चिनी मिलमा आगजनी

काठमाण्डु टुडे २०७० चैत १३ गते ९:१८ मा प्रकाशित

रौतहट, १३ चैत – श्रीराम सुगर मिल्स गरुडामा बुधबार राति अज्ञात बन्दुकधारी व्यक्तिले आगजनी गरेका छन् । चार/पाँच जनाको समूहमा बन्दुक बोकेका व्यक्तिले चिनी मिल्स परिसरमै रहेको आवास भवनमा आगजनी गरेका हुन् ।

आगजनीका कारण दुई जिप जलेका छन् । पार्किङ गरी राखिएको बा ५ च ३३७२ र ना२च ९१४६ नंका जिपमा आगो लगाएपछि सो समूहले भवनमा समेत आगो लगाएर क्षति पु¥याएको छ ।

भवनमा लागेको आगो भने चौकीदारले तुरुन्तै निभाएपछि ठूलो क्षति भने भएको छैन । ‘राति १२ बजेतिर पाँच व्यक्ति बन्दुक बोकेर आए र हामीलाई नियन्त्रणमा लिए’ चौकीदार विष्णु खड्काले बताए ।

मिल्सका प्रबन्धक अशोक सिंहले केही महिना अघिदेखि नै आफूलाई केही व्यक्तिले धम्की दिने गरेको र स्थानीय प्रशासनलाई लिखित जानकारी गराउँदा पनि प्रशासनले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

घटनामा संलग्न व्यक्तिको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक नन्दलाल साहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us