तल्लो सोलु विद्युत आयोजनालाई उत्पादन अनुमति

काठमाण्डु टुडे २०७० चैत १५ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, १५ चैत – मुलुकमा लोडसेडिङ बढिरहेपनि सरकारले पछिल्लो दिनमा विद्युत् उत्पादन अनुमति दिने कामलाई तिव्र पारेको छ ।

यसैक्रममा यही चैत १३ गते सरकारले ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ ।

ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले आगामी चार वर्षभित्र पूर्ण रुपमा विद्युत् उत्पादन गर्ने गरी सो आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको हो ।

सो आयोजनाको प्रवद्र्धकको रुपमा एक्सेल क्लिन सोलु हाइड्रो रहेको विभागले जनाएको छ ।

आगामी एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्ने निर्देशनसहित उत्पादन अनुमति प्रदान गरिएको हो । कूल १६ अर्ब लागत रहेको सो आयोजना सोलु करिडोरको महत्वपूर्ण आयोजना हो ।

आयोजनाको प्रवद्र्धक एक्सेल क्लिन सोलु हाइड्रोले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको समेत काम सम्पन्न गरिसकेको छ ।

सो आयोजनाबाट उत्पादित विद्युत्लाई सोलुको लामनेडाँडामा रहेको सवस्टेसनमा जोड्ने तयारी गरिएको छ । सोलु करिडोरमा प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढिरहेको सम्बन्धमा सो आयोजनाबाट उत्पादित विद्युत्ले विद्युत्भार कटौतीलाई केही मात्रामा भएपनि हल गर्ने विश्वास लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us