संसद सेवाका कर्मचारी आन्दोलनमा

काठमाण्डु टुडे २०७० चैत १३ गते १२:५४ मा प्रकाशित

Biccकाठमाण्डु, २३ चैत – संविधानसभाको बैठक सञ्चालनमा आएसँगै कामको तेहोरो जिम्मेवारी बोक्नुपरेको जनाउँदै संसद् सेवाका कर्मचारीहरु थप भत्ता र आर्थिक सेवा सुविधा वृद्धिको मागसहित आन्दोलनमा उत्रेका छन् ।

उनीहरु व्यवस्थापिका–संसद्को काम कारबाहीलाई प्रभावित नहुने गरी हातमा कालोपट्टि बाँधेर विरोधमा उत्रेका हुन् । हाल संसद् सेवामा २६५ जना कर्मचारी कार्यरत छन् । काममा जानुअघि सचिवालयको प्राङ्गणमा भेला भएर कर्मचारीले हातमा कालो पट्टि बाँधेर विरोध जनाएका थिए ।

संविधानसभा र व्यवस्थापिका–संसद्को कार्यसम्पादनमा सहयोगका लागि सचिवालयमा कार्यरत कर्मचारी २४ सै घण्टा कामका लागि तत्पर रहनुपर्ने र रातविरात, सार्वजनिक बिदा, चाडपर्व नभनेर खटिनुपर्ने बाध्यात्मक अवस्था भएकाले श्रम गरेअनुरुप सुविधा दिलाई पाउन विरोधमा उत्रनुपरेको कर्मचारीहरुको भनाइ छ ।

मुलुकमा लोकतन्त्र स्थापना हुनुअघि २०५ सदस्यीय प्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रियसभा गरी २६५ जना सदस्य रहेको संसद्लाई सेवा प्रवाह गर्ने त्यतिकै सङ्ख्याका संसद् सेवाका कर्मचारीले ६०१ सदस्यीय संविधानसभा र व्यवस्थापिका–संसद्को गरी दोहोरो तथा सचिवालयकोसमेत जिम्मेवारी सम्हाल्नुपरेको उनीहरुको तर्क छ ।

अन्य सरकारी निकायको भन्दा सचिवालयको काम विशिष्ट, चुनौतीपूर्ण र असीमित रहेको अवस्थालाई बुझेर कर्मचारीको कामलाई प्रोत्साहन गर्न तथा संसद् सेवालाई आकर्षक तुल्याउन जरुरी रहेको व्यवस्थापिका–संसद् सचिवालय कर्मचारी युनियनले जनाएको छ ।

संविधानसभाका अध्यक्षलाई ज्ञापन दिने, विरोधको प्रचारप्रसार गर्ने र प्राङ्गणको चौरमा राखेको उपस्थित पुस्तिकामा हस्ताक्षर गरी विरोध आन्दोलनमा ऐक्यबद्धता जनाउने र कालो पट्टि बाँधी काम गर्ने पहिलो चरणअन्तर्गतका विरोध कार्यक्रमहरु भोलिसम्मका लागि सार्वजनिक गरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us