
काठमाण्डु, १७ चैत – नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरा बढी पाइने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिन्छ ।
पछिल्लो समयमा रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गएका भए पनि सरकारको उचित लगानी र जनचेतनाको अभावमा काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।
कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४ जिल्लामा रेन्बो ट्राउटपालनका लागि सम्भाव्यतासमेत अध्ययन गरेको थियो । ती जिल्लाहरूमा ‘एक गाउँ एक उत्पादन’का रुपमा सो माछापालनलाई अगाडि बढाउने सोच बनाएको छ ।
कृषि अनुसन्धान परिषद् (नार्क)ले त मिसन रेन्बो ट्राउट अभियान नै सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ, तर सोचेजति कृषकहरूकामाझमा रेन्बो ट्राउटका बारेमा जनचेतना भने पुग्न सकेको छैन । भौगोलिक रुपमा अत्यन्तै ठूलो सम्भावना रहेपनि कृषकहरूमा उचित जनचेतनाको अभावमा सोचेजति प्रतिफल भने पाउन सकिएको छैन ।
पछिल्ला दिनमा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौँ, ललितपुर, बाग्लुङ, रसुवा, धादिङ, मकवानपुर, गोरखा, कास्की, मनाङ, मुस्ताङलगायतका जिल्लाहरूमा व्यावसायिक रुपमा रेन्बो ट्राउटपालनलाई अगाडि बढाइएको छ ।
लामो समयदेखि नुवाकोटको ओखरपौवामा रेन्बो ट्राउटपालन गर्दै आउनुभएका किसान पदमबहादुर लामाका अनुसार यस खालको माछाबाट मनग्य आम्दानी हुने भए पनि सरकारी निकायबाट उचित सहयोग भने पाउन सकिएको छैन ।
ट्राउट एसोसिएसन अफ नेपालका उपाध्यक्ष महेन्द्र घोरासैनीका अनसार आर्थिक वर्ष २०६९÷७० मा देशभरबाट ३०० टन माछा उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा करिब पाँचसय टन माछा उत्पादन हुने अवस्था छ ।
सरकारले अनुदान बढाउने र खेर गइरहेको पाखा पखेरालाई माछाको विकासमा लगाउने हो भने प्रतिवर्ष तीस हजार टनभन्दा बढी रेन्बो ट्राउट उत्पादन गर्न सकिने उपाध्यक्ष घोरासैनीको भनाइ छ तर दक्ष प्राविधिक र जनचेतनाको अभावका कारण सोचेजति उत्पादन भने हुन सकेको छैन ।
चिसो पानीमा मात्रै उत्पादन हने भएकाले पहाडी तथा हिमाली क्षेत्रका अधिकांश जिल्लामा सो प्रजातिका माछा पाल्न सकिन्छ । उचित उत्पादन गर्न सकियो भने खाडी र दक्षिण पूर्वी एसिया, मध्य पूर्वलगायतका मुलुकमा रेन्बो ट्राउटको व्यापार गर्न सकिन्छ । तातो पानीमा उत्पादन भएका भन्दा चिसो पानीमा उत्पादन भएको माछा बढी स्वस्थ्यकर मानिन्छ । मुटु रोग लागेका बिरामीहरूका लागिसमेत रेन्बो ट्राउट प्रभावकारी मानिन्छ ।
कृषकहरूको आफ्नै पहलमा हाल १९ लाख भुरा उत्पादन गरिएको छ । नुवाकोट र कास्कीमा व्यावसायिक रुपमा रेन्बो ट्राउटको भुरा उत्पादन गर्ने गरिएको रेन्बो ट्राउट एसोसिएसनको भनाइ छ ।
रेन्बो ट्राउटलाई फर्गस, इमेरिया, थ्रिनडट, कलेजो सुनिन्ने , पहेलेलगायतका रोगहरू लाग्ने गर्दछ । सो रोग निदानका लागि दक्ष जनशक्तिको अभावका कारण कुखुरा, गाईभँैसी र बाख्रालाई खुवाउने औषधि मात्रै प्रयोग गर्ने गरिएको छ ।
विदेशमा बन्ने माछाको औषधि फाइदा नहुने भन्दै भेटनरी व्यवसायीहरूले ल्याउन नचाहेका कारण पशुको औषधिको मात्रा मिलाएर खुवाउनु परेको मत्स्य अनुसन्धान महाशाखा त्रिशूलीका मत्स्य विशेषज्ञ राजमान मुल्मी बताउनु हुन्छ ।
कृषि अनुसन्धान परिषद् (नार्क)का निर्देशक टेकबहादुर गुरुङका अनुसार प्रभावकारी रुपमा सरकारले आर्थिक सहयोग उपलब्ध गराउने हो भने आगामी पाँच वर्षभित्र मुलुकलाई रेन्बो ट्राउटमा आत्मनिर्भर बनाउन सकिन्छ ।
तीन वर्ष पहिले प्रतिकिलो रु एक हजार ३०० सम्ममा बिक्री वितरण हुने गरेको सो माछा हाल अस्वस्थ प्रतिस्पर्धा र उत्पादन, वितरणमा भएको असमानताका कारण भाउ घटेर प्रतिकिलो आठ सयसम्म पाइने गरेको बताइन्छ ।
रेन्बो ट्राउट माछापालनका लागि चिरपाखो जग्गाको मूल्याङ्कन पर्याप्तमात्रामा हुन नसक्नु, माछाको बिमा, कृषकहरूले उचितमात्रामा धितो राख्न नसक्नु, धितो पर्याप्त हुन नसक्दा वित्तीय संस्थाले आवश्यकताअनुसार लगानी गर्न नसकेको अवस्था छ ।
नुवाकोटको ककनीबाट विस्तार भएको सो व्यवसाय हाल कृषकहरूकै पहलमा विस्तार भएको छ । हाल सो व्यवसायमा रु चार अर्बको हाराहारीमा लगानी भएको छ । प्रत्यक्ष रुपमा आठ हजार जनाले रोजगारीसमेत पाएका छन् । हिमालयन रेन्बो ट्राउटका सञ्चालक एवम् एसोसिएसनका महासचिव जयराम अर्यालका अनुसार जति माछा उत्पादन भए पनि बिकेको र किसानले वर्षमा तीन लाखदेखि रु १० लाखसम्म कमाइ गर्ने गरेका छन् ।
सो माछाको खपत, माछा पालिएकै स्थानदेखि काठमाण्डु पोखरा, जस्ता ठूला सहरका ठूला रेष्टुरेन्ट र होटलहरूमा हुने गरेको छ ।
नेपालका रेन्बो ट्राउटपालन सन् १९८९ बाट सुरु भएको हो ।त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलो पटक गरिएको थियो ।
निजी क्षेत्रबाट सन् १९९८ मा नुवाकोटको सिस्नेरीमा साधुराम बस्नेत, पूर्णबहादुर लामालगायतले परीक्षण उत्पादन गरेको र सो उत्पादन सफल भएपछि मुलुकभर नै यसको प्रचारप्रसार भएको हो । रासस