
वीरगन्ज–१७ चैत– पर्साको ग्रामीण क्षेत्रमा रहेका वनजङ्गलमा तीन दिनदेखि लागेको डढेलोको अझै नियन्त्रणमा आउन सकेको छैन ।
गर्मी र सुक्खा मौसमको सुरुवातसागै पर्सामा रहेका विभिन्न सामुदायिक वन र चितवन राष्ट्रिय निकुन्जको जङ्गलमा तीन दिनदेखि डढेलो लागेको र अझैसम्म नियन्त्रणमा नआएको ठोरीबाट स्थानीय शिक्षक प्रेम लामाले बताए ।
ठोरी र निर्मलबस्ती गाविसअन्तर्गत पर्ने सरस्वती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, शनिश्चरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, वनशक्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा डढेलो लागेको हो ।
तीन दिनदेखि जारी डंढेलोका कारण सयौँ हेक्टर वन क्षेत्रका रूख र बोटबिरुवा सखाप भएको छ । त्यस्तै डँढेलोका कारण बहुमूल्य जडीबुटी र ढलेपडेका काठहरु जलेर नष्ट भएको तथा वन्जयन्तुहरु पनि प्रभावित भएको र डढेलोको नियन्त्रणका लागि अहिलेसम्म सम्बन्धित कुनै पनि निकायले पहल नगरेको स्थानीयवासीले बताएका छन् ।
हावाहुरी चलेका कारण डढेलो निभाउन सम्भव नभएको वन समितिका पदाधिकारीले बताएका छन् ।
भारतीय जङ्गल क्षेत्रसँग जोडिएको शनिश्चरे सामुदायिक वनबाट सल्किएको डढेलो नजिकका अन्य जङ्गल क्षेत्रमा पनि फैलिएको वनशक्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अनन्त श्रेष्ठले बताए । रासस