सप्तरी, १४ चैत – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर–६ स्थित सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये छजना यात्रुको अवस्था गम्भीर छ । काठमाण्डुबाट काँकडभिट्टातर्फ जाँदै गएको ना.४ख ३७८८ नम्बरको यात्रुवाहक बसले सडकमै राकिराखेको ना.२ख ९६०९ नम्बरको मालवाहक ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार भारतको जलपाईगुरी निवासी २६ वर्षीया रश्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङको सप्तरीको नकटी रायपुरस्थित युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते भएका सातको लहानस्थित अस्पतालमा, सातको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तथा दुईजना युनिक अस्पतालमा उपचार भइरहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
दुर्घटनाग्रस्त बस र ट्रकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।