हेटौडा, १३ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहमति मै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु पर्ने बताएका छन् ।
राप्रपा नेपाल मकवानपुरद्वारा छतिवन गाविसको हात्तिसुडेमा विहीबार आयोजित भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
१६ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय तहमा विकास निर्माण पर्याप्त हुन नसकेकाले अब सबै दलको सहमतिमा निर्वाचनको मिति धोषणा गर्नुपर्ने बताए ।
प्रमुख तीनदलले मुलुकको नयाँ शक्ति राप्रपा नेपाललाई उपेक्षा गरेर मधेसवादी दललाई महत्व दिन खोज्नु षड्यन्त्र भएको उनको भनाइ छ ।
अध्यक्ष थापाले राष्ट्रको स्वाधिनता तथा संसदीय प्रजातन्त्रलाई जीवन्त राख्न सबै नेपालीबीच एकता आवश्यक रहेको चर्चा गर्दै राष्ट्रलाई जात र भातको आधारमा विभाजन गर्न नहुने बताए ।