर तपाईंको पारिवारमा घटना भएका कारण केही दिन ढिला गराइदिन्छु भन्नुभएको छ । अप्रिल देस्रो साता गएर अन्तिममा फर्कन्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us