सार्कको अठारौँ शिखर सम्मेलन १४ नोभेम्बरमा

काठमाण्डु टुडे २०७० चैत १३ गते १३:०९ मा प्रकाशित

Saarcकाठमाण्डु, १३ चैत – सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलन आगामी नोभेम्बर १४ मा गर्ने भएको छ ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको १८ औँ शिखर सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी गर्न सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन समेत दिएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालका अनुसार सम्मेलनको आवश्यक तयारी र व्यवस्थापनका लागि सरकार दृढरुपमा लाग्ने र आवश्यक तयारी गर्ने निर्णय गरेको हो ।

यस्तै जमैकासँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने निर्णय समेत आजको बैठकले गरेको छ । जापानको फुकुआमा अवैतनिक महावाणिज्यदूतावास स्थापना गर्ने र त्यसमा जापानी नागरिकलाई नै महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरिएको छ ।

सरकारले यातनाविरुद्धको अन्तर्राष्ट्रिय समितिका लागि नेपालको तर्फबाट सदस्य पदमा महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै, बेरुजु फछ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिको सुझाव तथा सिफारिसलाई बैठकबाट पारित गरिएको प्रवक्ता डा. रिजालले जानकारी दिए ।

यस्तै, स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्न लागेको एक अर्ब ३५ करोड र जापान सरकारले प्रदान गर्न लागेको रु एक अर्ब रकमको सम्बन्धमा वार्ता गर्न एक समिति बनाउन बैठकले अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

ब्रुनाई सरकारले सेनानी विजलकुमार राई र प्रमुख सेनानी नवराज गुरुङलाई प्रदान गर्न लागेको पदक लिन पनि स्वीकृति प्रदान गरिएको छ ।

अर्थ, उद्योग, परराष्ट्र, कृषि, रक्षा, वन तथा भू–संरक्षण, शिक्षा, विज्ञान, प्रविधि तथा वातावरण, सिँचाई, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका केही प्रथम श्रेणीका अधिकृतहरुको बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us