
काठमाण्डु, १६ चैत – राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनाले आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको परम्परागत घोडेजात्रा कार्यक्रम अवलोकन गरेका छन् । राष्ट्रपति डा. यादव नेपाली सेनाका परमाधिपतिसमेत हुन् ।
समारोहमा राष्ट्रपति डा. यादवले म्युजिकल राइडर र शो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गरे । शो जम्पमा राजेन्द्रबहादुर बानियाँ र लालबहादुर कुँवर क्रमशः प्रथम र द्वितीय भए ।
त्यस्तै, म्युनिकज राइडरतर्फ रवि केसी प्रथम तथा मिलन थापा दोस्रो भए ।
समारोहमा घोडा दौड प्रतियोगिताका अतिरिक्त गु्रप टेन्ट पेडिङ, लायन्स हिट प्याक, लायन्स, पिक र क्रिज, ड्रिल राइड, मिक्सजम्प, पोलो, हर्स फिएट, चार्जर, शो जम्प र फायर जम्पसहितका विभिन्न खेल प्रस्तुत गरिएका थिए ।
घोडा दौड प्रतियोगिताका साथै कुकुरसँग सम्बन्धित खेल र अनुसन्धान तथा साइकल दौडसमेत प्रदर्शन गरिएका थिए ।
टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारेपनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ ।
सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ ।
सोही घटनाको सम्झनामा काठमाण्डु उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ ।
उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्मा र सभामुख सुवास नेम्वाङ समारोहमा उपस्थित भई घोडेजात्रा कार्यक्रमको अवलोकन गरे ।
समारोहमा उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा हेर्न सैनिकमञ्च टुँडिखेल पुगेका थिए ।
घोडेजात्रा हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । अपराह्न ३ बजेदेखि सुरु भई एक घण्टा चलेको सो समारोहको सैनिकमञ्चबाट विभिन्न टेलिभिजन र अन्य विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारणसमेत गरेका थिए ।
नेपाली सेना मातहत रहेको श्री नेपाल क्याभलरी युनिटले प्रत्येक वर्ष टुँडिखेलमा हुने घोडेजात्राको संयोजन गर्दै आएको छ । घोडेजात्रा समारोहमा प्रर्दशन गरिने घोडादौड तथा अश्वकलामा नेपाल क्याभलरीका घोडाको प्रयोग हुने गर्दछन् ।